भर्खरै :

भारतले माफी माग्नुपर्छ- ओली

चितवन, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ ।
पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।”
खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताउनुभयो ।
सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उहाँले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उहाँले भन्नुभयो – “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्काे हुन्छ भन्न चाहन्छौँ ।”
उहाँले थप्नुभयो – “सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ ।” यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उहाँले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउँछौँ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *