भर्खरै :

मगन्तेहरू

मनबहकी लाल
मगन्तेहरू आएका छन्
नवयुगको मसिहा बनेर
मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट
मुक्ति दिलाउन ।
अद्भूत वक्तृत्वकला, लेखन कौशल र
साङगठनिक क्षमता भएका
स्वस्थ सुदर्शन–सुसंस्कृत मगन्तेहरू आएका छन्
हाम्रो गाउँबस्तीहरूमा ।
एसिया–अफ्रिका, ल्याटिन अमेरिकाका
सम्पूर्ण गरिबहरूको बीचमा ।
जसरी छिट्टै उनीहरू विमान र वाहनहरूमा सवार
हुन पुगे
त्यसरी नै आएका छन् हाम्रो बीचमा ।
भीख, दया, समर्पण र भयको संस्कृतिका प्रचारक
पुराना धर्मप्रचारकहरूभन्दा यिनीहरू अलग्ग छन्
यिनीहरूका दाता पनि भिन्नै छन्
आफ्ना पूर्वजहरूका भन्दा ।
अलग्ग छन् यिनीहरू सर्वोदयी याचकहरूभन्दा पनि
जसको गान्धीवादी खल्तीहरूमा परिरहन्थ्यो
(आज पनि परिरहेको छ )
विदेशी अनुदानको नाडा ।
मगन्तेहरू आएका छन्
भिन्न भिन्न टोली बनाएर ।
कतिपयले आफ्ना पश्चिमा वैभवशाली दाताहरूको
महिमाको बखान गर्छन्
कतिपयको दावा छ कि उनीहरूले
लुटेराहरूलाई उल्लु बनाएर
रकम सोहोरेर ल्याएका छन् रे
जनहितका लागि र
जनक्रान्तिको तयारीका लागि ।
कतिपयको भनाइ छ कि
क्रान्तिको तयारीको भारी बोझ
यस देशका गरिब जनतामाथि नपरोस्
त्यसैले उनीहरूले भीखबाट
संशाधन जुटाउने नयाँ तरिका अपनाएका छन् रे ।
कतिपयको भनाइ थियो
क्रान्ति अझै धेरै टाढा छ
यसकारण उनीहरू तबसम्म केही सुधार भए पनि
गरी देखाउन चाहन्छन्
हेरचाह गर्न चाहन्छन्
दलितहरू, शोषित र वञ्चितहरूको ।
जीवन एक सीमासम्म
र शुल्कको रूपमा, बिना कुनै नोकरशाह
बन्ने पाप नगरिकन
आफ्नै लागि पनि केही जोड्न चाहन्छन्
घर, गाडीलगायत केही स–साना चिजहरू ।
र उनीहरू जब आई नै सकेका छन्
जनताको लागि यस नर्कजस्तो देशमा
त के यति चाहना राख्नु पनि अनुचित हो
कि उनका छोराछोरीले अमेरिकामा शिक्षा पाऊन् ?
कतिपयको भनाइ थियो
अशिक्षा नै हाम्रो दुर्भाग्यको मूल हो
अतः उनीहरू हामीलाई शिक्षित गर्न आएका रे
स्वास्थ्य र परिवार नियोजनका बारेमा बताउन आएका रे ।
कतिपयको भनाइ थियो कि
हामी सहकारी संस्था बनाएर उत्पादन गरौँ
हाम्रा सबै समस्या समाधान हुनेछन्
कतिपयको भनाइ थियो कि
जो ट्रेड युनियनहरूले गर्नसकेनन्
उनीहरूले गरेर देखाउने छन् रे
राज्य सत्ता माग्नु त चन्द्रमा माग्नु जत्तिकै हो रे
उनीहरू हामीलाई सुका–मोहरका लागि
नयाँ सिराबाट लड्न सिकाउने रे ।
कतिपयले भने कि दोष
अड्डा–अदालत कानुन र सरकारको होइन
हाम्रो पछौटेपनको हो रे
अतःउनीहरू हामीलाई हाम्रा अधिकारहरू
संविधान र श्रम कानुनहरूको बारेमा पढाउने रे ।
हामी त्यसपछि जान्ने छौँ कि
हामीले सरकारसित के माग्नुपर्छ
तब हामी माग्नेछौँ एकै स्वरमा
र हाम्रो याचनाको गुञ्जनदेखि
जागेर, डराएर
सरकारले हामीलाई ती सबै चिज दिनेछन् रे
जुन हामी चाहन्छौँ ।
केही मगन्तेहरूले हामीलाई हप्काए
कि यदि सरकार आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन् भने
हामी कि उसकै मुख ताकेर किन बसेका छौ ?
यदि सरकार रोजगारी दिँदैन भने
हामी आफै किन गर्दैनौँ केही काम धाम ?
ती मगन्तेहरू भन्छन् कि
यदि सरकार देशका सबै उद्योगहरू
पुँजीपतिहरूलाई दिइरहेको छ भने
पुँजीपतिहरू हामीलाई रोजगारी दिइरहेका छैनन् भने
त हामी स्वयम् मिलेर किन
सुरु गर्दैनौँ नयाँ उद्यम
र फेरि पनि काम चल्दैन भने
किन कम गर्दैनौँ हाम्रा आफ्ना आवश्यकताहरू
चरम पर्यावरणवादी बनेर किन गइरहेका
छैनौँ प्रकृतिको काखमा निवास गर्न ?
मगन्तेहरूले बेरोजगार युवाहरूसित
भने, “तिमीहरू हामीकहाँ आऊ
हामी तिमीहरूलाई जनताको सेवा गर्न सिकाउँछौँ
तलब त कम नै दिन्छौँ
तर बेरोजगारी भत्ताभन्दा राम्रै हुनेछ ।
र त्यसको क्षतिपूर्तिका लागि
‘जनताको मानिस’ को ओहदा दिलाउनेछौँ
स्थायी नोकरी नभए पनि
बिना कुनै जोखिम मोलेरै
क्रान्तिकारी बानइदिन्छौँ ।
बाध्यतावश गरिएको त्यागको
उचित मोल दिलाइदिन्छौँ ।”
“निवृत्त, निराश, थाकिसकेका क्रान्तिकारीहरू
आऊ, हामी तिमीलाई स्वर्गको बाटो देखाउनेछौँ ।
वामपन्थी विद्वानहरू आऊ
आऊ सवाल्टर्नहरू पनि
आऊ सबै उत्तर माक्र्सवादीहरू
उत्तर नारीवादीहरूलगायत
आऊ आफ्ना ज्ञान र अनुभवले
एनजीओ दर्शनका नयाँ नयाँ अध्याय
र शास्त्रहरूको रचना गरौँ ।”
आह्वान गरे मगन्तेहरूले
र जुटे दाता एजेन्सीहरूका लागि
नयाँ प्रतिवेदन तयार गर्नमा ।
मगन्तेहरूले भिखलाई नयाँ गरिमा दिए
भू–मण्डलीकरणको दौरमा
भिखलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाए ।
ती मगन्तेहरूले
क्रान्ति र परिवर्तनको नयाँ
परिभाषाहरू रचे ।
मगन्तेहरूले भने,
बिर्सिदेऊ कपडाको टुक्रा र कुर्ताहरूको गीत
ती पुराना भइसकेका छन् ।
हामी मागेर ल्याउनेछौँ तिम्रा लागि
नयाँ कपडाका टुक्रा
तिमीहरू त्यसलाई जम्मा गर्नु,
त्यसलाई जोडेर एक दिन तयार हुनेछ
एउटा सिङ्गो कुर्ता ।
भोकले तड्पेर मर्नेछौ
यदि सिङ्गै रोटी खोज्यौ भने
हामी तिमीहरूका लागि मागेर ल्याउनेछौँ
रोटीका स–साना टुक्रा
तिमीहरू त्यसलाई खाँदै जाऊ
एकदिन तिमीहरूको पेटमा हुनेछ
एउटा सिङ्गै रोटी ।
नगर कुरा सारा कारखाना र उद्योगका
कोइला, खनिज र
देशको शासन सत्ता कब्जाको
यस्ता कोशिशहरू असफल भइसकेका छन् ।
धैर्य भएर म सोध्छु
“आखिर कहिलेसम्म चल्नेछ यसप्रकार”
उनी चोर औँला उठाएर मलाई बीचैमा रोक्छन् र भन्छन्,
“म एक अनुरोधपत्र लेखिरहेको छु ।”
फेरि उनी एक प्रतिवेदन लेख्छन्,
फेरि उनी चिन्तन गर्छन्
र फेरि भ्रमण गर्न कुनै अर्कै
दिशामा गइदिन्छन् ।
हामी पाउँछौँ
उनीहरू मगन्ते होइनन्
बरु अपहरणकर्ता हुन्
परिवर्तनका विचारहरूका,
सपना र आशाहरूका
आत्माका तातो श्वासको विरोधमा
नितान्त सक्रिय शीतका लहर हुन्
यी मगन्तेहरू ।
(एनजीओ र एनजीओकर्मीहरूप्रति व्यङ्ग्य गर्दै लेखिएको प्रस्तुत कविता राहुल फाउन्डेशनद्वारा प्रकाशित एनजीओ एक खतरनाक साम्राज्यवादी कुचक्र, पुस्तकबाट हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरिएको हो – सम्पादक)
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *