भर्खरै :

जीवन पाउँदै छन् काठमाडाँै उपत्यकाका पोखरीहरु

काठमाडाँै, ६ साउन । मृतप्रायः बनिसकेको भक्तपुरको भाजु पोखरी पुनःनिर्माणबाट प्राप्त अनुभव र कौशल काठमाडाँै उपत्यकाका अन्य पोखरीलाई जीवन दिन उपयोगी बन्दै छ । भक्तपुर नगरपालिकाले झन्डै इतिहास बनिसकेका भक्तपुरका रानीपोखरी र भाजु पोखरीलाई पुनःजीवनमात्र दिएको छैन, बरु पुनःनिर्माणको अनुभवले राजधानीको मुटुमा रहेको ऐतिहासिक रानीपोखरीलाई पनि जीवन्त बनाउन मद्दत पु¥याएको छ । लामो समयदेखि अन्योल र अलमलमा रहेको काठमाडाँैको रानीपोखरी पुनःनिर्माणलाई भक्तपुरले देखाएको बाटोले नै गति दियो । झन्डै आफ्नो मौलिकता गुमाएर पुनःनिर्माण हुन लागेको राजधानीस्थित रानीपोखरीको मौलिकता भक्तपुरका पौरखी र सिपालु हातले जोगाउन सफल भयो । व्यापारिक स्वार्थको हुलबाट रानीपोखरीलाई जोगाएर भक्तपुरका शिल्पी हातले विगतकै ऐतिहासिक रूप दिने काम भइरहेको छ ।
मल्लकालीन पोखरीहरू उपत्यकाको जनजीवनसँग अन्योन्यास्रितरूपमा गाँसिएका छन् । तिनका आफ्नै सांस्कृतिक, पर्यावरणीय र सामाजिक महत्व छ । तर, उपत्यकामा शाह वंशको हमला र समयान्तरमा बढ्दो जनसङ्ख्या वृद्धिसँगै सांस्कृतिक दमनकै शिलशिलामा ती पोखरीको महत्वलाई उपेक्षा गरियो । पोखरीसँग जोडिएको वास्तु, पर्यावरण, सामाजिक परम्परा क्रमशः क्षीण बन्दै गयो । कतिपय पोखरी मासिए । पोखरीको महत्व नबुझेर पनि तिनलाई अन्य प्रयोजनमा प्रयोग गरियो ।
तर, विगतमा अनुपयोगी र अनुत्पादक मानिएका पोखरीको महत्व भने दिनानुदिन पुष्टि हुँदै गएको छ । नगरको सौन्दर्यको लागि मात्र नभई मानव स्वास्थ्यको लागि समेत मानव बस्तीमा पोखरी हुनु उपयोगी भएको विज्ञानले उजागर गर्दै गयो । युरोपको इतिहासमा मध्यकालीन युगमा मासिएको सभ्यता पुनर्जागरणकालमा बोध गरी पुनःस्थापनाको लहर चलेजस्तै आज काठमाडाँै उपत्यकाका पोखरी, धारालगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माणको लहर चलेको छ ।
भक्तपुरको सिद्धपोखरी एक समय ‘कोमा’ अवस्थामा पुगिसकेको थियो । भक्तपुर नगरपालिकाकै अगुवाइमा सिद्धपोखरीले पुनःजीवन पायो । आज सिद्धपोखरी उपत्यकाकै सर्वश्री पोखरी बनेको छ । दैनिक हजारौँ पर्यटक सिद्धपोखरीको सौन्दर्य हेर्न भ्रमण गर्ने गर्छन् । आडैको भाजु पोखरीको नवउद्घाटित सौन्दर्यले पर्यटकलाई अझ मोहित बनाउने छ । भक्तपुर नगरभित्रका अन्य साना पोखरी स्थानीय जनताकै सक्रियतामा फेरि जवान बनेका छन् ।
काठमाडाँैको रानीपोखरी बन्दै गर्दा भक्तपुरको अनुभव र शिल्पले ललितपुर लगनखेलको न्हु पुखुले पनि जीवन पाउँदै छ । ललितपुर महानगरपालिका वडा नं ४ मा रहेको १६ औँ शताब्दीमा सिद्धिनरसिंह मल्लको पालामा बनेको पोखरी पनि झन्डै मरणासन्न अवस्थामा थियो । भक्तपुर नगरपालिकालाई स्थानीय जनप्रतिनिधि र जनताले गरेको आग्रहअनुसार आज त्यहाँ भक्तपुरका कालीगढहरू दैनिक गएर पोखरीको मौलिकता कायम राख्दै जीवन दिने अभियानमा लागेका छन् ।
अनुभवसिद्ध ज्ञान नै सर्वोत्तम ज्ञान हो । सभ्यताको उचाइमा रहेको मल्लकालीन काठमाडौँको ज्ञान अनुभवसिद्ध ज्ञान हो । अनुभवसिद्ध ज्ञान विज्ञानसम्मत हुन्छ । विज्ञान कहिल्यै पुरानो हुँदैन । हरेक युगको विज्ञान अर्को युगको समृद्ध विज्ञानको आधार बनेको हुन्छ । भक्तपुरसँग भएको पोखरी पुनःनिर्माणको शिल्प व्यवहारसिद्ध ज्ञान हो । यो ज्ञानले काठमाडाँै उपत्यकाका सुक्दै गएका पोखरीलाई पुनः भरिभराउ बनाउन ठूलो मद्दत गरिरहेको छ ।
विदेशीसँग हात फैलाउन जान्नुलाई नै आफ्नो शिल्प मान्ने कतिपय मानिसको निम्ति यस्तो मौलिक ज्ञानमा आधारित भएर देशका सम्पदाको संरक्षण गर्नु अस्वाभाविक र अझ कतिपयलाई टाउको दुखाइको विषय बनेको हुनसक्छ । तर, मृगले आफ्नो नाभीमै भएको कस्तुरीको सुगन्ध खोज्दै भौंतारिएजस्तो गल्ती नेपालीले गर्नु हुन्न । शासक वर्गको पराधीन सोचको लागि यो मौलिक शिल्पकर्म स्वयम्मा चुनौती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *