भर्खरै :

हिमाल जोगाउने अभियान कहिलेबाट ?

–पासाङ तामाङ
नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमसृङ्खला आरोहण उनीहरूको रोजाइमा पर्छन् । औसत आरोही सगरमाथा नै रोज्छन् । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेराझैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । तर त्यसरी टल्किएका हिमालमा क्रमशः हिउँ घट्दै गएको र हिमाल नाङ्गो बन्दै गएको जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको प्रभावको कारणले हिउँ र हिमनदीहरू छिटो छिटो गतिमा पग्लिरहेका छन् । योसँगै हिमाल अरोहणका क्रममा मृत्यु भएका मानिसको मृत शरीर देखिने क्रम बढेको बताइएको छ ।
विश्वव्यापी तापक्रम वृद्धिले सगरमाथाको हिउँ र हिमनदी पग्लिने क्रम तीव्र भएको र यसले गर्दा विभिन्न समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दा ज्यान गुमाएका आरोहीहरूको मृत शरीर देखिने क्रम बढ्न थालेको छ ।
अध्ययनले सगरमाथा क्षेत्रका हिमनदीहरू पहिले सोचिएभन्दा छिटो गतिमा पग्लिँदै गएको देखाएको छ । हरेक वर्ष ५ मिटरको दरमा हिमरेखा खुम्चिदै गएको बताइएको छ । यो निकै गम्भीर विषय हो ।
हिमाल पग्लने यही क्रम जारी रहे केही दसकभित्र हिमाल चट्टानको भिरमात्र रहन जानेछ । हिमाल आरोहणको रोयल्टी लिने सरकारले हिमाल जोगाउने जिम्मेवारी पनि निभाउनैपर्छ । हिमाल जोगाउने अभियान कहिलेबाट थालनी हुन्छ ?
हिमालमा हिउँ घटदै जानुको मुख्य कारण विश्वव्यापी जलवायु परिवर्तन नै हो तर नेपालको स्थानीय वातावरणमा वन फँडानी र उष्णीकरण पनि अर्को कारण हो । तल्लो हिमाली भेगमा रहेका वनको फडानीले वर्षा र हिमपात घटाएको र हिउँ कम हुँदै गएको अनुभव हिमाली क्षेत्रका बुढापाकाको अनुभव छ । सरकारले जलवायु परिवर्तन ल्याउने वातावरण विनास रोक्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी भूमिका खेल्नुपर्छ । तल्लो हिमाली र पहाडी भेगमा वा संरक्षण र विस्तारका लागि पनि राष्ट्रिय कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *