भर्खरै :

बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण सुरु

काठमाडौँ, १ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण सुरू भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो ।
मन्दिर पुनःनिर्माणको क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको ‘कङ्क्रिटको टाइबिम’ फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ‘प्यासेज’ पुनःनिर्माण थालिएको हो । रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । सीए÷तुलसी कन्स्ट्रक्सन जेभीका इन्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिनुभयो ।
कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रूपमा अघि बढाइनेछ । रानीपोखरी पुनःनिर्माण अनुगमनको नेतृत्व गरिरहनु भएका प्राधिकरणका सहसचिव एवम् सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनकरूपमा अघि बढेको बताउनुभयो । निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माण गर्ने छ । उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ । दक्षिण र उत्तरको एकतिहाइ भागमा पर्खाल लगाउने क्रम जारी छ । पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । भक्तपुरका दक्ष कालिगढद्वारा पोखरीमा पानी अड्याउन कालो माटो राख्ने काम भइरहेको छ । प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढको सङ्ख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *