भर्खरै :

देशभर एकै चरणमा निर्वाचन गर्नुपर्छ –बिजुक्छे

मध्यपुर, २६ चैत । नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय सम्मेलनबाट सरोजराज गोसाईको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन गरी सम्पन्न भएको छ ।
विभिन्न विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरूको प्रथम राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनको घोषणा गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल प्राध्यापक समाजको प्रथम सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष रोहितले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाउँदै मधेसकेन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा जोड दिनुभयो ।
“जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने, निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र मतदाता नामावली थप गर्नुपर्ने मधेस केन्द्रित दलको माग राष्ट्रिय हितमा छैन, यसलाई प्रमुख ठूला दलले मान्नु हुँदैन,” उहाँले भन्नुभयो– “ठूला दलहरूले प्रजातान्त्रिक मूल्य र मान्यताविरूद्ध थ्रेसहोल्डको व्यवस्था गरेका छन् ।”
अध्यक्ष रोहितले भन्नुभयो,–“समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान अप्रजातान्त्रिक छ, यसलाई नेमकिपाले सिद्वान्त र व्यवहार दुवै ढङ्गले मान्दैन ।”
पछिल्लो समयमा ठूला दलका नेताका कारण नेपालको राजनीतिक क्षेत्र विकृति बन्दै गएकाले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिदैं उहाँले स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनको लागि पार्टीको स्थानीय स्तरलाई नै अधिकार दिइएको तथा जिल्ला समितिको सिफारिसअनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद प्रेम सुवालले देशमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने भन्दै उत्पादन–श्रमसँग जोडिएको शिक्षा नभएसम्म बेरोजगारी समस्या समाधान हुननसक्ने बताउनुभयो । उहाँले कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू हुनुपर्ने तर्क गर्नुभयो ।
सांसद सुवालले सरकारले भारतको दलालको रूपमा काम गरिरहेको भन्दै प्रबुद्ध वर्गको प्रतिनिधित्व गर्ने नेपाली पक्षले भारतसामु राम्रोसँग कुरा राख्न नसकेको धारणा राख्नुभयो ।
प्राध्यापक माणिकलाल श्रेष्ठले विदेशी हस्तक्षेप एवम् थिचोमिचो बढेको भन्दै राष्ट्रिय स्वाधीनताको सङ्घर्षको नेतृत्व बौद्धिक वर्गले गर्नुपर्ने तर्क गर्नुभयो ।
शिक्षा सड्ढायका पूर्व डीन प्रा. पृथुचरण वैद्यले विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डाले सापेक्ष
शैक्षिक परिवर्तन हुननसकेको धारणा राख्नुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मण जोशीले बुद्धिजीवीहरूले पेशागत हकहितको मात्र कुरा नगरी समाजको आमूल परिवर्तनको निम्ति आन्दोलन गर्नुपर्ने स्थिति आएको विचार राख्नुभयो ।
कार्यक्रममा समाजका संयोजक सरोजराज गोसाईंले नेपालको शिक्षाबारे अवधारणापत्र पेस गर्नुभएको थियो । समाजको प्रथम राष्ट्रिय भेलामा विभिन्न जिल्लाका २८ वटा कलेजका दुई सय भन्दाबढी प्राध्यापकको सहभागिता थियो ।
सम्मेलनको बन्दसत्रमा संयोजक गोसाईले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *