भर्खरै :

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

प्रकाश सिलवाल/ज्ञानेन्द्र न्यौपाने
काठमाडौँ, २५ असोज । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल – चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिँगो देशले केरुङ–काठमाडौँ रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ । काठमाडौँबाट पोखरा–लुम्बिनी हुँदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष्य छ ।
रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने निश्चित छ । मल्लकालमा सुरु भएको रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी पर्छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक छ । चीनको ‘बेल्ट एन्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले प्रत्यक्ष लाभ लिनसक्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालनलगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो । केरुङ–काठमाडौँ रेलमार्ग बन्नुपर्ने कुनै पनि दलको आपत्ति छैन तर यसको सम्पूर्ण लगानी ऋणमा नेपालले गरेमा त्यसको भार थेग्न सक्छ कि सक्दैन भन्ने बहस जारी छ ।
भूकम्पपछि यो नाका व्यवस्थित नभए पनि हाल जेनतेन चलेको छ । यस्तो स्थितिमा वार्षिक रु. आठ अर्ब राजस्व सङ्कलन यो नाकाले गरेको छ । हाल गल्छी बेत्रावती स्याफ्रुबेँसी रसुवागढीको १६ किलोमिटरको नयाँ बाटोमा ११ वटा नयाँ पुल बन्दै छन् बेत्रावती धुन्चे हुँदै रसुवागढी जाने पुरानो बाटो नियमित छैन । एकीकृत भन्सार निर्माणका क्रममा छ भने सुक्खा बन्दरगाह निर्माणका लागि मुअब्जा वितरण सुरु भएको छ ।
चीनको ‘नेसनल रेल्वे अथोरिटीले’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मंसिर २४ गते नेपाल सरकारलाई बुझाएको थियो । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनको आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच छलफल हुँदै छ । चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ ।
केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु. तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । रसुवागढी नाकाबाट हाल स्याउ, अदुवा, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, बच्चाका खेलौना, विद्युत् तथा सिङ्गारका सामग्री आदि नेपाल आयात तथा नेपालबाट कारागारमा निर्मित बुनेका मुढा, चाउचाउ, बिस्कुट, कृषि उपज आदि निर्यात हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *