भर्खरै :

रामशेखर नकर्मीः पूँजीवादी व्यवस्थाले दुःख दिएका जनताको स्रष्टा

नेपाल भाषाका विख्यात साहित्यकार, हाँस्यव्यंग्य कलाकार एवं निर्देशक रामशेखर नकर्मीप्रति विभिन्न साहित्यिक तथा साँस्कृतिक संगठनहरुले श्रद्धा व्यक्त गरेका छन् । शनिबार नेपाल भाषा साहित्य तँःमुज्या, विविध भाषा साहित्य समाज, युवा साहित्य गोष्ठी, आस्था साँस्कृतिक परिवार, नेक्रासाँसंघ भक्तपुर, नाट्यकर्मी समाजको आयोजनामा रामशेखर नकर्मीको श्रद्धाञ्जली कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल भाषा साहित्य तँःमुज्याका अध्यक्ष चन्द्रबहादुर उलकले निम्न वर्गीय परिवारमा जन्मेका रामशेखर नकर्मी जीवनका अनेकन कठिनाई छिचोल्दै जनताको पक्षमा निरन्तर कलम चलाउनुभएको बताउनुभयो ।
उहाँले नकर्मीले आफ्नो जीवनमा आर्थिक रुपमा सम्पन्न हुनेतिर भन्दा पनि समाजको हितलाई प्राथमिकता दिएर कला साहित्य क्षेत्रमा लागेको बताउनुभयो ।
उलकले भन्नुभयो,‘जीवनमा अनेकन समस्याहरु छिचोल्नुपर्दा पनि रामशेखर कहिल्यै निराश हुनुभएन । उहाँबाट हामीले सिक्नुपर्ने कुरा जीवनमा जस्तै समस्या भए पनि निराश नबन्ने भावना हो ।’
नेपाल भाषा साहित्य तँःमुज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले रामशेखर नकर्मीका साहित्यिक कृतिहरु सिमात फः फः स्व (कथासंग्रह) र नसंचा फागु चा(उपन्यास)को साहित्यिक मुल्यबारे चर्चा गर्नुभयो ।

भक्तपुरमा भएको किसान आन्दोलनको प्रभाव नकर्मीका साहित्यहरुमा देखिएको उहाँको भनाई थियो ।
नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले पूँजीवादी बन्दोबस्तले कहिल्यै पनि जनताको लेखकहरुको जीवन सहज नबनाउने बताउनुभयो । उहाँले रामशेखर नकर्मी उच्च प्रतिभाका धनी भएर पनि सरल जीवनका धनी भएको बताउनुभयो । ‘उहाँले विख्यात प्रतिभाका धनी भएर पनि कहिल्यै नामको भोकमा पछि लाग्नुभएन ।’, गोसाईले भन्नुभयो ।
नाट्यकर्मी समाजका राजेन्द्र श्रेष्ठले रामशेखर नकर्मी आफ्नो गुरु भएको र केही वर्षअघिदेखि गुरु पूर्णिमाको दिन उहाँको सम्मान गर्ने गरेको सुनाउनुभयो ।
उहाँले २०७२ सालको भूकम्पपश्चात घर भत्केपछि रामशेखरको जीवन ज्यादै कष्टप्रद भएको सुनाउँदै तर जीवनको उत्तर्राद्धसम्म पनि उहाँले कला–साहित्यको योगदान गर्न नछोडेको बताउनुभयो ।
कार्यक्रममा विविध भाषा साहित्य समाजका सूर्यराम थाश्रेष्ठ र हरिसुन्दर पोतामाहाँलगायतले पनि रामशेखर नकर्मीको व्यक्तित्व र कृतित्वको विषयमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *