भर्खरै :

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

–पूर्णप्रसाद मिश्र
काठमाडौँ, ६ साउन । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।
सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दासमेत काम सुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदै छ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम सुरु हुन सकेको छैन । काम सुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।
गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताउनुभयो ।
सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम सुरु हुनसकेको छैन । काम सुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।
विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महिनामात्र बाँकी हुँदा काम भने सुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।
सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु. ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।
फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *