भर्खरै :

शारीरिक स्फूर्तिका लागि भक्तपुरका खुला व्यायामशाला

प्रबिता श्रेष्ठ
सप्तलक्ष्मी लवजू बिहान ४ बजे उठ्छिन् । कमलपोखरीमा एक राउन्ड मर्निङ वाक गर्छिन् । त्यसपछि उनी सिधैं पोखरी नजिकैको गणेश मन्दिरको भजनमण्डलीमा सामेल हुन्छिन् । अनि उनी लाग्छिन् जिमखानातिर । आधा घण्टा जिम खानामा ज्यान तन्काउँदा उनलाई बेग्लै आनन्द आउँछ । बिहानको यो दैनिकीले सप्तलक्ष्मीलाई दिनभर ऊर्जा दिन्छ । जिमखानामा भेटिएकी सप्तलक्ष्मी भन्छिन्, “बिहानको यो दैनिकीले म दिनभर फ्रेस रहन्छु ।”
सुरुसुरुमा लाज लाग्थ्यो, बच्चा, तन्नेरीदेखि वृद्धवृद्धा सबै देख्दा । हामी गृहिणीका लागि होइन कि भन्ने लाग्थ्यो नानीमैयालाई । बिस्तारै बानी पर्दै गयो, स्वास्थ्यका लागि पनि राम्रो भएको कारण आफ्नो स्वास्थ्यको लागि पनि केही समय व्यतित गर्छिन्, सप्तलक्ष्मी ।
भक्तपुर नगरपालिकाका वडा–वडामा यतिबेला भिन्नै रौनक देखिन थालेको छ । यहाँका मानिसको व्यस्त दैनिकीमा पनि केही परिवर्तन आएको छ । भक्तपुर १० की कमलविनायक निवासी नानीमैयाको मात्र नभई कमलविनायकका अन्य स्थानीयको बिहानी दैनिकी यस्तै रहेको छ । नजिकै रहेको कमलपोखरी वरिपरि ‘मनिर्ङ वाक’ गर्ने, नजिकै रहेको गणेश मन्दिरको भजन अनि जिमखानामा प्रायःको पाइला मोडिन्छ ।
उमेरले ६०–६५ कटेका कृष्ण श्रेष्ठ लौरो टेक्दै आउँछन्, जिमखानाका विभिन्न खेलका उपकरणमा खेल्छन् । खुट्टाको समस्या रहेका कृष्ण श्रेष्ठको सानातिनो व्यायामले गर्दा केही राहत मिलेको बताए ।
बच्चाका लागि खेल्ने ठाउँ बनाएको जस्तो लागेको थियो । “तर, हामीजस्ता वृद्धवृद्धाका लागि पनि उपयोगी छ”, कृष्ण श्रेष्ठले भने । नजिकै रहेको ग्लोबल लाइफ स्कूलबाट परीक्षा दिएर आएका केही स्कूले बच्चा पनि परीक्षा सकाएपछि त्यही खेल्दै थिए । त्यही विद्यार्थीमध्येका एक विनुज शाक्य घरमै मोबाइलमा गेम खेलेर बस्ने बानी । उनका बुबाआमा विनुजको बानीले आजित भएका थिए ।
उनले भने, “यहाँ भए पनि आमाबुबाले पनि खेल्न जाऔं भन्नुभयो । अहिले त बानी लाग्न थाल्यो ।” मोबाइल गेमबाट केही समय पनि छुट्कारा पाउने अनुभव विनुज आफैँलाई भएको सुनाए ।
बिहानीको समयमा व्यायाम गर्ने स्थल भने पनि दिउँसोको समयमा भने कलेज तथा नजिकै स्कूलका बच्चा अलमलिने, खेल्ने ठाउँ भएको छ, यी निःशुल्क जिमखाना । पूर्वखेलाडीसमेत रहेका स्थानीय राजेन्द्रमान श्रेष्ठका अनुसार बढ्दो सहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव सिर्जना भएको छ । नगरपालिकाले दिएको यस व्यवस्थाले केही भए पनि राहत दिएको उनले बताए । एकपटकमा १७ जना खेल्न सक्ने उनले बताए । व्यायामका सामान ‘रिक्स फ्री’ भएको दाबी राजेन्द्रमान श्रेष्ठको छ । तर, खेल्ने क्रममा संयमता अपनाउनुपर्ने उनको भनाइ छ ।
खेलको रूपमा ससाना बच्चादेखि हाडजोर्नीका बिरामीका लागि पनि उपयुक्त छ । सामाजिक घुलमेल र भेटघाट अर्को पाटो बनेको छ । बिहान केही नगर्नेहरू पनि गएर जिउ तन्काउन सक्छन् । सानै कदम भए पनि यसले दैनिक जीवनमा भने ठूलो परिर्वतन ल्याएको छ । जिमखानामा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने र सामान्य खेलकुदका उपकरण छन् । पहिले ल्याएका उपकरणहरूमा थप एक ‘रनिङ्ग मेसिन’ पनि थपिने भएको छ । भक्तपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क रूपमा जिमखाना स्थापना गरिदिएपछि नानीमैया, कृष्ण श्रेष्ठ र विनुज शाक्यजस्तै भक्तपुरका नगरवासीहरूको दैनिकीमा केही परिवर्तन भएको छ ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै यस निःशुल्क शारीरिक व्यायाम स्थलहरू सञ्चालन गरिएको हो । हाल नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो क्रममा रहेको छ । शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि यस प्रकारको निःशुल्क जिमखाना सञ्चालनमा ल्याएको मेयर प्रजापतिले प्रस्ट्याए । मेयर प्रजापतिका अनुसार सुरुमा जडान गर्नका लागि रु. १ लाख ८४ हजार खर्च भएको थियो ।
हालसम्म ५ वटा वडामा निःशुल्क जिमखाना सञ्चालन भएको छ । यस्तै अन्य ५ वटा वडाका लागि सामग्री आइसकेको छन् ।
स्वास्थ्यको क्षेत्रमा केही नवीन कार्य गर्नका लागि भक्तपुर नगरपालिकामा छलफल पनि चलिरहेको छ । निःशुल्क व्यायाम स्थानको व्यवस्थापछि व्यायामका उपकरण खोज्नु आवश्यक थियो । सामान्य व्यायामका उपकरणहरूको केही सेट नगरपालिकालाई व्यवस्था गरिदिन अनुरोध भयो । बन्दरगाह हँुदै आउनुपर्ने ती उपकरणहरूका लागि ४३ दिनको समय लाग्ने थियो । तर, सामान ३० दिनमै आयो । ‘हामीले औपचारिक कार्यक्रम गरी व्यायामका उपकरणहरू वडा अध्यक्षहरूलाई हस्तान्तरण ग¥र्यौँ, मेयर प्रजापतिले बताए ।
अहिले भक्तपुर नगरपालिकाका वडा–वडामा पाइने यी निःशुल्क व्यायामका स्थानहरूले नगरवासीमा व्यायामका लागि चेतना र खुसी छाएको छ । दैनिक आउने नकारात्मक समाचारहरूबाट केही भिन्न भई भक्तपुर नगरपालिकाको यो कदमले भक्तपुर नगरवासी सकारात्मक देखिएका छन् ।
तस्वीर ः सरोज लवजू
स्रोत ः नेपाल समय अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *