विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
रवीन्द्र न्हेम्हाफुकी
का. रोहित र हरिबहादुर श्रेष्ठ जुम्ल्याहा परिचय नै भइसकेका छन्– नारायणमान बिजुक्छेँको । करिब पाँच दसकदेखि नेपाली राजनीतिमा माक्र्सवादी, लेनिनवादी र माओ त्सेतुङ्ग विचारधारामा अविचलित नारायणमान बिजुक्छेँले जसरी राजनीतिक वृत्तमा पृथक र इमानदार नेताको छवि बनाएका छन्, साहित्यिक वृत्तमा पनि ओजपूर्ण कृतिमार्फत आफ्ना सीमित कार्यकर्ताहरूको साँघुरो घेरा तोडेर हरिबहादुर श्रेष्ठ नेपाली साहित्यानुरागीहरू सबैका साहित्यिक प्रेरणाको स्रोत बनिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर तहमा मात्र डिल्लीराज जोशीले साहित्यकार नारायणमान बिजुक्छेँ ‘रोहित’ को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (२०६४), रवीन्द्र न्हेन्हाफुकीले हरिबहादुर श्रेष्ठका कथाहरूको कृतिपरक अध्ययन (२०६६), हरिप्रसाद बास्तोलाले कथाकार हरिबहादुर श्रेष्ठको कथाकारिता (२०६७), जगतलक्ष्मी पहिजूले ‘हरिबहादुर श्रेष्ठको एकादेशको कथाको कृतिपरक अध्ययन (२०६९) गरिसकेका छन् जसमध्ये डिल्लीराज जोशी र हरिप्रसाद बास्तोलाका शोधपत्रहरू पुस्तकाकार कृतिका रूपमा प्रकाशित भइसकेका छन् । यसै क्रममा सुन्दर बासीको ‘नेपाली पत्रसाहित्यमा जेलका चिठीहरू’ (२०७४) शोधपत्र आज ‘पत्रसाहित्यमा रोहित’ शीर्षकमा प्रकाशित भई विमोचन हुँदैछ । शोधार्थी सुन्दर बासी र प्रकाशक नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घलाई हार्दिक बधाई !
रोहितको बहुआयामिक व्यक्तित्वबारे कथा विधालाई केन्द्रमा राखी सबैभन्दा बढी अध्ययन भएको छ । पत्रसाहित्यलाई केन्द्रमा राखी ‘नेपाली पत्रसाहित्यमा जेलका ‘चिठीहरू’ त्रिभुवन विश्वविद्यालयमा पत्रसाहित्यसम्बन्धी विधागत पहिलो शोध बन्नु आफैमा एउटा ऐतिहासिक उपलब्धि हो । रोहितका कवितासङ्ग्रह र नियात्रा कृतिहरूबारे नयाँ शोधार्थीहरूले सम्भावनाको खोजी गर्नसक्छन् ।
प्रस्तुत कृतिमा पत्रसाहित्यको सैद्धान्तिकस्वरूप खण्डमा पत्रसाहित्यको परिचय, तत्व, वर्गीकरण, महत्व र उपयोगिताबारे प्रकाश पारिएको छ । अर्को खण्डमा नेपाली पत्रसाहित्यको परम्परा शीर्षकमा पत्रसाहित्यको पृष्ठभूमि, विकासक्रम, प्रतिनिधिमूलक सङ्क्षिप्त अध्ययन गरिएको छ । मूल खण्डमा पत्रसाहित्यको रूपमा जेलका चिठीहरूको विस्तृत विश्लेषण गरिएको छ । वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ र साहित्यकार हरिबहादुर श्रेष्ठलाई पत्रसाहित्यकार रोहितका रूपमा चिनाउने प्रयत्न गरिएको छ । १. राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी २. साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई विदेशमा बसेका दाजुको चिठी ३. इन्जिनियर र वैज्ञानिक बन्न चाहने भाइबहिनीहरूलाई चिठी ४. मार्ग निर्देशनबारे भाइबहिनीहरूलाई चिठीको सङ्क्षिप्त चिनारी दिइएको यस खण्डमा रोहितका अन्य विधाका कृतिहरूमा पाइने पत्रसाहित्यिक वैशिष्ट्यलाई समेत उजागर गरिएको छ । जेलका चिठीहरूको पृष्ठभूमि, २०४५ सालमा राज्यस्तरबाट रचित षड्यन्त्र भक्तपुर काण्डका संस्मरणहरू, जेलका चिठीहरू प्रापक शोभा प्रधानको परिचय, जेलका चिठीहरूबारे अन्य समीक्षकका विश्लेषण र समीक्षाको नालीबेली लगाउँदै सुन्दर बासीले जेलका चिठीहरूमा सङ्ग्रहीत २१ वटा पत्रहरूलाई मिहीन रूपमा केलाएका छन् ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घले अघिल्ला प्रकाशनहरूमा भन्दा यस कृतिमा भाषिक शुद्धतामा बढी सजगता देखाएको छ । यद्यापि लेखक स्वयम् नाम सुन्दर (सायद बासी हुनुपर्ने), अपूर्ण पक्षका अधिकांश क्रियापदको पदयोग (पद–वियोग हुनुपर्ने), एउटै शब्द पनि कतै शुद्ध कतै अशुद्ध (उदाहरण सङ्गृहीत, सङ्ग्रहीत, सङ्ग्रहित) हुनु केही अस्वाभाविक लाग्छन् ।
स्नातकोत्तर तहको विद्यार्थीले निश्चित सीमा र परिधिभित्र रहेर तयार पारेको शोधपत्रको छिद्रान्वेषण (छिद्र अन्वेषण) सायद त्यति न्यायोचित नहोला । औपचारिक अध्ययनका क्रममा रहेका शोधार्थीलाई यो कृति भरपर्दो सन्दर्भ सामग्री बन्नसक्छ भने हरिबहादुर श्रेष्ठलाई नियाल्नेहरूका लागि फरक विधाको जानकारीमूलक विश्लेषणात्मक कृति हुनसक्छ । लेखक सुन्दर बासी र प्रकाशक नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घबाट आगामी दिनमा अझ स्तरीय कृतिको अपेक्षा गर्न सकिन्छ ।
Leave a Reply