म भैल खः हुँ
- बैशाख ४, २०८३
राजन फाजू
भनिन्छ, सबैलाई खुसी पार्न भगवानले पनि सक्दैनन् । संसारमा सबैलाई खुसी पार्न खोजियो भने कुनै काम पूरा गर्न सकिँदैन । यस्तै भयो असारमा पानी पर्दा । असारमा पानी पर्दाको खुसी नहोला र ? तर खुसी नहुने पनि छन् । कुरा के भने हामी ख्वप कलेजका शिक्षकहरू बिदा मनाउन असार २७ गते टिस्टुङ पालुङ घुम्न जाँदै थियौँ । अघिल्लो दिनदेखि परेको पानी रोकिने कुनै छाँटकाट देखिएन । अविरल परेको वर्षाले ‘यात्रा स्थगित’ भएको फोन पो आउने हो कि भनेर असारको वर्षा पनि नमज्जा लागिरहेको थियो । धन्य, ११ बज्न लाग्दासम्म कुनै फोन नआएपछि यात्रा पक्का ठानेर घरबाट कलेजतिर निस्केँ । ठीक ११ बजे नै झरीको पर्वाह नगरी सबै शिक्षक टिस्टुङ–पालुङको लागि यात्रा सुरू ग¥यौँ ।
बल्खुमा पुग्दा बागमतीको भेल देख्दा वर्षाले ठूलै विपत्ति ल्याउने आशङ्का सबैको मनमा थियो । बल्खुको उकालो लाग्दै गर्दा सडकको दुवै छेउको दृश्य देख्दा नेपाल सिङ्गापुर, स्विजरल्यान्डमात्र होइन अब नदीको दुई किनारमा व्यवस्थित घर भएको इटालीको भेनिस सहरको उपनामले पनि चिनिने भयो । भेनिसवासीको आवतजावतको साधन भनेको स–साना डु·ा हुन् । बल्खु–कलङ्कीको मुख्य सडकको मुनितिरको सडकको पनि उस्तै हालत भयो । सडकले खोलाको रूप लिइसकेको थियो, घरको ढोकासम्म पानी भरिएको थियो । स्थानीय बासिन्दाले मोटरबाइक वा गाडीको सट्टा स–साना डु·ाको व्यवस्था गर्नुपर्ने भयो ।
कलड्ढी पुग्दा भने मन रमाइलो भयो । कलड्ढी पनि नपुगेको धेरै भइसकेको रहेछ । चिनियाँ सहयोगमा बनेको अन्डरपासको कारणले ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान भइसकेको रहेछ । सजिलै कलड्ढी छिचोलियो । अहिलेको अवस्थामा जनताले प्रस्टै अनुभूति गर्नसक्ने यातायातको सुधार भनेको यस्तैखाले पूर्वाधारको निर्माण हो । जसले गर्दा हजारौँ जनताले आफ्नो कार्यसमयलाई खेर फालेर गाडीभित्र कोचिएर बस्नुपर्ने छैन । परिणामतः जनताको उत्पादकत्व क्षमतामा वृद्धि भई आर्थिक अवस्थामा समेत सुधार आउने छ । त्यसैले चुच्चो थुतुनो भएको रेल ल्याउने गफभन्दा यस्तैखाले अन्डरपासजस्ता पूर्वाधारको निर्माण उपत्यकाको विभिन्न ठाउँमा गरियो भने सरकारले वाहवाही पाउने छ । अन्यथा चुच्चो थुतुनो भएको रेलको कुरा “खानलाई थाल छैन, मुत्नलाई कोपरा” भन्नेजस्तै हुने छ ।
वर्षा थामिएको थिएन जुन स्वाभाविक पनि हो, असारको महिनामा । गाडीबाट देखिने गरी ठाउँ–ठाउँमा सडको छेउमा माटोको ढिस्को खसेको देखियो । वर्षाको समयमा यातायात दुर्घटना हुने मुख्य कारण नै यही हो जसलाई समयमै व्यवस्थित गर्नुपर्ने हो तर हामीकहाँ “जब प¥यो राती तब बुढी ताती”को पारामा सडक भत्केपछि मात्र काम हुने चलन छ । हरेक वर्षायाममा सडक सम्पर्क टुटेर हजाराँै बिरामी उपचार नपाएर मृत्युको मुखमा परेको समाचार सुन्नुपर्ने हुन्छ । सयाँै मान्छे सडक दुर्घटनामा अनाहकमा ज्यान गुमाउनु परेका छन् तर नेता जनतालाई “सुती सुती खातैमा खाना ल्याइदिने” गफ दिन्छन्, बडेमाको मुख खोल्नुभन्दा सानो गिडी खोल्दा राम्रो हुन्थ्यो नि ।
नौबिसे पुगेपछि ६ वर्षअघि शिलान्यास गरिएको काठमाडाँै–हेटौँडा सुरू· मार्गको सम्झना भयो । बडो गज्जबको काकताली ! उति नै बेला सम्पन हुनुपर्ने काठमाडौँ–हेटौँडा सुरू· मार्ग । हङकङ–चीन जोड्ने ५२ किलोमिटरको समुद्रमाथि बनेको विश्वको सबभन्दा लामो हङकङ–चीन जोड्ने पुल एक वर्षअघि नै निर्माण सम्पन भइसकेको छ । खच्चड र गधाको जोडीले हलो तान्न सक्दैन भन्नेजस्तै उतिबेला शिलान्यास भएको अहिलेसम्म सुरू·को नाममा सिन्को पनि भाँचिएको छैन । हेटौँडासम्मको जम्मा ५२ किलोमिटरको यात्रामा पुग्ने अहिले नारायणघाट घुमेर जाँदा २३० किलोमिटर सडक पार गर्नुपर्छ । यसको आर्थिक हिसाब गर्न रकेट साइन्स पढ्नु पर्दैन सानो दिमागले पनि बुझ्छ । तर विडम्बना ! नेपालको लागि ‘गोरू बेचेको साइनो’ नभएको पानीजहाजको गफ गरिन्छ तर देश र जनताको लागि यति ठूलो फाइदा हुने योजना अगाडि बढाउने कुनै बहस हुँदैन ।
नौबिसेको उकालो लागेका मात्र के थियौँ ठूला ठूला कार्यक्रममा नेताहरूलाई स्वागत गर्न बनाएको द्वारजस्तै गरी एउटा रूख पहिरोको कारणले हाम्रै गाडीअगाडि जोतिन आयो । लाग्यो, अब भने हाम्रो यात्रा यहीँ टुङ्गिने भयो । यही चिन्तामा सबै मिलेर रूख पन्छाउने कोशिश भयो । धन्य ! मझौलाखाले रूख भएर होला थोरै मेहनतले रूख पन्छाउन सफल भयो । फेरि सुरू भयो हाम्रो पालुङको यात्रा । तर त्यही स्वागतरूपी रूख सम्झेर, फेरि पनि यस्तैखाले अवरोध खेप्नुपर्ने हो कि भनेर पालुङ नपुगेसम्म चिन्ताले सताइ नै रह्यो । तर स–साना पहिरो थुप्रै ठाउँमा गए पनि यात्रा नै रोकिने गरी भने कहीँ पहिरो गएको रहेनछ ।
अन्ततः बज्रबाराहीको रूपमा चिनिने टिस्टुङ पुग्यो । होटल पुग्न सानो खहरे खोला पार गर्नुपर्नेरहेछ । पानी बहाव कुनै नदीभन्दा कम थिएन । खोला तर्नसक्ने अवस्था थिएन । फेरि एकपटक यात्रा यही टुङ्ग्याएर फर्कनुपर्ने हो कि जस्तो लाग्यो । के गर्ने के नगर्ने अलमलमा सबै साथीहरू बज्रबाराहीमै तितरबितर भए । सम्पर्क गर्न मोबाइलले काम नगर्ने । नेपाल टेलिकममात्र नचल्ने तर एनसेलको मोबाइल चल्दोरहेछ । यहाँ पनि सरकारी संस्थाले हावा खाएको रहेछ । हावा नचले पनि पात हल्लाउन सक्नेले देश हाँकेको परिणाम यही हुन्छ । होटेलसम्म पुग्न धानबाली गरिएको खेतै खेत भएर जानुपर्ने भो । खानेमुखलाई जुँगाले के छेक्थ्यो र ? एकातिर अविरल वर्षा अर्कोतिर घुँडासम्म पानीमा डुबेर खेतको बाटोबाट मुसा भएर मुश्किलले होटल पुग्यौँ । आफू केही नबोकी हिँडेको थिएँ । पानीले निथु्रकै तर जगेडा लुगा छैन । धन्य, राजेन्द्र सर र प्रमोद सरको सहयोगले न्यानो लुगा लगाउन पाइयो ।
नेपालमा पनि कामको थकानबाट मुक्त भएर केही समय घरबाट टाढा गएर रमाउन जाने चलन बढेको रहेछ भन्ने त्यति टाढा विकट ठाउँमा रहेको होटल भरिभराउ भएबाट पुष्टि हुन्छ । संजोगले हामै्र कलेजको छिमेकी स्कूल जेन्यूइनका टिचरहरूले भरिएको रहेछ होटल । पछि थाहा भयो उहाँहरू त्यही नै दिन फर्कनुपर्ने तर सरकारको नाकामीको परिणामस्वरूप व्यवस्थापन गर्न नजानेको त्यही खहरे खोलाको कारण फर्कन सक्नुभएको रहेनछ ।
रातिको खाना खाँदै टीभी हेर्दै गर्दा दुःखद समाचार सुन्नुप¥यो, देशको विभिन्न भागमा अविरल वर्षाको कारणले आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएको रहेछ । भक्तपुरको पनि थुप्रै भाग जलमग्न भएको र एकजनाले ज्यान गुमाउनु परेको समाचारले चिन्ता बढायो । घरमा सम्पर्क गर्न खोज्दा मोबाइलले काम गरेन । आफ्नो घर होचो भएकोले केही हुनेवाला छैन भनेर आफ्नै मनलाई सम्झाएँ । हरेक वर्ष वर्षामा पहाडको भिर घर भएका र तराई भएर बग्ने नदीको नजिक बसोबास गर्नेले कतिको डरत्रासमा बाँच्नुपर्ने रहेछ अनुमान गर्न सकिन्छ । हरेक वर्षाबाट हुने धनजनको क्षतिलाई दीर्घकालीन समाधानको उपाय खोज्नुभन्दा पनि राहतको नाममा चाउचाउमात्र बाँध्नु सरकारको कर्तव्य भएको छ । सरकारमा नहँुदा भारतले बनाएको बाँधको विरोध गर्नेले सरकारमा पुग्दा अल्जाइमरका रोगीले जस्तै ती सबै कुरा बिर्सनेरहेछ । नोटले हात फेरेजस्तै बोली फेर्ने बानी भएका नेता भएसम्म यस्तो समस्या नेपाली जनताले भोग्नु परिरहने नै छ । हरेक वर्ष यस्तो विपत्ति आउने पक्का हुँदाहँुदै कुम्भकर्णजस्तै ६ महिना सुतेर बाढी पहिरो आएपछि बिउँझने अनि आफ्नो कमजोरीलाई प्राकृतिक प्रकोपको नाम दिएर जिम्मेवारबाट भाग्ने ! हरेक वर्षात्मा आउने यस्तो समस्या निश्चित भएकोले प्राकृतिक प्रकोप हुँदै होइन बरू यसलाई मानवीय प्रकोप भन्न सकिन्छ । प्राकृतिक प्रकोप भनेको आकस्मिक हुन्छ । श्रीखण्डलाई खुर्पाको बिँड बनाउने नेताको कारण मूल्यवान जलस्रोत पनि जनताको लागि विनास भएको छ । नेताज्यू, फेन्टास्टिक सपना बेच्ने काम अति भयो, अब यथार्थको धरातलमा टेकेर वस्तुताको बोध गरौँ ।
अर्को दिन वर्षा थामिइसकेको थियो । जुन खहरे खोलाले हाम्रो यात्रालाई कठिन बनाएको थियो त्यो पनि बिहानसम्ममा सुकिसकेको थियो । गाडीबाटै सहजै खोला पार गरी फेरि ख्वप कलेजको लागि प्रस्थान गरियो । नौबीसे पुग्दा मोबाइलको घण्टी बज्यो । बल्ल थाहा भो नेपाल टेलिकम यहाँदेखि चलेको रहेछ । मोबाइल उठाएँ, छोरीकै फोन रहेछ । ढुक्क भएँ, घरमा सबै नै सकुशल रहेछन् । तर थानकोट नकटेसम्म बीचमा कतै पहिरोले सडक अवरोध हुने हो कि भन्ने चिन्ता चाहिँ भई नै रह्यो । कुनै अवरोधको सामना गर्नु नपर्दा धन्न समयमै घर पनि पुगियो ।
Leave a Reply