भर्खरै :

दसैँ बिदालाई अध्ययन र खेलकुदमा लगाउन जोड

भक्तपुर, १९ असोज । “जग बलियो भए घर बलियो हुन्छ भनेजस्तै नयाँ पुस्ताको लागि शिशु कक्षादेखि माविसम्मको शिक्षा गुणस्तरीय हुनु आवश्यक छ । यसले विश्वविद्यालय शिक्षा राम्रो हुनेछ । प्रभात इङ्गलिस माविले विद्यालय शिक्षा गुणस्तरीय र वैज्ञानिक बनाउन कोशिश गर्दै छ । नतिजाले विद्यालयलाई सफलता पनि दिएको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले प्रभात पूर्वविद्यार्थीहरूको आयोजनामा आइतबार भएको फुटसल प्रतियोगिताका विजयी विद्यार्थीहरूको पुरस्कार वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
दसैँ बिदामा विद्यालयका पूर्वविद्यार्थीहरूको फुटसल प्रतियोगिता आयोजना सामयिक हो । संस्कृति मनाउने लामो बिदामा नयाँ पुस्तक अध्ययन र खेलकुद गतिविधि गर्नु नयाँ पुस्ताको उत्साहको विषय हो, उहाँले भन्नुभयो ।
एक चिकित्सकले दसैँमा मासु, मादकपदार्थ धेरै खाने र तयारी खानेकुरा (जङ्क फूड) खानेहरू दसैँलगत्तै ग्यास्ट्राइटिसलगायतको बिरामी हुने, तत्पश्चात् जनस्वास्थ्य र अस्पतालमा बिरामी बढ्ने बताएको स्मरण गराउँदै सांसद सुवालले भन्नुभयो, “जनावरको रौँ पचाउने इन्जाइम मानिससँग उत्पादन नहुने, छालामा रौँ गहिराइसम्म पुग्ने हुँदा छाला खान नहुने, नङ, पखेटा, पुच्छर आदि खान नहुने चिकित्सकहरूको सुझाव छ । यसकारण नयाँ पुस्ताले सन्तुलित आहारालाई जोड दिनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “काश्मीरबारे भारत, पाकिस्तान र चीनबीच विवाद छ । गएको अगष्ट ५ का दिन भारतले काश्मीरमाथि हस्तक्षेप गरी त्यहाँको विशेषाधिकार हनन गरेपछि मामिला चर्किएको छ । क्रिकेटका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवम् पाकिस्तानका राष्ट्रपति इमरान खानले संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा काश्मीरमाथि भारतको हस्तक्षेपविरुद्ध एउटा बन्दुक र गोली रहेसम्म लड्ने घोषणा गरे । चीनले पनि काश्मीरमाथि भारतीय हस्तक्षेपकारी भूमिकाको कारण दक्षिण एसियाको आकाशमा युद्धको बादल मडारिरहेको उल्लेख ग¥यो । युद्ध भए नेपाल पनि प्रभावित हुनेछ । नेपाली नयाँ पुस्ताले दक्षिण एसियाको राजनीतिबारे जानकारीमा राख्नु आवश्यक छ र भारतीय विस्तारवादको विरोध गर्नुपर्दछ ।”
सांसद सुवालले भन्नुभयो, “संरा अमेरिकी सरकारले नेपालले दिने रु. ५५ अर्ब सहयोगमा प्रजग कोरियाविरुद्धको नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र चीनबाट भागेर आएका तिब्बती शरणार्थीहरूलाई नेपाल भएर भारत आश्रयमा बसेका दलाइ लामासम्म पुग्ने बाटो दिनुपर्ने दुई वटा सर्त राख्यो । अमेरिकी सरकारको यो सर्त नेपाललाई चीन र प्रजग कोरियाविरुद्ध भिडाउने हो । अमेरिकी सरकारले नेपाललाई दिने उक्त सहयोग हिन्द–प्रशान्त सैन्य गठबन्धनको बजेट भएको समाचार छ ।
असंलग्न राष्ट्रको सिद्धान्तअनुसार नेपाल कुनै सैन्य गठबन्धनमा संलग्न हुनुहुँदैन । सहयोगको लागि कुनै देशको सर्तको पछि लाग्नु नेपालको हितमा हुँदैन । यसकारण नेपाल मजदुर किसान पार्टीले उक्त सर्तसहितको अमेरिकी सहयोगको विरोध गर्दै छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले दसैँको नाममा जुवातास जस्ता विकृतिबाट सजग हुन आग्रह गर्नुभयो ।
उहाँले खेलकुद गतिविधिले युवालाई शारीरिकरूपमा स्वस्थ राख्नुका साथै देश रजनताको सेवामा लाग्न उत्साहित र अनुशासित बनाउने बताउनुभयो ।
समापन कार्यक्रममा प्रभात ईं से. स्कूलका प्रमुख कार्यकारी कान्छा बासुकला, प्रधानाध्यापक केबी प्रजापति, प्रभात भूतपूर्व विद्यार्थीं सङ्घ (पेसा) का अध्यक्ष निर्जन दुवाललगायतले बोल्नुभएको थियो ।
पन्ध्र टोलीले सहभागिता जनाएको उक्त प्रतियोगितामा पुरुषतर्फ एसएलसी समूह २०६५ ले प्रथम स्थान हासिल ग¥यो । रोशन आचार्यको नेतृत्वको विजेता टोलीले २०७२ को एसएलसी समूहलाई ३–१ को अन्तरमा हराएको थियो ।
पेसा कपअन्तर्गत यो वर्ष तीन वटा महिला टोलीले सहभागिता जनाएको थियो । महिलातर्फ तृष्णा लाखे नेतृत्वको एसएलसी समूह २०६९ ले जीत हासिल गरेको थियो ।
प्रतियोगितामा प्रशक व्यान्जू उत्कृष्ट पुरुष खेलाडी, सुमित्रा लाखे उत्कृष्ट महिला खेलाडी, उच्च गोलकर्ता रोहन प्रजापति र उत्कृष्ट गोलरक्षकमा नवीन सुवाल पुरस्कृत हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *