भर्खरै :

गोर्खा भर्तीको विरोध गर्दा थ्रेसहोल्ड

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले गोर्खा भर्ती केन्द्र बन्द गर्ने नेमकिपाको प्रस्तावको बदला लिन विदेशीहरुको आदेशमा शासक दलहरुले थ्रेसहोल्डको कानुन पारित गरेको बताउनुभएको छ । पार्टीका विभिन्न स्थानमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा बोल्दै उहाँले गोर्खा भर्ती केन्द्रको नाममा नेपाली युवाहरुलाई भाडा सिपाही बनाएर हत्यारा काम गराउनु गलत भएको धारणा राख्नुभयो ।
‘आफू जस्तै साना देश तथा गरीब देशका जनतामाथि दमन गर्न नेपाली युवाहरुको प्रयोग नहोस् भनेर गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने मुद्दा उठाएका हौं, तर नेपालका शासक दलहरुलाई उपयोग गरेर नेमकिपाजस्तो पार्टीलाई सिध्याउने उद्देश्यले थ्रेसहोल्डको बन्दोबस्त पारित गर्न लगाए’, उहाँले भन्नुभयो ।
चुनावको समयमा शासक दलहरुलाई भारतले चन्दा दिएर पछि नेपालका प्राकृतिक स्रोत साधन र उद्योग कलकारखानाहरु भारतीय पूँजीपति वर्गले आफ्नो पोल्टामा पार्ने गरेको उहाँको भनाई थियो ।
नेपालका शासक वर्गले भारतीय पूँजीलाई निर्बाध भित्रिने दिइरहने हो भने नेपालका आजका धनी व्यापारीहरु सबै नांग्लो व्यापारीमा परिणत हुने उहाँले बताउनुभयो ।
समयमै स्थानीय चुनाव नहुँदा नेपालको लाखौं युवाहरु विदेश गएको भन्दै बिजुक्छेंले यसको लागि शासक दलहरु नै जिम्मेवार भएको धारणा प्रष्ट पार्नुभयो ।
बिजुक्छें भक्तपुरको वडा नं २ र ९ का चियापान कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा सहभागी बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *