भर्खरै :

प्रचण्डले फेरि उच्चारण गरे–समाजवाद र माक्र्सवादका कुरा

काठमाडौँ, १८ चैत । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओ त्से तुङको देश चीनमा गएर माक्र्सवाद र समाजवादको कुरा पुनर्ताजगी गरेर आएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा फेरि एक पल्ट उनले जनवाद, समाजवाद र माक्र्सवाद जस्ता शब्द उच्चारण गरेका छन् । सशस्त्र लडाईको समयले त्यस्ता जार्गनहरुको खानी नै भए तापनि शान्ति प्रक्रियामा आए पछि प्रचण्डले यस्ता शब्द उच्चारण गर्न छोडेका थिए । कुनै पार्टीले उच्चारण मात्र गर्दा पनि आफूलाई व्यंग्य जस्तो मान्ने गर्थे । त्यही भएर त दोस्रो संविधान सभाको निर्वाचनको क्रममा भक्तपुरमा भएको एक सभामा उनले ‘नेमकिपाको समाजवाद दुई सय वर्षपछि मात्र आउने’ भन्दै बोलेका थिए । शुक्रबार भएको कार्यक्रममा उनले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर अघि बढ्ने वस्तुगत परिस्थिति तयार पारिने बताएका छन् ।
चाइना रिफर्म फोरमको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताएको उनको सचिवालयले जनाएको छ ।
उनले अति उग्र र अति दक्षिणपन्थी सोंचबाट कम्युनिस्ट आन्दोलनलाई बचाएर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । माक्र्सवादीले अरु देशको नक्कल नभई आफ्नै देशको ठोस परिस्थितिको मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने बताउँदै अध्यक्ष दाहालले भने, “माक्र्सवादको अभ्यास गर्ने क्रममा केही मौलिक चिजको विकास हुने गर्दछ । हामी युद्ध र शान्ति प्रक्रियामा रहँदाका विभिन्न खाले अनुभव छन् ।”
भर्खर चीन भ्रमणबाट फर्केका प्रचण्डलाई चीनको विकासले ताजुब बनाएर हो कि चुनाव आउँदै गर्दा कम्युनिष्ट पार्टीप्रति सद्भाव भएका जनताका मत आफ्ना पल्लामा पार्न माक्र्सवाद र समाजवादको कुरा गरिरहेका छन् । तर प्रचण्डले आज माक्र्सवाद र समाजवाद जस्ता शब्दहरु उच्चारण गरेको पटक्कै नसुहाएको धेरै सर्वसाधारणको भनाई छ ।
भेटमा चाइना रिफर्म फोरमका सल्लाहकार समितिका अध्यक्ष लि जिङतानले पुँजीवाददेखि समाजवादमा प्रवेश गर्न आआफ्ना अनुभवबारे विचारविमर्श गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *