भर्खरै :

प्रभातमा प्रतिभा प्रस्फुटन कार्यक्रम

भक्तपुर, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलले प्रभात प्रतिभा प्रस्फुटन कार्यक्रम ग¥यो ।
विद्यार्थीका प्रतिभा अवलोकन गर्न विद्यालय पुग्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीहरूको क्रियाशीलतामा खुसी व्यक्त गर्नुभयो । विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा संस्कार विद्यालयमा नै सिकाउनुपर्ने र भाषागत व्यवहारिक ज्ञान दिएमा सभ्य र मनोबलयुक्त पुस्ताको विकास हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सांसद प्रेम सुवालले समाजवादी देशमा बालबालिकाको विकासका लागि हरेक दिन बाल दिवसजस्तै कार्यक्रम हुने र बालबालिका देशका भविष्य र आधारस्तम्भ भएको हुँदा बालबालिकाको सम्पूर्ण पक्षको विकास गरी हरेक दिन बालबालिकाको दिनको रूपमा मनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवाल, ख्वप इन्जिनियरका प्राचार्य सुजन माक, अतिरिक्त क्रियाकलाप समितिका संयोजक गौतमप्रसाद लासिवालगायतले शुभकामना व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक के. वी. प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक राजेन्द्र खड्काले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका ६५० जना विद्यार्थीहरूले मञ्चमा विभिन्न सांस्कृतिक विधा टेक्वान्दो, नृत्य, गीत, नाटक, वक्तृत्व, चाइनिज गीत तथा बाल गीत प्रस्तुत गर्नुभयो । विद्यालयमा प्रशिक्षित बाँसुरी र धिमेबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *