ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, ३० वैशाख । एभिन्यूज टीभीका पत्रकार सुशील पाण्डेले आइतबार राति उपप्रधानमन्त्री उपेन्द्र यादवसँग लिएको अन्तर्वार्ताको क्रममा यादव स्टुडियो छोडेर गएको श्रव्यदृश्य सामाजिक सञ्जालमार्फत ‘भाइरल’ भयो । कतिले मन्त्री ‘पत्रकारको प्रश्न सामना गर्न नसकेर भागेको’ भन्ने आशयका टिप्पणी गरे । कतिपयले आइतबारको घटनालाई सन् २०१४ मा भारतका पत्रकार करण थापरसँगको अन्तर्वार्तामा हालका प्रधानमन्त्री (तत्कालीन गुजरातका मुख्यमन्त्री) नरेन्द्र मोदीले बीचमै कुराकानी रोकेको घटनासँग तुलना गरे । एभिन्युज टीभीका पत्रकार सुशील पाण्डेको ‘टक सो’ हेर्ने अधिकांश दर्शकले याद गरेको कुरा ‘विद्वता’ प्रदर्शन गर्ने पाण्डेको आतुरी हो । अन्तर्वार्ताको मुल ध्येय भनेको पाहुनाको विचार दर्शकसम्म सम्प्रेषण गर्नु हो । अन्तर्वार्ता दिने पाहुनाले भन्दा अन्तर्वार्ता लिने पत्रकारले बढी ‘विद्वता’ छाँट्न खोज्नु राम्रो अन्तर्वार्ताको विशेषता होइन । आफ्ना अधिकांश अन्तर्वार्तामा सुशील पाण्डे पाहुनालाई प्रश्न सोध्नेभन्दा प्रश्न थोपर्ने प्रयास गर्छन् । आफ्नो बुझाइलाई नै अन्तिम सत्यको रूपमा पाहुनालाई थोपर्ने प्रयासले उनका अधिकांश ‘टक सो’का पाहुना आफ्नो विचार मज्जाले राख्न पाउँदैनन् । बरू पाण्डेले बेलाबेला प्रयोग गर्ने हेयपूर्ण अभिव्यक्तिले अपमान महसुस गर्छन् ।
रोचक कुरा त के हो भने पाण्डेले यी सबै काम ‘जनता’ र ‘लोकतन्त्र’ को नाममा गर्छन् । नेपालका अर्का पत्रकार ऋषि धमला आफ्ना अन्तर्वार्तामा ‘जनता जान्न चाहन्छन्’ शब्दावली खुब प्रयोग गर्छन् । आफूले सोधेको प्रश्न पछाडि ‘जनता जान्न चाहन्छन्’ शब्दावली जोडेर उनी सबै जनताको प्रतिनिधित्व गर्न खोज्छन् । सुशील पाण्डे पनि जनताको नाममा आफ्ना प्रश्न सोध्छन्, मानौं आफूलाई ती प्रश्न सोध्न जनताले निर्वाचित गरेका हुन् । जनताले चुनेर नै ऋषि धमला र सुशील पाण्डेहरूलाई त्यो स्थानमा राखेको जस्तो गरी उनीहरू प्रश्न गर्ने गर्छन् ।
प्रश्न आइतबार उपेन्द्र यादवको सन्दर्भमा भएको घटनामा मात्र सीमित होइन । आइतबारको घटना एउटा उत्कर्षमात्र हो । प्रमुख प्रश्न पत्रकारले कुनै अनुशासन पालना गर्नुपर्छ वा पर्दैन भन्ने हो । पत्रकारिता एउटा मर्यादित र बौद्धिक पेशा हो । आफ्नो मर्यादाभित्र रहेर जनतासमक्ष वास्तविकता उजागर गर्नु पत्रकारको धर्म हो । तर, पत्रकारले आफूले जानेको वा थाहा पाएको तथ्य नै अन्तिम सत्यको रूपमा जिद्दी गर्नु वा आफूले बोलाएको पाहुनालाई अपमानबोध हुने शब्दको प्रयोग गर्नु सर्वथा गलत हो । त्यस्तो शैलीलाई पत्रकार आफैले आफ्नो ‘बौद्धिकता’ दाबी गर्नसक्छ । आफ्नो निर्भिकताको प्रदर्शनको रूपमा पनि त्यस्ता घटनालाई पेश गर्ने गरिन्छ । तर, सुशील पाण्डेको शैलीले ‘बौद्धिकता’ वा ‘निर्भिकता’ भन्दा पनि अपरिपक्वता बढी उजागर गरेको देखिन्छ ।
आइतबार पाण्डेले उपेन्द्र यादवलाई ‘जनता’ को प्रश्न भनी राजनीतिक दलको औचित्यमाथि जुन प्रश्न गरे, त्यो प्रश्न कोही पनि राजनीतिक दलको नेताले अपमानबोध गर्ने प्रश्न हो । पाण्डेको प्रश्नको आशय देशमा नेकपा र नेका दुई वटा पार्टीमात्र भए पुग्छ, अरू कुनै पनि दलको आवश्यकता नभएको भन्ने आशय बुझ्न सकिन्छ । ‘लोकतन्त्र’ मा प्रश्नमात्र सोध्न पाइने होइन, आफ्नो राजनीतिक विचारको आधारमा राजनीतिक दल पनि स्थापना गर्न पाइन्छ । संविधानले दिएको अधिकार प्रयोग गरी कसैले राजनीतिक दल खोल्छ भने कोही पत्रकारले त्यसको औचित्य खोजिरहनुको कुनै तुक छैन ।
पाण्डेले आफूले बोलाएको पाहुनालाई ‘तपार्इँ जान सक्नुहुन्छ’, ‘हिम्मत भए उत्तर दिनुहोस्’ जस्ता अभिव्यक्तिले पत्रकारिताको अपमान भएको छ । पत्रकारिता लोकतान्त्रिक व्यवस्था भएको राज्यको चौथो अङ्ग हो । शासकले गर्ने कमी–कमजोरी र गल्ती उजागर गर्ने सबभन्दा बलियो दबु भनेको सञ्चारमाध्यम नै हुन् । सञ्चारमाध्यम नभएको राज्यले शासकलाई उत्तरदायी बनाउँदैन । जनताका मार्कातर्फ राज्यको ध्यान तान्ने काम नै सञ्चारजगतले गर्ने हो । यस्तो काम गर्दा सञ्चारमाध्यम र सञ्चारकर्मीले केही खतरा र जोखिम मोल्नुपर्ने हुन्छ । कतिबेला रुखो र ठाडो अभिव्यक्तिको सहारा पनि लिनुपर्ने हुन्छ । सञ्चार सम्प्रेषण गरेबापत पत्रकारले ज्यान गुमाएका संसारमा थुप्रै उदाहरण छन् । जेलनेलको सामना गरेका घटनाको त गन्ती गरी साध्य छैन । हालै मात्र म्यानमारका दुई जना पत्रकारहरूले रोहिन्गामाथि भएको ज्यादतीको समाचार सम्प्रेषण गरेबापत जेल सजाय भोगेर रिहा भए । यस्ता हजार जोखिम मोलेर पनि पत्रकारले सत्य तथ्य घाममा ल्याउने जिम्मेवारी पूरा गर्ने भएकाले नै पत्रकारिता पेशा मर्यादित पेशा मानिन्छ । तर, पत्रकारले आफ्ना मर्यादा भुल्दा पत्रकारिता पेशाकै बदनाम गरेका धेरै उदाहरण छन् ।
‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेजस्तै पत्रकारितामा आलाकाँचाहरूको भीडले धेरै ‘स्टन्ट जोर्नालिज्म’ गर्ने रहर गर्छन् । लोकप्रियता बटुल्ने यस्ता घटनाबाट ख्याति कमाउने चाहनाले सुशील पाण्डेजस्ता पत्रकारहरूलाई आइतबारको अन्तर्वार्तामा जस्तो मर्यादा मिच्न उक्साइरहेको हुन्छ ।
आइतबारको घटनामा उपेन्द्र यादव उठेर जानु बेठीक वा सुशील पाण्डेको तरिका बेठीक भन्ने दुईवटामात्र विकल्प भएको प्रश्न नै गलत छ । मुख्य प्रश्न ‘लोकतन्त्र’ र ‘जनता’ को नाम भजाउँदै पत्रकारले आफ्नो मर्यादा र अनुशासन भुल्न हुने वा नहुने भन्ने हो । पाण्डेले अरू धेरै टीभी शोमाजस्तै आइतबारको अन्तर्वार्तामा पनि आफ्नो पेशागत मर्यादाको अभद्र उल्लङ्घन गरेका छन् ।
Leave a Reply