स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
अगस्ट ३० का दिन विश्वभर मानिस बेपता पार्नेविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नेपालमा पनि बेपत्ता मानिसका परिवारले पनि विविध गतिविधि गरेर बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । बलपूर्वक बेपत्ता पार्ने कार्य विश्वव्यापी समस्या हो । यसबाट नेपाललगायत विश्वका विभिन्न मुलुक आक्रान्त भएका छन् । यो क्रम अझ पनि रोकिएको छैन । विशेष गरेर ल्याटिन अमेरिकी मुलुक, अफ्रिका, मध्यपूर्वलगायत एसियाका मुलुकहरू यसबाट बढी प्रभावित भएको देखिन्छ । त्यसैले, संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०११ देखि विश्वभर औपचारिक रूपमा ३० अगष्टलाई बेपत्ताविरूद्धको दिनका रूपमा मनाउने गरिएको छ । नेपालमा पनि केही वर्षदेखि मनाउने गरिएको छ । एक अध्ययन प्रतिवेदनअनुसार संसारमै सबभन्दा बढी बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कोलम्बियामा छ । सन् १९५८ देखि २०१७ बीच त्यहाँका ८२ हजार ९ सय ५८ नागरिक बेपत्ता भएका छन् ।
बलपूर्वक मान्छे बेपत्ता पार्नु जघन्य अपराध हो । यो अपराध निहत्था नागरिकविरूद्ध, लक्षित समूहकेन्द्रित, योजनाबद्ध, व्यापक र नीतिगत भएमा ‘मानवताविरूद्ध अपराध’ को श्रेणीमा पर्छ, जुन अक्षम्य हुन्छ । यसखाले अपराध राज्य तथा गैरराज्य दुवै पक्षबाट हुने गरेका छन् ।
बलपूर्वक बेपत्ता पार्ने कार्य नेपालका लागि नौलो होइन । राणाकालीन दस्तावेज नभेटिए पनि यसको सुरूआत विक्रम सम्बत् २००७ देखि भएको पाइन्छ । माओवादी सशस्त्र द्वन्द्वकालमा यो अपराध अनियन्त्रित ढंगबाट बढ्यो । राष्ट्रसङ्घले सङ्कलन गरेको सूचनाका आधारमा सन् २००३–०४ लगातार दुई वर्ष नेपाल विश्वको सबैभन्दा बढी बलपूर्वक बेपत्ता पार्ने मुलुक बन्यो । दस वर्षको सशस्त्र द्वन्द्वकालमा द्वन्द्वका दुवै पक्षबाट हजारौंका सङ्ख्यामा नागरिक बलपूर्वक बेपत्ता पारिए । विशेष गरेर माओवादीको दाङको सैनिक ब्यारेकमा सन् २००१ मा भएको आक्रमणपछि मुलुकमा बेपत्ता पारिनेको सङ्ख्या ह्वात्तै बढेर गयो । त्यस्तै विभिन्न अपराधिक समूहहरूले पनि विभिन्न बहानामा अपहरण गरी मानिस बेपत्ता पार्ने काम गरेका छन् ।
विगतमा भएका यस्ता अपराधलाई कानुनको दायारामा ल्याउन भूतदर्शी कानुन बनेको छैन । बेपत्तासम्बन्धी छानबिन आयोग बन्यो । तर, चार वर्ष त्यसै गुजार्यो । बेपत्तासम्बन्धी छानबिन आयोगले यसबीच ३०९३ उजुरी दर्ता गर्यो । द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क बाहिर आएको छैन ।
बेपत्ता पार्नेसम्बन्धी अपराधबाट सबभन्दा बढी पीडित त बेपत्ता हुने व्यक्ति नै हुन्छ । सामान्यतया विरोधी समाप्त पार्न वा कुनै गुप्त सूचना लिने उद्देश्यले व्यक्तिको अपहरण हुने हुनाले अपहरितमाथि असह्य मानसिक र शारीरिक यातना दिइने हुन्छ । पछि उद्देश्य पूरा भएपछि वा नभएको खण्डमा पनि अपहरणको अपराध ढाकछोप गर्न व्यक्ति बेपत्ता बनाउने कार्य हुन्छ ।
बेपत्ता पारिएका व्यक्तिको हत्या नै भइसक्यो भनी मान्न नसकिए पनि उनीहरू सही अवस्थामा र सुरक्षित होलान् भनी मान्न पनि सम्भव छैन । बेपत्ता पार्ने अपराधबाट बेपत्ता हुने व्यक्तिका परिवार र बालबच्चा पीडित छन् । उनीहरू मानसिक यातना, अनेकखाले सामाजिक विभेद र आर्थिक अभावको समस्या भोग्न बाध्य छन् । कतिपय बेपत्ता मानिसका परिवारका सदस्य बेपत्ता व्यक्ति फर्कने हो वा नफर्कने भन्ने दोधारे चिन्तनले मानसिक रूपमा विक्षिप्त समेत भएका छन् । यी सबै समस्याको समाधान भनेको बेपत्ता पार्नेमा कार्यको गहन अनुसन्धान गरी संलग्नहरूबाटै सत्यतथ्य बाहिर ल्याउन लगाउनु हो । बेपत्ता व्यक्तिको श्वास वा लास अगाडि नल्याएसम्म पीडित परिवारले राहत र न्याय पाउन सक्ने छैनन् ।
– प्रभा दाहाल, काठमाडौं
Leave a Reply