भर्खरै :

विभिन्न देशका कलाकारको कला प्रदर्शन

नारायण ढङ्गाना
काठमाडौँ, १२ भदौ । केही महिनाअघि नेपाल घुम्न आउनुभएका भारतका कलाकार मनोज जधारलाई पाटन दरबार स्वायरले मन छोयो । प्यागोडा शैलीका सुन्दर पुरातात्विक क्षेत्रका दृश्य क्यामरामा मात्रै होइन आर्ट पेपर नउतारी उहाँ बस्न सक्नुभएन । भारतमा फरक खालका कलाशैलीमा चित्रकारिता गर्दै आउनुभएका उहाँलाई नेपालको मठमन्दिर बौद्धगुम्बाका बनोट खास लाग्यो । उहाँले यस्तैयस्तै प्राकृतिक, पुरातात्विक र ऐतिहासिक दृश्य सङ्गालेर लैजानुभयो ।
अर्का भारतीय चित्रकार सीमा घियाले पुरातात्विक क्षेत्रमा दौरा सुरुवालमा सजिएका एक बालकलाई आफ्नै तालमा डुल्दै गरेको देख्नुभयो । अझ शिरमा पहिरिएको भादगाउँले टोपीले उहाँको मनलाई थप तरङ्गित बनायो । पानी रङले चित्र खिचेर उहाँ फर्कनुभयो । समीर नाडाफ पशुपतिनाथको मन्दिर र आसपासका दृश्यलाई आर्ट पेपरमा उन्नुभयो । खुलायो हिरेमान, मनोज सुकलले पनि नेपाली धार्मिक तथा ऐतिहासिक क्षेत्रका दृश्यलाई आफ्नो क्यान्भासमा उतार्नुभयो । उहाँहरूले नेपालमा घुम्दा कैद गरेका ती दृश्य अहिले काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा झल्किरहेका छन् ।
भदौ ७ गतेदेखि सुरु भएको कला प्रदर्शनीमा चिनियाँ कलाकार पिङ गुओले खोलामा बग्दै गरेको पानी र त्यसमा देखिएको छायाँलाई प्रस्तुत गर्नुभएको छ । कलाकार लि झाओले गाउँले बस्तीसँगैको देखिएको सुन्दर प्राकृतिक दृश्यलाई उतार्नुभएको छ । बङ्गलादेशको कलाकार मसहुद अहमदले समुद्री किनार र त्यस वरपरका दृश्यलाई प्रस्ट्याउनुभएको छ ।
नेपाली कलाकार भीम श्रेष्ठले बाँसुरीको धुन निकाल्दै गरेका वृद्धलाई कलामा उतार्नुभएको दृश्य, एनवी गुरुङले नेपालको मौलिक बाजा सनाही बजाउँदै गरेका व्यक्तिको चित्रलाई दुरुस्त पार्नुभएको छ भने चितवनका कलाकार डि बरालले अग्लो पहाडबाट देखिएको दृश्यलाई कैद गराउनुभएको छ । विभिन्न देशमा मिश्रित रङ र कलाले साँच्चै नै भाइचारा विस्तारमा सहयोगी बनेको छ ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा सुुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको ८० चित्र समावेश गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिनुभयो ।
प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित गरिएको प्रदर्शनी नयाँ र पुराना कलाकारको सिकाइ आदानप्रदानको थलो भएको कलाकारले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *