भर्खरै :

“राजनीतिक परिवर्तन भयो, भूमि व्यवस्थापन भएन”

काठमाडाँै, ५ जेठ । देशका कूल पाँच प्रतिशत जमिनदार तथा धनाढ्य र भूमाफियाको कब्जामा रहेको जमीन सरकारको स्वामित्वमा ल्याई गरी खाने किसानलाई वितरण नगरेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्नेमा जोड दिइएको छ ।
नेपाल वैकल्पिक अध्ययन समाजले आइतबार ‘नेपालमा भूमिसुधारको सम्बन्ध र औचित्य’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको कुल जनसङ्ख्याको ५५.६ प्रतिशत महिला कृषि पेशा तथा १३.५ प्रतिशत महिला पूर्वाधार निर्माणमा सक्रिय रहे पनि उनीहरूसँग जग्गा जमिन नरहेकोले आर्थिकरूपमा निकै कमजोर भएको बताउनुभयो ।
नेपालका ८० प्रतिशत मानिस कृषि पेशामा संलग्न रहे पनि खाद्यान्नको आयात बढोत्तरी भएकाले कृषि क्षेत्रको सशक्तीकरण गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।
कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक विश्लेषक हरि रोक्काले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा तय गरे पनि कृषि क्षेत्रमा भूमिसुधार गरी आर्थिक रुपमा समृद्ध गरी समाजवादमा पुग्ने मूल मुद्दा ओझेलमा परेको बताउनुभयो ।
भूमिसुधारसम्बन्धी थुप्रै आयोग बनेका, वर्गसङ्घर्ष, भूमि व्यवस्थापन, जग्गाको हदबन्दी लगाई किसानलाई वितरण गर्ने कुरा ओझेलमा परेको भन्दै वक्ताहरूले अझै जग्गा गैर उब्जाउका रुपमा जमिनदारको हातमा रहेको उल्लेख गर्नुभयो ।
भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले भूमि व्यवस्थापनको असमानताका कारण धेरै जग्गा बाँझो रहेको उल्लेख गर्दै सरकारको तथ्याङ्कमा ३४२ संस्थाले हजारौँ रोपनी तथा लाखाँै कित्ता जग्गा भाडामा लिएको पाइएको बताउनुभयो ।
उहाँले विसं २०२१ देखि नेपालको भूमि व्यवस्थापनको गन्तव्य के हो भन्ने स्पष्ट नभएको उल्लेख गर्नुभयो । भूमि प्रशासनभित्र कमलरी, हरूवाचरुवाको समस्या जिउँदै रहेकोले ७० लाख मानिस विदेशमा कामका लागि बाहिरिएको उहाँको भनाइ थियो । चीन र भियतनाममा ३० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था रहेको र बेलारुसमा पनि जग्गाको उचित व्यवस्थापन रहेको जानकारी उहाँले दिनुभयो ।
नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालमा भूमिको स्वामित्वका विषयमा सुधार गरी काम गर्ने किसानको हातमा जग्गा पुगेमा मात्र देशमा कृषि उत्पादन बढ्ने बताउनुभयो । नेपालको भूमि कुनै एक सामन्तीको सम्पत्ति नभएको र यो प्राकृतिक देन भएकोले भूमिसम्बन्धी छुट्टै अध्ययन हुनुपर्ने औँल्याउँदै उहाँले भूमि वितरणसम्बन्धी अन्यायपूर्ण वितरण व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता हरिबोल गजुरेलले नेपालमा राजनीतिक परिवर्तन भए पनि सत्ताको स्वरुप र राज्यको स्वरुपमा कुनै परिवर्तन नभएकोले कृषिमा प्राथमिकता हुनुपर्ने बताउनुभयो । कार्यपत्र प्रस्तोता रोक्का तथा टिप्पणीकर्ता भूमि अधिकार मञ्चका अध्यक्ष सरस्वती सुब्बाले देशको आर्थिक समृद्धिका लागि भूमि व्यवस्थापनमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *