भर्खरै :

२०४५ सालको ३१ वर्ष

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न पञ्चायती व्यवस्थाले बुनेको भक्तपुर काण्ड ३१ वर्ष पुरानो भइसकेको छ । त्यसयता देशमा धेरै ठूलठूला परिवर्तन भइसकेका छन् । पञ्चायत इतिहासको पुलिन्दामा थन्किसकेको छ । राजतन्त्र पनि बिदा भयो । देशमा आज गणतन्त्र स्थापना भयो । तर, नेमकिपालाई पञ्चायती व्यवस्थाले जस्तो वक्रदृष्टिले हेर्ने गरेको थियो, त्यस्तै परिवर्तित व्यवस्थाका शासक वर्गले पनि नेमकिपालाई उही शत्रुतापूर्ण व्यवहार गरिरहेको छ । हिजो पञ्चायतले जुन व्यग्रताका साथ नेमकिपालाई समूल नष्ट गर्न खोजेको थियो, आजका शासक दलहरूले पनि नेमकिपालाई उसरी नै नष्ट गर्न खोजिरहेको छ । किन ?
पहिलो कारण, हिजो पञ्चायतभित्र बसेर जसले नेमकिपालाई सिध्याउन चाहेका थिए, परिवर्तित परिस्थितिमा उनीहरू आजका शासक दलहरू नेकपा, नेका, राप्रपामा पसेका छन् । उनीहरूले आज आफ्नो पार्टीको नाम बदले, अभिवादन गर्ने शैली बदले, भाषण गर्दा प्रयोग गर्ने शब्दमा केही फेरबदल गरे । तर, हिजो पञ्चायतको सेवा गर्दा जुन सोच र चिन्तन उनीहरूले बोकेका थिए त्यही चिन्तन आज पनि निरन्तर छ । फलतः नेमकिपाप्रति उनीहरूको शत्रुता आज फरक नामको राजनीतिक दलमा बसेर पनि साँधिरहेका छन् ।
दोस्रो कारण, नेमकिपाले अङ्गीकार गरेको सिद्धान्त र कार्यशैलीप्रति उनीहरूको शत्रुता हो । नेमकिपाले बोकेको सिद्धान्त र विचारधारा खासमा उनीहरूको अस्तित्वसँग जोडिएको विषय हो । उत्पादनका साधनमाथि हालीमुहाली चलाइरहेको वर्गले उत्पादनका साधनको सामाजिकीकरणको पक्षमा वकालत गर्ने विचारको पक्षपोषण नगर्नु कुनै आश्चर्यको विषय होइन । जनतामाथि शोषण गर्नुमा नै आफ्नोअस्तित्वमा देख्ने वर्गले जनताको सेवा गर्ने विचारधारा नरुचाउनु कुनै नौलो कुरा होइन । यो मानव समाजको विकासक्रममा विकास भएको वर्गसङ्घर्षको सामान्य नियम हो । नेपालका अरु कम्युनिस्ट पार्टीहरूलाई सिद्धान्तहीनताको भासमा फसाउन सफल यो शासक वर्गले नेमकिपालाई सिद्धान्तच्युत बनाउने गरेका सबै प्रयास असफल बन्दै गएपछि षड्यन्त्रको जालो बिछ्याउन लागिपरेका हुन्छन् ।
समयमा आएको परिवर्तनसँग यो शासक वर्गको दमनको काइदा पनि क्रमशः बदलिएको छ । हिजो जुन हतियार प्रयोग गरेर नेमकिपालाई समूल नष्ट गर्न खोजिएको थियो, आज त्यो हतियारभन्दा नयाँनयाँ मोडलका हतियार प्रयोग गरेर नेमकिपाको विचारलाई सिध्याउन प्रयास जारी राखेका छन् । कतिबेला राज्यसत्ताको भौतिक दमन, कतिबेला पुँजीवादी समाजले समाजमा छर्ने लोभपाप, कतिबेला कानुनी हतियार, कहिले भ्रमको खेती, कतिबेला सङ्ख्याको स्वाङ आदि हतियार प्रयोग गरी नेमकिपालाई नयाँ नयाँ किसिमका ‘भक्तपुर काण्ड’ मा फसाउने जालझेल आज पनि चलेकै छ । नेमकिपाको विचार र सङ्गठनमाथि यस्ता हतियार प्रयोग गरी गरिने हमला वर्गसङ्घर्षकै हिस्सा हो । पुँजीवादी समाजले उचाइ हासिल गरेको समयमा नेमकिपाजस्तो समाजवादी विचार बोकेको पार्टीको निम्ति प्रतिकूल बन्नु कुनै आश्चर्यको कुरा होइन । नेमकिपाजस्तो विचार बोक्ने पार्टीहरूले पुँजीवादी विश्वमा यस्तै प्रतिकूलताको सामना गरिरहेका छन् । तर, जनताको न्यायपूर्ण सङ्घर्षमा लागेका दलहरूले संसारभर आफ्नो सङ्घर्षलाई जारी राखेका छन् । इतिहासमा जनताको पार्टीमाथि भएका निर्मम दमनको प्रतिरोधमा क्रान्तिकारीहरूले गरेको सङ्घर्ष र बलिदानलाई नै आफ्नो आदर्श मानेर उनीहरू लगातार कामदार जनताको कित्तामा उभिएका छन् ।
२०४५ को काण्ड कुनै भूगोलको विरुद्ध भएको दमन थिएन । त्यो कामदार जनताको पक्षधर विचारधाराको विरोधमा गरिएको दमन हो । विचार र सिद्धान्तमाथिको हमला थियो । आज पनि नेमकिपाले बोकेको सिद्धान्तमाथि लगातार हमला भइरहेको छ । तर, जनताको पक्षमा उभिएको विचारधारा संसारमा कहिले पनि पराजीत भएको छैन । नेमकिपाको झन्डा तल झार्न नक्कली रातो झन्डा बोक्नेहरूले अझै पनि नयाँ नयाँ ‘२०४५’ साल निम्त्याउन खोजिरहेका छन् । तर यस्ता जालझेलको प्रतिरोध गर्न नेमकिपा अझ अनुभवी सिपाहीँजस्तै लड्न तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *