भर्खरै :

जनताले चुनावमा हिरा र ढुंगाबीच भेद छुट्याउन सक्नुपर्ने

भक्तपुर, २६ चैत ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले संसदलाई नेमकिपाले जीवन दिएको बताउनुभएको छ । शनिबार बिहान मध्यपुर थिमिको बोडेमा आयोजित नयाँ वर्षको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले संसदमा ठूलो संख्यामा सांसदहरु भएका दलहरुले भन्दा धेरै गुणा प्रभावकारी तरिकाबाट संसदीय अभ्यासमा नेमकिपाले भूमिका खेलेको बताउनुभएको हो ।
शासक दलहरुले आफ्नो सरकार जोगाउन केही साना दलहरुलाई काखी च्याप्ने गल्ती गरेको चर्चा गर्दै अध्यक्ष रोहितले प्रत्यक्ष तर्फबाट एक जना सांसद जित्नुपर्ने र समानुपातिक तर्फबाट तीन प्रतिशत मत हासिल गर्नुपर्ने मत सीमाको प्रावधानले देश र जनताको सेवा गर्ने नेमकिपाको आजुमा कुनै कमी ल्याउन नसक्ने प्रष्ट पार्नुभयो ।
‘पञ्चायती व्यवस्थाविरुद्ध पनि नेमकिपा लडेको थियो र अबका दिनमा हाम्रो संघर्ष चालु रहनेछ । हामीलाई हाम्रो बाटोमा कसैले छेक्न सक्ने छैन ।’, उहाँले भन्नुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनबारे चचाए गर्दै उहाँले जनताले चुनावमा हिरा र ढुंगाबीच भेद छुट्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले चुनावी घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक दललाई अर्को निर्वाचनमा चुनाव लड्न नपाउने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
शासक दलहरुले चुनावमा पाएको मतका आधारमा राज्यकोष दोहन गर्ने प्रावधान राजनीतिक दलसम्बन्धि विधेयकमा राख्न खोजेको प्रसंगबारे चर्चा गर्दै भन्नुभयो,‘थ्रेसहोल्डको प्रावधान स्थापित गरेर शासक दलहरुले पञ्चायतको भूत ब्युँताउन खोजिरहेका छन् ।’
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापाश्रेष्ठले चुनावलाई जनताको चेतनास्तर नाप्ने हतियार भएका कारण जनताले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने मानिसलाई जिताएर आफ्नो स्तरको परिचय दिनुपर्ने विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले शासक दलहरुले विकासको नाममा ठेकेदारी प्रथालाई प्रश्रय दिइरहेको बताउँदै भन्नुभयो,‘ नेमकिपा ठेकेदारीमा होइन जनताको सहभागितामा विकास निर्माणका काम हुनुपर्ने विचार बोक्ने पार्टी हो ।’
कार्यक्रममा नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष विक्रम श्रेष्ठ, प्रेमजन थापा, केदार खड्का, सुरेन्द्र थालगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *