भर्खरै :

पर्व सुधार बहस

–राकस्था
शनिबार भक्तपुरका बुद्धिजीवीहरूबीच नक्षत्र एवम् ज्योतिष विज्ञानबारे गम्भीर छलफल भयो । कार्यक्रममा सूर्यको गतिमा आधारित विक्रम संवत्मा एक महिना पछाडि सार्नु पर्ने तर्क गरियो । प्रत्येक ७२ वर्षमा १ दिन र प्रत्येक २१५० वर्षमा २४ दिन फरक पर्ने भएकोले नेपाली पात्रोहरूमा एक महिना घटाउने बेला आएको वक्ताहरूको भनाइ थियो । २६ हजार वर्षमा ३६५ दिन सर्ने उल्लेख गर्दै वक्ताहरुले सोहीअनुसार पर्व पनि सार्नुपर्ने तर्क गर्नुभयो ।
यतिबेला नेपाली पात्रोमा सुधार गर्न अभियन्ताहरू नेपाल सरकारलाई दबाब दिइरहेका छन् । नेपाली जनताले मनाउने गरेका चाडपर्वहरू गलत समयमा परिसकेको उनीहरूको तर्क हो । पर्व सुधार राष्ट्रिय कार्यदल (२०६३ वि.सं.) ले सिफारिस गरेको आधारमा नेपाल सरकारले २०६५ पुुुस १६ गते वि.स. २०६६ को सौर्य चैत महिनालाई हटाई सोको सट्टा वि.सं. २०६७ को वैशाख सुरु गर्ने र वि.सं. २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण महिना सरह गरी चान्द्र पर्वहरू एक महिना वर तान्ने निर्णय भएको थियो । नेपाल सरकारले निर्णय त ग¥यो तर लागू गर्न सरकारले कुनै तदारुकता देखाएन । सयांै वर्षअघि नै नेपाली परम्परामा पञ्चाङ्गमा सुधार गरिँदै आएको भएर पनि क–कसको दबाब वा स्वार्थमा सुधार गरिएन ? अभियन्ताको प्रश्न छ । भारतीय शासक वर्गको स्वार्थ हो वा ज्योतिषी काम गर्नेको व्यापार चौपट हुने डर ? उनीहरूको आशङ्का हो ।
२०७५ को पात्रोमा मंसिर पूर्णिमालाई छोटो दिन सम्बद्ध पूर्णिमा र जेठ पूर्णिमालाई लामो दिन सम्बद्ध पूर्णिमा भनी उल्लेख गरिएको छ तर नेपाली मान्यता पौष पूर्णिमा र असार पूर्णिमालाई क्रमशः छोटो दिन र लामो दिन सम्बद्ध पूर्णिमाको मान्यता छ । यदि अब पात्रोमा नमिलाइएको खण्डमा जाडो साउन–भदौमा र वर्षा पुस–माघमा पर्न जान्छ भन्ने विज्ञको भनाइ छ ।
शनिबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे्रंले ज्योतिष शास्त्रको गम्भीर र व्यवस्थित अध्ययन तथा अध्यापन हुनुपर्ने विचार राख्नुभयो । कार्यक्रममा पर्व सुधार राष्ट्रिय आयोगका सदस्य हरिनारायण मल्लले संस्कृतिको वैज्ञानिक अध्ययन हुनुपर्ने बिचार राख्नुभयो । नेपाली संस्कृतिमा भइरहेको दिशाविहीनताको अन्त्य आवश्यक भएको उहाँको भनाइ थियो । कार्यक्रममा आयोग सदस्य चुडामणी शर्माले सांस्कृतिक गतिविधि सही समयमा सञ्चालन हुनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *