खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– प्रतिभा महर्जन, काठमाडौँ
छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणलाई लक्षित पारेर काठमाडौँमा त्रिभुवन विमानस्थलदेखि सोल्टी होटल कालिमाटीसम्म पुग्ने सडकको दुईतिर नक्कली नै भए पनि झकिझकाउ विकास देखिएको छ । सडक चिल्लो हुनेगरी कालोपत्रे गरियो जुन राम्रै हो । विमानस्थलभित्र, तीनकुनेमा र सडकको डिभाइडरमा ढक्कमक्क फूल फुल्ने गरी बगैँचा निर्माण गरियो । फोहोर र अपूरा निर्माण ढाक्न विभिन्न चित्रसहितका फ्लेक्सले ढाकियो । काठमाडौँको ती क्षेत्र हेर्दा ‘आहा हाम्रो काठमाडौँ’ भनी टिप्पणी गर्नेहरू पनि भेटिए । तर अधिकांश नेपाली जनताको भावना र चाहना भनेको यस्तो नक्कली विकास होइन । विकास गर्ने नै हो भने सक्क्ली र दिगो विकास हुनुपर्छ भन्ने हो । शनिबार र आइतबार गरी चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फर्केपछि केही दिनअघि लगाइएका ती फूलबारी र बोटविरुवा जोगाउन नेपाल सरकार, काठमाडौँ महानगरपालिका कसैले पनि ध्यान दिने छैनन् । अहिले नै ओइलाउन थालेका ती बोटविरुवा सुकेर जानेछन् एक थोपा पानी कसैले हाल्ने छैनन् । सके ती फूलका बोट, गमला र रुखहरू आफ्नो निजी बगैँचा सजाउनेहरूले उठाएरसमेत लानेछन् । एकहप्ताभित्रै काठमाडौँ कुरुपको कुरुप अवस्थामै फर्कने छ । विदेशी राष्ट्र प्रमुख आउँदाको सजावट खर्च अरबौंमा पुगेको हुनुपर्छ । यदि महानगरपालिकाले केही करोड खर्चेर स्थायीरूपमा हरियाली विकासमा ध्यान दिएको खण्डमा यस्ता अल्पकालीन र नक्कली विकास जरुरत नै हुने थिएन ।
Leave a Reply