भर्खरै :

कर्मचारीको अभावः सेवाग्राही मर्कामा

–शेरिफ केसी
जीतपुर, ५ जेठ । कुनै बेला धेरै कर्मचारीको पहिलो रोजाइमा परेको मालपोत कार्यालय कपिलवस्तुमा यतिबेला कर्मचारीको अभाव देखिएको छ ।
कर्मचारी अभावका कारण समयमा काम हुन नसक्दा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्बोधन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषिमन्त्री चक्रपाणी खनालदेखि प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलाई चिन्तित बनाएको छ । यस विषयमा पटक–पटक कार्यालयले उहाँहरूको ध्यानाकर्षण गराउँदै आएको छ । तर पनि अहिलेसम्म कार्यालयमा दरबन्दीअनुसारको कर्मचारीको पदपूर्ति हुन सकेको छैन ।
चरम अभावको अवस्था
जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय कपिलवस्तुमा खरिदारदेखि उपसचिव सम्मका ३८ कर्मचारीको दरबन्दी छ । कार्यालय सहयोगीबाहेक अहिले कार्यालयमा १२ कर्मचारीमात्र छन् भने १० कार्यलय सहयोगी छन् । कर्मचारीको अभावका कारण एउटा कर्मचारीले २÷३ वटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको छ । मालपोत कार्यलयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्दा फाँट र मोठ फाँटमा कर्मचारी नहुँदा सेवाग्राहीले सबैभन्दा बढी समस्या भोग्दै आएका छन् ।
एक उपसचिव, एक अधिकृत, आठ नासु र ६ खरिदार, २ कम्प्युटर अपरेटर, एक चालक र एक लेखापालको दरबन्दी खाली रहेको छ । कार्यालयमा आवश्यक सङ्ख्यामा कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको मालपोत कार्यालयका अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।
कर्मचारी अभावको विषयमा सम्बन्धित मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा जानकारी गराउँदा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको उहाँले बताउनुभयो ।
अनलाइनले सेवाग्राही मर्कामा
जिल्ला मालपोत कार्यालय कपिलवस्तुमा अनलाइन सेवा लागू भएपछि सेवाग्राही झन् मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दाे नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाइन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् ।
अनलाइन प्रणालीमार्फत टोकनबाट सेवा प्रवाह गर्ने लक्ष्य लिए पनि त्यो प्रभावकारी हुन नसकेको अधिकृत पौडेलले बताउनुभयो । अनलाइन प्रणालीबाट काम गर्न सहज र छिटो हुने भनिए पनि सुरुमा यो प्रणाली असहज बनेको उहाँले बताउनुभयो । अहिले कम्प्युटरमार्फत ४ जनाले सेवा दिइरहेका छन् । एउटा सेवाग्राहीलाई डेढ÷दुई घण्टा समय लागिरहेको कार्यालयले जनाएको छ । कर्मचारीको कार्यक्षमता कमजोर हुँदा यस्तो समस्या आएको सेवाग्राहीको गुनासो छ । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घण्टौँ लाइनमा बसेर पनि काम नहुँदा सेवाग्राही समस्यामा पर्न बाध्य छन् ।
कार्यालयमा रहेका केही फाँटमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २÷३ ओटा कोठामा पालोअनुसार डुलेर कामसक्नुपर्ने बाध्यता छ । यसो गर्दा एउटा फाँटको काम सकेर अर्को फाँटमा पुग्ने सेवाग्राही अड्किएर बस्नुपर्ने हुन्छ । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “हामीले निकै मिहिनेत गरेर धेरैजसो सेवाग्राहीको काम त एकै दिनमा सकाएर पठाउने गरेका छौँ ।” बिहान ७ बजेबाट नै साँझसम्म बसेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि छिटो, छरितो र पारदर्शीरूपमा सार्वजनिक सेवा पाउने आशा सेवाग्राहीको छ तर कर्मचारी अभावका कारण उनीहरू झनै पीडा पाएको दुःखेसो सेवाग्राहीको छ ।
अर्घाखाँचीका सुन्दर थापा मालपोत कार्यालयमा धाउँदा हैरान भएपछि उहाँले जुनसुकै व्यवस्था आए पनि दुःख पाउने जनता नै रहेछन् भन्ने लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *