भर्खरै :

संगमको १२ औँ साधारणसभा

भक्तपुर, २८ भदौ । भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले सदस्य सङ्ख्या बढाउने र नाफा कमाउने भन्दा पनि सामूहिक हितलाई ध्यान दिएर समाज विकासमा सहयोगीको भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा खेतीयोग्य जमिनहरुमा भएको बस्ती विकास र नयाँ पुस्ता कृषि पेशाबाट टाढिँदै जानु चिन्ताको विषय हो । नयाँ पुस्तालाई सीपमूलक तालिमलगायत व्यक्तित्व विकासमा सहयोग पुग्ने विभिन्न क्रियाकलाहरु सहकारीले सञ्चालन गर्नु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाको मुख्य आम्दानी भनेको पर्यटन शुल्क रहेको जानकारी दिँँदै प्रमुख प्रजापतिले पर्यटनसँग सम्बन्धित उद्योग र व्यवसायहरु सञ्चालन गर्ने सोच राख्न सहकारीकर्मीहरुलाई सुझाव दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारविरुद्ध नगरपालिका अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको सभपातित्वमा भएको कार्यक्रममा भनपा वडा नं. ४ का वडा अध्यक्ष कुमार चवाल, वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, सहकारी विभागका पूर्व उपरजिष्ट्रार विष्णुप्रसाद घिमिरे, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णगोविन्द लाखा, संस्थाका सल्लाहकार न्हुछेराम भेले, पूर्वअध्यक्ष रामप्रसाद सिबन्जार र राजाराम चवालले पनि बोल्नुभएको थियो ।
सभामा संस्थाको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *