भर्खरै :

मध्यपुरमा परिषद् बैठक बस्न सकेन

मध्यपुर, १२ भदौ । नीति तथा कार्यक्रममा विवाद तथा आपसी भागबन्डा नमिल्दा बिहीबार बोलाइएको मध्यपुर थिमि नगरपालिकाको तेस्रो नगर परिषद्को बैठक बस्न सकेन । साउन १८ गते उद्घाटन भएको नगर परिषद् नेकपासम्बद्ध नगर प्रमुख र नेपाली काङ्ग्रेसभित्रका विभिन्न समूहबीच विवाद र भागबन्डा नमिल्दा अहिलेसम्म बैठक बस्न नसकेको हो ।
प्राप्त जानकारीअनुसार नगर परिषद् सदस्यहरूलाई बिहीबार बोडेको कृषि तालिम केन्द्रमा २ बजे बस्ने भनी १ बजे खबर गरिएको थियो । तर, २ बजे अर्को खबरमार्फत ४ बजे बस्ने सूचित गरिएको थियो । तर, ढिला रातिसम्म पनि बैठक भने बसेको थिएन ।
बहुमत प्राप्त नेपाली काङ्ग्रेसभित्र विभिन्न गुट उपगुटबीच विवाद र भागबन्डा नमिल्दा परिषद्को बैठक बस्न नसकेको हो । केही समयअघि नेकाँकै एउटा समूहले बनाएको नीति तथा कार्यक्रममा सोही दलको अर्को समूह सहमत हुन नसक्दा महिना दिनअघि उद्घाटन भएको परिषद्अन्तर्गत बैठक अहिलेसम्म बस्न सकेको छैन । नेकाँको विवादसामु नगरप्रमुख पनि निरीह रहेको स्रोतले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकामा यसअघि पनि नेकपासम्बद्ध नगर प्रमुख र नेकाँसम्बद्ध उपप्रमुखबीच विभिन्न विषयमा विवाद भएको थियो । दुई दल र विभिन्न समूहबीच विवादको कारण नगरको विकास निर्माण र जनताका दैनिक काम प्रभावित बनेको स्थानीय नगरवासीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *