भर्खरै :

एउटा साहित्यिक आधारशिलाः हस्तलिखित ‘क्रान्ति’

सीतु
भक्तपुरका परिवर्तनप्रेमी जुझारु युवाहरूले जन अध्ययन मण्डलको स्थापना विसं २०११ मा गरे । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको प्रभातकालीन परिवेशमा सामाजिक, राजनीतिक तथा साहित्यिक क्षेत्रमा युवाहरूको सक्रियताबाट समाज उत्साहित हुनु स्वाभाविक हो । जन अध्ययन मण्डलका नवजवानहरूले हस्तलिखित साहित्यिक मासिक ‘क्रान्ति’ २०१४ साल वैशाख १५ गते शनिबारको दिन प्रकाशन प्रारम्भ गरे । नयाँ पुस्ताका ती प्रतिनिधि युवाहरू सम्भवतः राणाहरूको एकतन्त्रीय शासनको अन्त्यमा मात्र सीमित हुन चाहँदैनथे । ती अर्को क्रान्तिको तयारीमा जुट्न चाहन्थे । सात सालको सीमित परिवर्तनमा सन्तुष्ट भई बस्नु युगको आवश्यकता नबुझ्नु र विश्वको ऐतिहासिक विकास क्रम आत्मसात् गर्न नसक्नु ठहरिनेबारे ती युवाहरू अवगत थिए भन्ने पुष्ट्याईं हस्तलिखित ‘क्रान्ति’ ले पेश गर्छ । चीनको युगान्तकारी परिवर्तन अर्थात चिनियाँ समाजवादी क्रान्तिको अभूतपूर्व सफलताबारे जानकार र त्यसबाट प्रभावित युवा पुस्ताले आमूल परिवर्तनको सपना देख्नु अनौठो विषय जरुर होइन ।
बलिरहेको चिराग बोकेर क्रान्ति–पथमा लम्कने सङ्कल्प गर्ने भाव झल्काउने सुन्दर आकृतिसहितको गाता रहेको यो हस्तलिखित पत्रिकाको पृष्ठभूमिमा ईश्वरद्वारा रचित कवितांश दिइएको छ–
क्रान्ति तेरो धर्म हो
क्रान्ति तेरो कर्म हो
क्रान्ति चिराग बालेर
लम्कनु तेरो लक्ष्य हो ।
युवा जोशले ओतप्रोत यो कवितांशले ‘क्रान्ति’ पत्रिकाको मूलभाव तथा उद्देश्य प्रतिविम्वित गर्छ । विभिन्न रङ्गको संयोजन गरी पत्रिकाको गाता बुद्धवीरले तयार पारेका हुन् ।
यस पत्रिकाका सम्पादक पूर्ण बहादुर वैद्य, प्रधान सम्पादक ईश्वरलाल र सह–सम्पादक धनमान हुन् । तीन युवकमध्ये पूर्णबहादुर वैद्य र धनमान (श्रेष्ठ) आज पनि लेखन क्षेत्रमा सक्रिय छन् । वैद्य काव्य क्षेत्रमा र श्रेष्ठ कथाको क्षेत्रमा आज पनि कलम चलाइरहेका छन् । विशेषगरी नेपालभाषाको माध्यमबाट रचना–कर्ममा अग्रसर छन् । ईश्वरलालको धेरै वर्ष अगाडि नै देहावसान भइसकेको छ । यो हस्तलिखित पत्रिका सार्ने कार्य पृथुचरण (बैद्य) बाट भएको उल्लेख छ । पृथुचरण बैद्य स्वयम् एक शिक्षासेवी या प्राध्यापकको रूपमा परिचित छन् । पत्रिकामा उल्लेखित सम्पादनको जिम्मेवारी सम्हाल्ने चारैजना का. रोहितका दौंतरी एवं सहकर्मीहरू थिए ।
पत्रिकाको पहिलो पृष्ठ ‘क्रान्ति’ परिवारको शुभकामना सन्देशबाट प्रारम्भ हुन्छ । दोस्रो पृष्ठमा सम्पादक मण्डल र प्रकाशकको नाम रातो रङ्गले उल्लेख गरिएको छ भने तेस्रो पृष्ठमा विषय–सूचि राखिएको छ । जम्माजम्मी ३६ पृष्ठको पत्रिकामा १२ वटा रचना सङ्कलित छन् ।
आनन्द देव (भट्ट) को कविता ‘फेरि त्यो दिन कस्तो होला ?’ पत्रिकाको अग्रभागमा दिइएको छ । कवितामा परिवर्तनको व्यग्र प्रतिक्षा झल्किन्छ भने कविको आमूल परिवर्तनको आशा सुन्दर ढङ्गमा प्रस्तुत गरिएको छ–
झारपात, हिलोमैलो, उडी बगी सब साफ होलान्
निर्मल, सुन्दर हलुका बाना, पृथ्वीमाथि देखिएलान्
पूर्व क्षितिजको खुला फाटकमा, लाल रवि झल्केलान्
रक्त प्रभाको दोसल्लाले, धर्ती आमालाई सिङ्गार्लान् ।
समाजमा व्याप्त शोषण, दमन, अन्याय–अत्याचारको अन्त्य सम्भव छ र सुन्दर समाज निर्माणार्थ सङ्घर्ष र क्रान्तिको अभिभारा वहन गर्न नयाँ पुस्ता तयार हुन आह्वान यस कवितामा गरिएको छ–
‘…………………….
आजादीको बिगुल फुक्तै, युवक विद्यार्थी लम्केलान्
सुप्त नारी पटुका कस्दै, शिर उठाई गाउलान् ।।३।।’
दामोदर प्रसाद ‘किजा’ को कविता ‘अब मानवहरू उठ्ने छन् ।’ मा पुँजीपति वर्ग र कामदार वर्गबीच भीषण सङ्घर्ष हुने र शोषित वर्गको विजय अवश्यंभावी भएको विचार व्यक्त गरिएको छ । तर, विजयसम्म पुग्न जनता एकजूट भई जागी उठ्नुपर्ने कवि बताउँछन् ।
नेपालभाषामा लेखिएको पूर्णमानको लघुकथा ‘छंगु बुद्धि’ (तिम्रो बुद्धि) मा आसनां दाजु र आसनां दाजुहरूमाथि भइरहेको शोषण तथा अन्यायबारे सानो चित्र उतारिएको छ । सुर्यलालको कविता ‘मशाल’ मा नयाँ युग ल्याउन मशाल बाल्दै युवा अघि बढ्न आह्वान गरिएको छ ।
ईश्वरलाल लिखित नेपालभाषाको निबन्ध ‘मार’ मा नयाँ विचारको पक्षधरता आवश्यक रहेको चर्चा गरिएको छ । समाजमा नवीन विचार, सोच तथा चिन्तन अगाडि सार्न खोज्नेले शासकहरूबाट अनेक किसिमका यातना, भोग्नुपर्ने र अनावश्यक पीडा एवं दमन खप्नुपर्ने अनेकौं दृष्टान्त पेश गरिएको छ । यो रचनाको विचारपक्ष र उदाहरणसहितको तर्क सशक्त मान्न सकिन्छ । परिवर्तनका पक्षधरहरू शासक वर्गबाट प्रताडित हुने तर डाँडा–काँडा नाघ्दै सूर्योदय भएझैं, पहराहरू नाघ्दै छहराहरू झरेझैं परिवर्तन झुल्किने र नयाँ विचार फैलिने अकाट्य सत्य निबन्धमा प्रस्तुत गरिएको छ ।
पूर्णबहादुर बैद्यद्वारा लिखित नेपालभाषाको कथा ‘गंगु ख्वबि’ (सुकिसकेको आँसु) ले तत्कालीन समाजको कारुणिक चित्र जीवन्त ढङ्गमा प्रस्तुत गर्छ । गरिबी, भोक, रोग, शोक र अभाव नै अभावले पिल्सेको समाजबारे मार्मिक ढङ्गमा लेखिएको कथाले आज पनि धेरैको मन छुने निश्चित छ । औषधी उपचारको अभाव र भोको परिवारको चित्रण जति हृदयविदारक छ त्योभन्दा पनि सन्तानको मृत्यु र स्वयम् असहाय भक्तिमायाको वेदनाले भरिपूर्ण जिन्दगीको अन्त्यको वर्णनले तत्कालीन समाजको कहालीलाग्दो परिवेशलाई स–दृष्य हेरेको पाठकलाई अनुभूत हुनेछ ।
सूर्यप्रताप राणाको ‘हिम्मत नहार !’ र विष्णुप्रसाद नेपालीको ‘युवक’ कविता पठनीय छन् । पृथुचरण बैद्यद्वारा अनुदित प्रसिद्ध लेखक प्रिन्स क्रोपाटकिनको ‘नव युवकों सें दो बातें’ हिन्दी पुस्तकको ‘डाक्टर’ पनि प्रेरणादायी छ । रोगहरू केवल औषधि उपचारबाट मात्र निको पार्न सम्भव नहुने बरु त्यसको सामाजिक आर्थिक कारण पत्ता लगाई त्यहींबाट उपचार थालिनुपर्ने चर्चा यस लेखमा गरिएको छ । समाजमा व्याप्त शोषण, अन्याय, दमन नै धेरै रोगहरूको कारण हुने र एक डाक्टर पनि एक समाजवादी बनी रोगहरूको मूल कारणसम्म पुगेर उपचार गर्न सके समाजको ठूलो सेवा साबित हुने सशक्त विचार लेखमा प्रस्तुत गरिएको छ ।
सहिद गंगालालको संक्षिप्त चिनारीले युवाहरूमा जोश थप्ने, प्रजातन्त्रप्रति प्रेम जगाउने र बलिदानीपूर्ण जीवनको अर्थ बताउने छ । यस रचनाका लेखकको नाम भने उल्लेख छैन ।
‘जनसाहित्य साहित्यिक महारथीहरूको कलमबाट कम मात्र चुहिएको’ हुनाले ‘जनसाहित्य तथा जनजीवनलाई प्रेरणा दिने जीवनवादी साहित्य चाहिएको’ मनन गरी ‘क्रान्ति’ आरम्भ गरिएको सम्पादकीयमा उल्लेख छ । सम्पादकीयको अन्तिमतिर लेखिएको छ, “भक्तपुरका युवकहरूको साहित्यमा आएको नयाँ जोशलाई टेवा दिन एक पत्रिकाको आवश्यकता थियो, यही आवश्यकता पूर्ति ‘क्रान्ति’ ले गर्ने हाम्रो धारणा छ ।”
पत्रिकाको अन्तिम पृष्ठमा ‘क्रान्ति’ को उद्देश्य र नियम प्रस्तुत गरिएको छ । त्यसमा जम्मा १६ वटा बुँदा उल्लेख गरिएका छन् ।
आजभन्दा ६२ वर्ष अगाडि प्रकाशित यो हस्तलिखित पत्रिका आकार प्रकारमा सानो देखिएता पनि यसले दिन खोजेको सन्देश, प्रकाशन कार्यमा संलग्न युवकहरूको उत्साह आज सम्झँदा पनि त्यति कै सराहनीय छ । प्रगतिशील साहित्यिक आन्दोलनको यो बीऊ थियो भन्नु न्यायोचित हुनेछ । यो एउटा गतिलो आधारशिला थियो भन्नु अतिशयुक्ति हुने छैन । यद्यपि यो कति वटा या कति अङ्कसम्म प्रकाशित भयो भन्ने तथ्य बाहिर आउनै बाँकी छ । एउटा यथार्थ जरुर स्वीकार्नु पर्छ कि ‘क्रान्ति’ को प्रकाशन सँगसँगै धेरै युवकहरूले साहित्यिक अभियानमा आफूलाई समाहित गर्दै जनपक्षीय आन्दोलनलाई टेवा पु¥याए । परिवेश सापेक्ष मुल्याङ्कन गर्ने हो भने यसमा रहेका भाषिक अशुद्धि या त्रुटि त्यति गम्भीर मान्न सकिन्न । जे जस्तो भएतापनि ‘क्रान्ति’ एउटा साहित्यिक दस्तावेज हो भन्नु गलत हुने छैन । अन्य पुराना हस्तलिखित या कुनै प्रकाशनबारे आज फेरि प्रकाशमा ल्याई छलफल चलाएर नयाँ पुस्तालाई जानकारी दिन सके उत्साहको सञ्चार हुनुका साथै इतिहासका पृष्ठ लोप हुने खतराबाट जोगाउन सकिन्थ्यो । यस कार्यमा आवश्यक प्रयासको निम्ति सम्वेदनशील तथा जिम्मेवार व्यक्तिहरूको अग्रसरताको अपेक्षा हुनु स्वाभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *