भर्खरै :

भ्रष्टाचारविरोधी अभियान कहिलेदेखि ?

–गोपाल नगरकोटी
शोषणरहित समाज स्थापना नभएसम्म द्वन्द्व चलिरहन्छ । सबै नेपालीको नाना, छाना र दानाको जोहो नभएसम्म सङ्घर्ष रोकिँदैन । कुनै सडक विस्तार तथा स्तरोन्नतिको उद्घाटन गर्दैमा विकासको महाअभियान सुरु भएको ठान्नु र सरकारद्वारा प्रतिबन्धित भनिएको दलका केही नेता तथा कार्यकर्ता पक्राउ भएको आधारमा अशान्तिको युग अन्त्य भएको भन्नु कुनै नेताको बहादुर होइन । आज–भोलि प्रधानमन्त्री केपी ओली कुनै एउटा कार्यालय या कार्यक्रमको उद्घाटन गर्दै कहिले नयाँ अभियान थालेको त कहिले नयाँ युगको सुरुआत भएको फुक्दैछन् । हरेक दिनजसो कार्यक्रममा प्रम ओलीले देशमा कतिवटा युगको अन्त्य र सुरुआत भएको सूची दर्ज गर्ने हुन् ?
प्रम ओलीले पानी जहाज चलाउने कार्यालयको उद्घाटन गरे । उनले पानीजहाजको युग सुरु भएको फुके । नेपालमा सुरुङ मार्गको उद्घाटन भएपछि सोही दिनदेखि सुरुङ युगको थालनी भएको फुक्न के बेर ¤ प्रम ओलीले दुईतीन जना स्थानीय जनताका छोरा छोरीलाई एउटा कार्यक्रममा विद्यालयमा के भर्ना गरेका थिए देशमा भर्ना अभियान सुरु भएको फुके । अब बाँकी चार वर्षभित्र कुन युग र अभियान सुरु हुने बताउने हुन् ? सत्तासीन दलका नेता र मन्त्रीहरूले फुकेका त्यस्तै अभियान र नयाँ युगको कुरा सुनेर जनता अघाएर बस्नुपर्ने स्थिति छ ।
भ्रष्टाचारविरोधी अभियान सञ्चालन नभएरै, भ्रष्टाचारीमाथि कडा कारबाही नभएरै आज देशमा व्यापक भ्रष्टाचार भइरहेको हो । उच्च पदस्थ व्यक्तिहरू आर्थिक अनुशासनमा नबस्दा र पदको सही उपयोग नगर्दा आर्थिक चुहावट र अनियमितता भइरहेको हो । अभियान र नयाँ युगको सुरुआत देख्ने सरकारले नेपाली सीमा बचाउने अभियान कहिलेदेखि थाल्ने हो ? विदेशिएका युवाहरूको सङ्ख्या न्यून गर्न सरकारले स्वदेशमै उद्योग कलकारखाना खोलेर रोजगारको अवसर दिने अभियान कहिलेदेखि सञ्चालन गर्ने हो ? भारतनिर्भर देशलाई आत्मनिर्भर बनाउने अभियान कहिलेदेखि थालनी गर्ने हो ? नेपाली जनताले देशमा कहिलेदेखि विधिको शासन र सुशासन हेर्न पाउने हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *