भर्खरै :

सहिद राजकुमार सुवाल पुस्तकालयमा पुरस्कार वितरण

भक्तपुर, १८ असोज । सहिद राजकुमार स्मृति पुस्तकालयको आयोजनामा शनिबार विजया दशमी तथा दीपावली र ने.सं. ११४० को उपलक्ष्यमा भक्तपुर नगरपालिकाका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि बासुकलाले सहिद राजकुमार सुवालले तत्कालीन निरङ्कुस पञ्चायती व्यवस्था ढाल्नका लागि पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलनमा छातीमा गोली थापेर देशमा आमूल परिवर्तनका लागि शहादत्त प्राप्त गर्नुभएको विचार व्यक्त गर्नुभयो ।
उहाँले सहिदको सपना पूरा गर्न आजका युवाहरूले राजनीतिकरूपमा सचेत भई समाजवादी व्यवस्थाका निम्ति लागिपर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले यस वर्ष ३७ जनालाई उच्च शिक्षाको अवसर दिन शैक्षिक ऋण, सयाँैलाई छात्रवृति प्रदान गरेको र आगामी दिनहरूमा पनि भक्तपुर नगरपालिकाले विकास निर्माणका कार्यहरू सँगसँगै असल नागरिक तयार गर्ने उद्देश्यअनुसार खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना रहेको धारणा व्यक्त गर्नुभयो ।
निर्वाचित २ वडा सदस्य रत्नकाजी नायोभारीले छोराछोरीहरूले राम्ररी अध्ययनप्रति चासो दिएमा आमाबुबाको लागि थप हौसला मिल्ने विचार राख्नुभयो ।
पुस्तकालयका पूर्वअध्यक्ष एवं ३९ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका उपाध्यक्ष गणेशप्रसाद सुवालले दसैँको समयमा बजारमा म्याद नाघेका खाद्य वस्तुहरूमा नयाँ स्टीकर टाँसेर बिक्रीवितरण गरिरहेकोले सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक विचारको मन्थन गर्ने थलो भएकोले यसको भव्य सफलताको निम्ति सर्वसाधारणलाई उहाँले उपस्थितिको लागि अनुरोध गर्नुभएको थियो ।
पुस्तकालयका सदस्य शिवकृष्ण कोजूले पनि बोल्नुभएको उक्त कार्यक्रम पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बासुकलाले असोज ४ गते पुस्तकालयको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगितामा समूह १ (कक्षा २ देखि ५ सम्म) मा प्रथम सुवान सुवाल, द्वितीय सर्भेस दिदीया, तृतीय कृष्ण सुवाल र सान्त्वना हुने रिभा कोजू तथा समूह २ अन्तर्गत प्रथम श्रीजल सुवाल, द्वितीय प्रमित कोजू, तृतीय एरिस सुवाल र सान्त्वना स्थान हासिल गर्ने सुमित सितिखुलाई मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *