भर्खरै :

लिटल वल्र्ड इङ्गलिस स्कूलको वार्षिकोत्सव

भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक विकासमा निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ स्थित लिटल वल्र्ड इङ्गलिस स्कूलको १८ औँ वार्षिकोत्सव कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर जिल्ला शिक्षा क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा अगाडि बढिरहेको धारणा व्यक्त गर्नुभयो ।
“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो दायित्व सम्झेर कलेज र जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दैै आएको छ । तर, सरकार शिक्षाको जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ । ” प्रमुख प्रजापतिले भन्नुभयो ।
देशको राजनीति राम्रो भए सबै क्षेत्र राम्रो हुने विचार राख्दै उहाँले विद्यार्थीलाई विद्यार्थीकालदेखि नै राजनीतिक शिक्षा दिनुपर्ने, देशको सार्वभौमिकता रक्षाको निम्ति लड्न, अन्यायविरूद्ध सङघर्ष गर्न र देशभक्तिको पाठ सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्कूलका प्रिन्सिपल रूपेन्द्र पोखरेलले घोकन्ते विद्यालाई निरूत्साहित गरी व्यवहारिक शिक्षाको पक्षमा रहेको बताउँदै विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदानमा विद्यालयले जोड दिएको बताउनुभयो ।
प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको निम्ति पढाइ सँगसँगै अनुशासन र अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मध्वज कार्की, ज्योति जंगमलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *