भर्खरै :

किसान समस्याबारे प्रमलाई ज्ञापन

भक्तपुर, १५ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले आइतबार जिल्लाका किसानहरूका विभिन्न समस्याबारे प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो ।
भूकम्प पीडितहरूलाई एकमुष्ट रू. १० लाख अनुदान दिनुपर्ने, वैशाख १ गते आएको असिनापानीले भक्तपुरको सुडाल, ताथली, चित्तपोल र वागेश्वरीका जनताहरूको बाली नष्ट भएको हुँदा सरकारले उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका मागहरू राखी ज्ञापन पत्र बुझाइएको हो ।
उक्त ज्ञापन पत्र बुझाउने क्रममा नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले आर्थिक स्रोत नभएकै कारण अझै आधा भूकम्पपीडितले घर बनाउन नसकेको बताउनुभयो ।
सहुलियत व्याजको घर निर्माण पुनःकर्जा देशभरिका करिब १३०० जनाले मात्र पाएको र साथै भूकम्पपछिको चार वर्षमा डण्डी, सिमेन्ट, बालुवा, ज्यालालगायत निर्माण सामग्रीहरूको मूल्य आकाशिएको कारणले सरकारले भूकम्प पीडितहरूलाई एकमुष्ट रू. १० लाख अनुदान दिने व्यवस्था गर्नु आवश्यक भएको उहाँले औँल्याउनुभयो ।
आइतबार नै नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले मालपोत कार्यालय, भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालालाई भेटी किसानहरूले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गर्नुभयो । भेटघाटमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति र नगर समितिका सदस्यहरू सहभागी थिए ।
नेक्राकिसङ्घद्वारा प्रमलाई ज्ञापनपत्र पेश
भक्तपुर, १५ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले किसान समस्याबारे आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका बुँदाहरूः
भूकम्प पीडितलाई रु. १० लाख अनुदान दिनुपर्ने
१. राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वि.सं. २०७६ वैशाख ४ गतेसम्मको अभिलेखअनुसार देशभरि ८,२४,४२१ भूकम्पपीडित परिवारमध्ये ४,०३,७७६ परिवारले मात्र तेस्रो किस्ता अनुदान पाएका छन् । अझै ४,२०,६४५ परिवारले घर पुनःनिर्माण गर्न नसकेको अर्थात् तेस्रो किस्ताको अनुदान नपाएको देखिन्छ । आर्थिक स्रोत नभएकै कारण अझै आधा भूकम्पपीडितले घर बनाउन नसकेको हो । सहुलियत व्याजको घर निर्माण पुनःकर्जा देशभरिका करिब १३०० जनाले मात्र पाएको तथ्याड्ढ छ । भूकम्पको चार वर्षपछि महँगी आकाशियो । यसकारण हालसम्म घर पुनःनिर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई एकमुष्ट रु. १० लाख अनुदान दिने व्यवस्था गर्नु आवश्यक छ । सहुलियत व्याजको पुनःनिर्माण कर्जा पनि रोक्नुहुँदैन । यसलाई चालू राख्नु आवश्यक छ । काठमाडौँ उपत्यकाको घना बस्तीका भूकम्पपीडितहरुलाई धराप घर पन्छाउन नै दशौं लाख खर्च लाग्छ । पहिलो किस्ताको अनुदान रु. ५० हजारबाट भूकम्प पीडितले धराप पन्छाएर घरको जगसम्म उठाउनु सम्भव छैन ।
असिनापानी पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने
२. वि.सं २०७६ वैशाख १ गतेको असिनापानीको कारण भक्तपुर चाँगुनारायण नगरपालिकाको वडा नं. ७, ८ र ९ को ताथली, सुडाल, बागेश्वरी र सूर्यविनायक नगरपालिकाको चित्तपोलमा आलु, प्याज, लसुन, काउली, बन्डाकोबी, गहुँ, फलफूललगायत खेती डुबानमा परेको हँुदा पीडित किसानहरुलाई उचित क्षतिपूर्ति दिनु आवश्यक छ र डुबानमा परेको जग्गाको गिटी ढुङ्गा पन्छाउन र भत्किएको र बिग्रिएको मर्मत गरिदिने व्यवस्था हुनुपर्दछ ।
मोहीयानी हकबारे
३. कृषि उत्पादन बढाउने र अहिले भइरहेको खाद्यान्न आयात प्रतिष्ठापन गरी निर्यातसमेत गर्न भूमिसम्बन्धी ऐन, २०२१ संशोधन गरी जोत्नेलाई जमिन दिनुपर्दछ, जग्गाधनी र मोहीको पक्षपातपूर्ण हदबन्दी अन्त्य गरिनुपर्दछ । जग्गाधनीको हकजस्तै मोही हक पनि सबै अंशियारलाई अंशवण्डा लाग्ने, दानदातव्य र बेचबिखन गर्न पाउने व्यवस्था हुनुपर्दछ ।
४. मुक्तकमैया र हल्लीहरुलाई जोतिआएको जग्गाको मोहियानी हक दिलाउनुपर्दछ । उद्योग व्यापारको नाममा बाँझो राखिएको जग्गा विनामुआव्जा सरकारीकरण गर्नुपर्दछ ।
५. कृषि उत्पादन बढाउनको लागि गुठी ऐन, २०३३ संशोधित २०४१ अनुसार गुठी जग्गा रेकरमा परिणत गर्नु आवश्यक छ ।
६. कृषिमा विषादी प्रयोग निरुत्साहित गरी प्राङ्गारिक खेती प्रणालीको लागि किसानलाई पर्याप्त अनुदानको व्यवस्था हुनुपर्दछ ।
अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाबारे
७. काठमाडौँको दशरथ रङ्गशालासमेत मर्मत सम्भार नभएको अवस्थामा भक्तपुरमा जनताको विरोध हुँदाहुँदै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने सरकारी योजना देशको सन्तुलित विकासविपरीत छ । देशको सन्तुलित विकासको लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला प्रदेश नं. ३ को राजधानी मकवानपुर वा तराईको अन्य जिल्लामा बनाउनु उपयुक्त हुनेछ ।
८. कृषि उत्पादनमा समर्पित भएर राष्ट्रि«य अर्थतन्त्रमा जीवनभर योगदान गर्ने किसानको कदर गर्दै ५८ वर्षमाथिका किसानलाई पुग्दो निर्वाह भत्ता र आदर निकेतनको व्यवस्था गरिनुपर्दछ ।
९.स्थानीय मुर्दा गुठी, स्थानीय देवता, दाफा, भजनलगायतका निजी गुठीको जग्गा बाँडफाँट गर्दा मोहीको भागमा परेको जग्गामा गुठी जनाउनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *