भर्खरै :

सिद्धान्तमा प्रतिबद्धता र व्यवहारमा प्रगतिशीलता

भक्तपुर, १२ चैत । ‘सिद्धान्तमा प्रतिबद्धता र व्यवहारमा प्रगतिशीलता नै नेमकिपाका नेता–कार्यकर्ताहरूको पहिचान हो । यसले नै पार्टीलाई जनतामाझ दिगो र लोकप्रिय बनाउनेछ ।’
उपर्युक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार नेक्राविसङ्घका पूर्व कार्यकर्ता भेलामा व्यक्त गर्नुभएको हो ।
नेपालको सरकारमा गएका राजनीतिक पार्टीहरू विदेशीहरूको सहयोगमा चलेको हुनाले देशको सार्वभौमिकता गुम्दै गएको र देशभक्तिको आन्दोलन कमजोर भएको औंल्याउँदै अध्यक्ष बिजुक्छेंले विदेशीको आड भरोसामा चल्ने राजनीतिक पार्टीले देश र जनताको हितमा काम गर्नसक्दैन भन्नुभयो ।
पालो–पहरामा बसेका सैनिक एकक्षण मात्र कर्तव्यच्यूत भए उसको व्यारेक र देश नै शत्रुको कब्जामा जाने सम्भावनाझैं जनताको कार्यकर्ताले सङ्घर्ष गर्न छोडेपछि राजनीतिमा जनविरोधीहरूको हालीमुहाली चल्ने उहाँले बताउनुभयो ।
रुसका बौमेडियन, क्यानाडाका नर्मन बेथुनजस्तै थुप्रै देशका कम्युनिष्ट नेता–कार्यकर्ताहरूले आफ्नो परिचय बदलेर पनि विभिन्न देशको क्रान्ति र कम्युनिष्ट आन्दोलन अगाडि बढाउन योगदान गरेको उल्लेख गर्दै उहाँले पार्टी कार्यकर्ताहरूले खुला र गुप्त दुवै ढंगले देश र जनताको हितमा र पार्टीको विकासको निम्ति काम गर्नुपर्ने औंल्याउनुभयो ।
उहाँले जनताका हरेक कार्यकर्ताले आफूले आफ्नो योग्यता र क्षमताअनुसार योगदान गर्न र सहयोग गर्न सकियो कि सकिएन भनी आत्मसमीक्षा गर्न जरुरी छ भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले पूँजीवादी व्यवस्थाको प्रभावको कारण समाजमा राजनीतिलाई देश र जनताको सेवा गर्नेभन्दा पैसा कमाउने माध्यमको रुपमा लिने सोच बढ्दै गएकोले वैचारिक सङ्घर्ष झन् तीखो पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नयाँ पुस्ता र पार्टी कार्यकर्ताका छोराछोरीहरूलाई पार्टी संगठनमा आबद्ध गराई सक्रिय पार्न प्रेरित गर्नुपर्ने औंल्याउँदै उहाँले पश्चिमा जीवन शैली नै प्रगतिशील नहुने स्पष्ट पार्नुभयो ।
उहाँले सच्चा कार्यकर्ताले सड्ढटमा सङ्घर्ष गर्ने र कमजोर र अवसरवादीहरूले साथ छोड्ने बताउँदै सिद्धान्तनिष्ठता र प्रतिवद्धता नै कार्यकर्ताको साँचो गहना हो भन्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवं नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले विद्यार्थी जीवनमा गरेको अध्ययन र आर्जन गरेको अनुभव सारा जीवनकै निम्ति मार्गदर्शक रहने चर्चा गर्दै नेक्राविसङ्घका पूर्व कार्यकर्ताहरू अहिले पार्टी र देशको विभिन्न महत्वपूर्ण क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेक्राविसङ्घले पार्टी कार्यकर्ता तयार गर्नमा उल्लेख्य भूमिका खेल्दै आएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापा श्रेष्ठले नामले कम्युनिष्ट र क्रान्तिकारी हुनुभन्दा व्यवहारले हुनुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले नेक्राविसङ्घको गौरवशाली इतिहासबाट सिकेर अहिलेको नेतृत्व र संगठन देश र विद्यार्थीको हितमा सशक्त वैचारिक शक्तिका साथ अघि बढिरहेको छ भन्नुभयो ।
भेलाबाट देशको समसामयिक घटनाहरूमा आधारित ५ बुँदे प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *