भर्खरै :

यन्ह्यापुनिया जात्रा (इन्द्रजात्रा) सम्बन्धमा सरोकारवालाहरूको बैठक

भक्तपुर, २६ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा भदौ ३०, ३१ र असोज १ गते हुने यन्ह्यापुनि जात्रा (इन्द्रजात्रा) सम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरवनाथ जात्रा व्यवस्थापन सहयोग समितिलगायतका सरोकारवालाहरूको बैठक बिहीबार बस्यो ।
बैठकले जात्रा समयमै शान्तिपूर्णरूपमा सम्पन्न गर्न भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरवनाथ जात्रा व्यवस्थापन सहयोग समितिलगायत सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो तर्पmबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले इन्द्रजात्राको अवसरमा हुने पुलुकिसी, याँमता, मुपात्र, इन्द्रायणी जात्रा, छुमा गणेश जात्रा समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो तर्पmबाट सहयोग गर्नको लागि अनुरोध गर्दै भक्तपुर नगरमा वर्षभरि हुने विभिन्न सांस्कृतिक पर्वलाई जगेर्ना गर्न नगरपालिकाको अगुवाइमा अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
जात्राहरूलाई व्यवस्थित गर्न गुठी संस्थानले कमी कमजोरी सच्याउँदै आगामी दिनहरूमा व्यवस्थित गर्दै लैजानुपर्ने र चाड–पर्व तथा जात्राहरू व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि मुकुण्डो बनाउन समस्या भएकोले नगरपालिकाले अक्षय कोषको व्यवस्था गरिदिएको छ । गुठी संस्थानले आयस्रोतमात्रै खोज्ने होइन जात्रा सञ्चालनको लागि आवश्यक खर्चहरू पनि गर्नुपर्छ ।”
नगरभित्र हुने जात्राहरूमा शान्ति सुरक्षालाई ध्यान दिंदै भक्तपुरलाई अपराधमुक्त बनाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उल्ल्ेख गर्दै उहाँले नगरपालिकाले भक्तपुरमा मनाइने जात्रा र चाडपर्वलाई विशेष प्राथमिकता दिंदै आएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरपालिकाको अगुवाइमा भक्तपुरको कला, संस्कृति र जात्रा संरक्षण भइरहेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सानादेखि ठूला जात्राहरू व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
शान्ति सुरक्षाका लागि प्रशासन संवेदनशील रहेको जानकारी दिँदै उहाँले गुठी संस्थानले जात्रा व्यवस्थापन र सम्पदा संरक्षणको लागि आन्तरिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र सरोकारवालाहरूसँग समन्वय गरेर पारदर्शीढङ्गले कार्यक्रम अगाडि लानुपर्ने बताउनुभयो । उहाँले जात्रा सञ्चालन गर्दा नपुग बजेट माथिल्लो निकायमा माग गरी आपसी सहयोगमा अगाडि बढ्न गुठी संस्थान प्रमुखलाई निर्देशन दिनुभयो ।
गुठी संस्थानका प्रमुख रञ्जनप्रसाद कर्माचार्यले कार्यालयको क्षमताले भ्याएसम्म जात्रा सहयोग समितिहरूलाई सहयोग गर्दै आएको जानकारी दिँदै भक्तपुरमा जात्रा व्यवस्थानको लागि अबका दिनमा समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष कुमार चवालले भैरवनाथको जात्रा व्यवस्थापनका चुनौतीहरूको बारेमा जानकारी दिँदै पुलुकिसी जात्राको समय व्यवस्थापनको लागि सम्बन्धित सबैले समयमै जात्रा सञ्चालनको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष न्हुछेराम भेले, सँला गणेशका हरिराम बुयो, तपालाछि गुठीका ज्ञानेन्द्र मानन्धरले पनि जात्रा समयमै व्यवस्थित गर्न आ–आफ्नो तर्पmबाट सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *