ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
अम्बिका धौभडेल
भारतको स्वाधीनता लामो सङ्घर्ष र असङ्ख्य देशभक्तहरूको जीवन बलिदानको परिणाम हो । जीवनका सबै सुखलाई तिलाञ्जली दिएर कठोर र कष्टमय जीवन बिताएर स्वतन्त्रताको बुलन्द आवाज उठाई पुलिसको निर्मम यातना सहेर पनि हाँसी हाँसी अगाडि बढिरहने नारीमा भीकाजी रुस्टम कामा (Bhikhaji Rustom Cama) को नाम उल्लेखनीय छ ।
बम्बईको एक सम्पन्न पारसी सोराबजीको परिवारमा भीकाजी कामाको जन्म २४ सेप्टेम्बर १८९१ मा भएको थियो । कामाको प्रारम्भिक शिक्षा इलेक्जोइया गल्र्स स्कूलमा भएको थियो । कामामा पश्चिमी शिक्षा र संस्कृतिको प्रभाव परोस् भन्ने चाहना उहाँको पिताको थियो ।
किशोरावस्थामा कामाको ध्यान राजनीतितिर आकर्षित भयो । सन् १८८५ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको स्थापनापछि प्रथम अधिवेशन हुँदा उहाँ २४ वर्षको मात्र हुनुहुन्थ्यो । नेताहरूको भाषण र अपिलबाट प्रभावित भई उहाँ पनि सक्रिय कार्यकर्ताको रूपमा अगाडि बढ्नुभयो । जात–पात, धर्म र सम्प्रदायलाई भुलेर उहाँले सबभन्दा पहिले महिलालाई अगाडि बढाउने प्रयास गर्नुभयो । निर्धन र अभावग्रस्त महिलाहरूको दुर्दशाप्रति सचेत, सजग गर्न र बेलायती उपनिवेशको अत्याचारविरुद्ध जनतालाई उठाउन कामा सक्रिय हुनुभयो । उहाँको क्रान्तिकारी विचार र ब्रिटिस साम्राज्यवादविरोधी गतिविधिबाट चिन्तित भएर उहाँको पिताले कामाको विवाह गराई दिनुभयो । विवाहपछि पनि उहाँको क्रान्तिकारी गतिविधिमा कुनै कमी आएन, झन् उल्टो राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो । परिवारले उहाँको गतिविधिलाई कुनै किसिमको रोकावट गरेन । उहाँले देश र जनताको लागि काम गर्दै जानुभयो । कठोर परिश्रम र मेहनतले गर्दा उहाँ ज्यादै बिरामी हुनुभयो । श्रीमती कामाको उपचारको लागि उहाँको पतिले इङ्गलैन्डमा पठाउनुभयो ।
स्वास्थ्य ठीक भएपछि भारत फर्कने दिनमा उहाँको भेट भारतका प्रसिद्ध क्रान्तिकारी श्यामजी बर्मासँग भयो । श्यामजीसँगको भेटघाटपछि उहाँ भारत फर्कने विचार छोडेर इङ्गलैन्डमै बसेर भारतीयहरूबीच काम गर्न थाल्नुभयो । भारतजस्तो उपनिवेश र पिछडिएको देशका एक महिला विदेशमा स्वतन्त्रताको पक्षमा खुलमखुला प्रचार गरी हिँडेकोमा भारतमा रहेको अङ्ग्रेज सरकार रिसले आगो भयो र श्रीमती कामालाई देश फर्कन दबाब दिनथाल्यो, नफर्केको खण्डमा कारबाही गर्ने धम्कीसमेत दियो । तर, उहाँ भारत फर्कनको लागि तयार हुनुभएन बरु आन्दोलनलाई व्यापकरूपमा अगाडि लान सक्रिय हुनुभयो ।
उहाँलाई कठोर कारबाही गर्ने छ सुइँको पाएपछि उहाँ इङ्गलैन्डबाट फ्रान्स जानुभयो र पेरिसलाई आफ्नो कार्यक्षेत्र बनाउनुभयो । पेरिसमा उहाँको घर क्रान्तिकारीहरूको लागि मुख्य आश्रम थियो । उहाँको घरमा फ्रान्स, भारत र रुसका सबै भूमिगत क्रान्तिकारीहरूको लागि बस्ने व्यवस्था हुन्थ्यो । ब्रिटिस सरकारले उहाँको गतिविधिबाट आतङ्कित भएर उहाँलाई भारत प्रवेशमा रोक लगायो । श्रीमती कामाले पेरिसमा ३५ वर्ष बिताउनुभयो । ब्रिटिस सरकारले फ्रान्स सरकारको मद्दतबाट उहाँलाई पक्राउ गर्न धेरै प्रयास ग¥यो तर असफल भयो । त्यसपछि उहाँले ‘बंदे मातरम्’ पत्रको प्रकाशन सुरु गर्नुभयो । गुप्तताको निम्ति त्यसको प्रकाशन जेनेभामा गरेको थियो । यस क्रान्तिकारी पत्रले नौ वर्षसम्म भारतीय स्वतन्त्रताको लागि विदेशबाट सहयोग गरिरहेको थियो ।
सन् १९०७ अगष्ट १८ मा जर्मनीमा विश्व समाजवादीहरूकोे एक सम्मेलन भएको थियो । जसमा एक हजार जनाभन्दा बढी प्रतिनिधिहरूले भाग लिएका थिए । त्यस सम्मेलनमा श्रीमती कामा पनि आमन्त्रित हुनुहुन्थ्यो । श्रीमती कामाले आफ्नो भाषणमा भन्नुभयो, भारत ब्रिटिस साम्राज्यवादको अधिनमा रहनु घोर अपमानजनक छ । सम्पूर्ण विश्वका स्वतन्त्रताप्रेमीहरू, विश्वको एकचौथात्न्दा बढी जनसङ्ख्या भएको यस दलित राष्ट्रको स्वाधीनताको लागि अवश्य सहयोग दिनुपर्छ ।
उक्त भाषणपछि उहाँलाई थुप्रै सहभागीहरूले बधाई दिए । त्यसबेला ज्यादै भावावेशमा आएर उहाँ आफ्नो साडीको टुक्रा च्यातेर भारतीय स्वतन्त्रता झण्डाको रूपमा गर्वले फरफराउँदै भन्नुभयो, “यही हो मेरोे राष्ट्रको पताका” पछि भारतको तीरङ्गा झण्डा उहाँको चिरस्मरणीय प्रतीक बन्यो ।
श्रीमती कामाको व्यक्तित्व र कार्यबाट प्रभावित भएर लेनिनले उहाँलाई रुसमा आउन निमन्त्रणा पठाउनुभएको थियो । तर, विभिन्न कारणले गर्दा उहाँ रुसमा जान सक्नुभएन ।
यसरी ३५ वर्षसम्म भारतबाट निष्कासित भएर पनि निरन्तर भारतको स्वतन्त्रता कार्यमा लाग्ने निर्भिक महिला वृद्धावस्थामा स्वदेश फर्कन इच्छा गर्नुभयो । नोभेम्बर १९३५ मा उहाँ स्वदेश फर्कनुभयो र १३ अगष्ट १९३६ मा उहाँको निधन भयो ।
उन्नाइसौं शताब्दीमा अङ्ग्रेजहरूको उपनिवेश विश्वभरिझैं फैलिएको थियो । यस्तो अवस्थामा घाम नडुब्ने ब्रिटिश साम्राज्यको अत्याचारले पराकाष्ठा नाघेको युगमा भारतका एक महिला भीकाजी कामाको साहसी कार्य सम्पूर्ण महिला एवम् पुरुषहरूको लागि प्ररेणाको स्रोत हो ।
स्रोतः पञ्चायत
(वर्ष ४, अङ्क २, २०४२)
Leave a Reply