भर्खरै :

देशभक्त नागरिक बनाउन शिक्षक किन अघि नसर्ने ?

– दानबहादुर कपाली
शिक्षकहरू नदेखिने क्रान्तिकारी हुन् । समाजमा व्याप्त अन्धविश्वास, कुरीति अन्त्य गर्न र कुलतमा लागेका व्यक्तिहरूलाई सही ठाउँमा लैजान शिक्षकहरूको ठूलो हात हुन्छ । शिक्षकहरू समाजका शिक्षितमात्र होइन जागरुक वर्गमा पर्छ । सचेत, चिन्तनशील हुने हुँदा समाज परिवर्तनमा उनीहरूको योगदान हुन्छ । उनीहरू आ–आफ्नो विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई पाठ्यपुस्तकको शिक्षामात्र प्रदान गर्दैनन्, व्यावहारिक शिक्षा दिन्छन्, गलत बाटोमा लागेका विद्यार्थीहरूलाई सत्मार्ग देखाउँछन् । सामाजिक सुधार गर्न या परिवर्तन गर्न शिक्षकहरूले धेरै भूमिका निर्वाह गरेका हुन्छन् ।
शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित हुुनुहुँदैन । आमाबाबुप्रति गर्नुपर्ने सम्मान, शिष्ट व्यवहारदेखि देशमा भइरहेको भ्रष्टाचार, ढिलासुस्ती, कमिसन, कालाबजारी, अनियमितता आदिबारे पनि शिक्षकले विद्यार्थीलाई बताउनुपर्छ । शिक्षकहरू समाज सुधार या परिवर्तनमा क्रियाशील भएनन् भने या मुखमा दही जमाएर बसेमा समाज परिवर्तन ढिलो हुन्छ । यसले समाज पछि पर्छ । कुनै पनि मेसोमा नेपाल र नेपालीको हित नहुने विषयमा शिक्षकले सुसूचित पार्नुपर्छ ।
विद्यार्थी तथा गाउँ बस्तीका जनतालाई देशभक्त बनाउने, आफ्नो देशमाथि हुने कुनै पनि शक्तिराष्ट्र देशको थिचोमिचो, अतिक्रमण, आक्रमण, दबाब र शोषणको विरोधमा शिक्षकहरू अघि सर्नुपर्छ । कुनै अदालत, मालपोत कार्यालय, गुठी संस्थानलगायत अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा हुने भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, घूस खाने कामको विरोधमा विद्यार्थी जीवनदेखि नै सुसूचित पार्ने काम शिक्षकबाट हुनुपर्छ । यस्तो भएमा इमानदार, योग्य र असल विद्यार्थी तयार हुनेछन् । यसले देशको लागि सहयोग गर्छ । शिक्षकहरूको यस्तो प्रयासले देशमा सुशासन कायम गर्न र विधिको शासन लागू गर्न सहयोग गर्छ । शिक्षकहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरे देशको मुहार फेर्न सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *