सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
क्रिश्चिना
प्लेटो र ‘गणतन्त्र’, थोमस मोर र ‘कल्पनालोक’, सेन्टसाइमन, रोबर्ट ओबेन, फ्युरेजस्ता अनेकौँ साम्यवादी र समाजवादी विचारक एवम् चिन्तकहरूपछि मात्रै माक्र्सवाद र वैज्ञानिक समाजवादको प्रादुर्भाव भयो । कार्लमाक्र्स र एँगेल्सहरूले माक्र्सवादलाई एक वैज्ञानिक र दार्शनिक व्याख्या दिए । त्यसपछि राजनीतिशास्त्र, समाजविज्ञान, अर्थशास्त्र र जीवनका अनेक क्षेत्रमा माक्र्सवादी आँखाले व्याख्या र विश्लेषण अगाडि बढ्यो ।
तर, सत्य के हो भने केही बुद्धिजीवी र दार्शनिकहरूले गरेको माक्र्सवादको अध्ययन र त्यसको जानकारीले मात्रै समाजमा आमूल परिर्वतन हुने थिएन । डार्विनको खोजलाई जसरी कुनै बुद्धिजीवीले स्वीकार गर्नासाथै ऊ आफँै डार्विन हुँदैन त्यस्तै माक्र्सको दार्शनिक पक्ष, आर्थिक दृष्टिकोण, समाज विकासप्रतिको उनको ठम्याइ र राज्यसत्ताबारे माक्र्सको निचोड सम्बन्धमा कक्षा लिने प्राध्यापक आफै कार्लमाक्र्सको साम्यवादी र वैज्ञानिक समाजको राजनैतिक कार्यकर्ता हुँदैनन् ।
माक्र्सवादको विचार पक्षबाट प्रभावित हुनु एउटा विषय हो भने माक्र्सवादले अगुवाइ गरेका राजनैतिक पार्टीको कार्यक्रम तथा क्रान्तिकारी गतिविधिमा आफूलाई जीवनभर समर्पित गर्नु भिन्न विषय हो । लेनिन र स्तालिनले धेरै विषयमा औपचारिक एमए र विद्यावारिधिका प्रमाणपत्रहरू सङ्ग्रह गरेका थिएनन् । माक्र्स र एँगेल्सले राजनीतिक सङ्घर्षमा प्रवेशपश्चात् विश्वविद्यालयको प्रमाणपत्र जोड्नेमा आफूलाई समर्पित गर्ने उद्देश्य कहिले थिएन । माक्र्सवादको अर्थ माक्र्सको दर्शन र विचार पक्षमात्रै होइन बरु उनको जीवनको प्राथमिकता र समर्पण पनि अत्यन्त महत्वपूर्ण विषय हो ।
यसको अर्थ हो, माक्र्सवादले व्यवहारमा कार्यान्वयन गर्ने व्यक्ति र समूूूूह नै सदा माक्र्सवादी वा क्रान्तिकारी माक्र्सवादी हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कार्लमाक्र्सकै शिष्य वर्न स्टिन (पहिलो संशोधनवादी) ले माक्र्सवादलाई बङ्ग्याएर माक्र्सवादकै विरोधमा गए । उनको विरोधको खण्डन रुस र जर्मनीकै माक्र्सवादीहरूले गरे । रुसमा माक्र्सवादका प्रचारक प्लेखानोभ (पहिलो रुसी माक्र्सवादी) माक्र्सवादलाई अवसरवाद र संशोधनवादमा खसाल्न खोज्दै गर्दा सन् १९१७ को अक्टोबर सर्वहारा क्रान्तिको आँधीबेहरीले उनलाई नै इतिहासको फोहोर फाल्ने खाडलमा फाल्यो । काउत्स्कीदेखि खु्रश्चेभ र गोर्भाचोभसम्मका सबै विश्वासघातीहरूलाई माक्र्सवाद र लेनिनवादको धारबाट पाखा लगाइदिए ।
नेपालको सन्दर्भमा माक्र्सवाद
नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिको परिस्थिति परिपक्व भइसकेको छैन । क्रान्ति आफैँ हुन्छ भन्ने खालका तर्क अगाडि सार्ने डा. माझी र उनका गुमास्ताहरू निर्वाचनबाटै समाजवाद आउँछ भन्ने विश्वास बोकेर सत्तामा पुगेका मनमोहन अधिकारी, जनताको बहुदलीय जनवाद (जबज) नै समाजवादको बाटो हो भन्ने मदन भण्डारी र उनका शिष्यहरू सबै नेपालका वर्नस्टिन र काउत्स्कीहरू हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा निर्वाचनमार्फत सत्ता कब्जा गर्ने र एकएक पाइला गरेरै समाजवाद र ‘समृद्धि’ मा पुगिन्छ भन्ने धारणा नै संशोधनवाद हो । नेपाली संशोधनवादीहरूले सोचेकै कुरा सही थियो भने मनमोहन, माधव नेपाल, झलनाथ खनाल र केपी ओलीहरू बारम्बार सरकारको नेतृत्व गर्दा पनि समाजमा आमूल परिवर्तनको कुरा त परै राखौँ, पुँजीवादी विकृतिमा झन् मलजल भइरह्यो । विदेशी गैरसरकारी संस्थाहरूको छेलोखेलो, जिम्मेवार पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरूको पुँजीवादी दृष्टिकोण र भ्रष्ट जीवनले नेपाली काङ्ग्रेस, राप्रपा र मधेसवादी दलकै नक्कल नेकपाका नेता र कार्यकर्ताले गरेको देखियो । भारतीय ‘ट्रोजन हर्स’ एमाओवादी र त्रोत्स्कीवादी बाबुराम भट्टराईबारे केही भन्नै परेन ! नेपालको शासक कम्युनिस्टहरूले संसारसामु नकारात्मक कम्युनिस्टहरूको गोठ नै साबित गरिदिए ।
अवसरवाद
नेपालको कम्युनिस्ट आन्दोलनमा व्यवस्थित सैद्धान्तिक आलोचना नगरी, व्यक्तिगत लाञ्छना, जातीय घृणा र बडा राष्ट्र अहङ्कारवादी दृष्टिकोणकै कारण सैद्धान्तिक सङ्घर्ष अगाडि बढेन । सन् १९६२ मा साम्राज्यवादीहरूको षड्यन्त्रको कारण चीनमाथि भारतीय विस्तारवादको विरोधमा सङ्घर्ष गर्नुको सट्टा डाङ्गेजस्ता संशोधनवादीले पुँजीवादी प्रधानमन्त्री नेहरूको समर्थन र समाजवादी चीनको विरोध गरेका थिए । त्यो विरोध वक्तव्यमात्र थिएन, बरु नेहरू वा पुँजीवादी व्यवस्थाकै पक्षमा समाजवादको विरोधमा सैद्धान्तिक युद्ध थियो । त्यसले भारतीय कम्युनिस्ट आन्दोलनमा ठूलो विभाजन ल्यायो र झन्डै ६० वर्षसम्म पनि भारतीय कम्युनिस्ट आन्दोलनले आफूलाई सम्भाल्न सकेन र आज भारतमा तेस्रो पुस्ता देखिँदै छ । समयमा सैद्धान्तिक सङ्घर्ष नगर्दा त्यसको नकारात्मक परिणाम दक्षिण एसियाको कम्युनिस्ट आन्दोलनमा समेत देखाप¥यो ।
भारतमा जस्तै पाकिस्तान र बङ्गलादेशमा कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने स्थितिको बताइन्छ भने श्रीलङ्का र नेपाल अर्को उदाहरण हो । सन् १९६२ मा भारतको कम्युनिस्ट आन्दोलनले उचित नीति लिएन, भारतीय कम्युनिस्ट आन्दोलन आज पहिलेजस्तै सशक्तको ठाउँमा हतास देखियो । त्यसको असर इन्दिरा गान्धीको उदयमा सहयोग भयो । सन् २००८ सम्ममा भुटान र सन् २०१० सम्ममा नेपाल सिक्किमजस्तै भारतमा विलय गर्ने हल्ला चलेको थियो । पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, सिक्किमका घटनाहरू घटे तथा नेपालको कम्युनिस्ट आन्दोलनलाई तत्काल सुधार्न नसकिने गरी अवसरवाद र चरित्र निर्माणको विकृतिमा पु¥याइयो ।
डा.माझी गुटमा दोस्रो महाअधिवेशनको केन्द्रीय समितिमा बहुमत थियो । तर, त्यो बहुमत सङ्घर्षको पक्षमा थिएन । पार्टी नीति थियो– ‘न सङ्घर्ष, न समर्थन’ सारमा पञ्चायतको न समर्थन न विरोधको नीति थियो । केन्द्रीय समितिका नेता र कार्यकर्ताहरूमध्ये अधिकांश मस्को पुग्थे नेपालमा पनि ‘समाजवाद आएको अनुभव गर्थे, छोराछोरीलाई आ–आफ्नो चरित्र बनाउने वा ‘अध्ययनको पार उतार्ने’ योजनामा लगाए । हजारौँ हजार नेता र कार्यकर्ताका छोरा–छोरीहरू डाक्टर, इन्जिनियर र विशेषज्ञ आदि भए, जागीर खाए तर कम्युनिस्ट कहिले बनेनन् बरु पञ्चायत, मधेसवादी र पैसा कमाउने, अरबपति बन्ने उपायमा लागी करोडपति र अरबपति बने ।
चरित्र निर्माण
राजनीतिले युवाहरूको जीवन बर्बाद हुन्छ भन्ने प्रचारहरू गर्न तिनीहरू कहिले थाकेनन् । यसकारण साधारण मजदुर र किसानका छोराछोरीहरूसमेत आज बढ्दै गएको पढ्ने सहुलियतबाट उच्च शिक्षा हासिल गर्ने अवसरले क्रान्ति र आमूल परिवर्तनभन्दा २–४ वटा विषयमा कसरी स्नातकोत्तर बन्ने वा एक दुई विषयका प्रमाणपत्रहरू विद्यावारिधि गरी समाजमा धाक र पुँजीवादी प्रतिष्ठा कमाउने, आर्थिकरूपले सम्पन्न हुने भन्नेजस्ता मानसिकतामा झन्झन् तल झर्दै गएको देखियो ।
यसको परिणाम जसरी नि सरकारी नोकरी गर्ने, व्यापार एवम् ठेकेदारीमा लाग्ने, नेपालमै नफर्कने गरी विदेश गई आनन्दको जीवन व्यतित गर्ने, क्रान्ति र आमूल परिवर्तनको कुरा नगरी देशभक्तहरूको समेत खोइरो खन्ने र निन्दा गर्ने प्रवृत्ति देखिँदै छन् । निर्वाचनमा उठ्न एमए र पीएचडी आवश्यक ठान्नेहरू त्यसबेला निराश हुनेछन्, जुनबेला देशका एक चर्चित बुद्धिजीवी हृषिकेश शाहले राजधानी काठमाडौँको संसदीय निर्वाचनमा मुस्किलले २–३ सय मतमात्रै पाएको थाहा पाउनेछन् ।
अध्ययन र विश्वविद्यालयको प्रमाणपत्रले पार्टी र क्रान्तिलाई सहयोग पु¥याउँछ तर अवसरले व्यक्ति र पार्टीलाई समेत क्षति पु¥याएका धेरै उदाहरणहरू छन् । चारजना सहिदहरूको हत्यापछि पुष्पलाल र हिक्मतसिंह प्रवासमा पुगे । कम्युनिस्ट बने । २०१७ साल पुस १ गतेको राजाको कदमले राजनैतिक दलहरू प्रतिबन्धित भए । पीएल र हिक्मत सिंह पनि बनारस पुगे ।
पार्टीमा पनि अनेक अवसरवादी र पार्टीमा घुसेका शत्रुका एजेन्टहरूले अनेक छलछाम र गुटबन्दीमा कतिलाई निराश बनाए र कतिलाई आ–आफ्नो बाटो लाग्ने छुट पनि दिए । मनमोहन जेलमै थिए, भरतमोहन र कमल कोइरालाहरू विराटनगरमा वकालत पेशामा लागे, शुक्रबारसम्म अञ्चलाधीश अनि अदालतमा वकालत र शनिबार आ–आफ्नो कागतको हेरचाहमा लागे ! पुष्पलालजी विघटित संसद्को पुनः स्थापनाको नारा दिएर काङ्ग्रेसलाई आन्दोलनमा ल्याउन चाहन्थे । मोहनविक्रम र निर्मल लामाहरूले आन्दोलन नै गर्ने हो भने संविधानसभाको निम्ति गर्ने हो, काङ्ग्रेसलाई किन पुनः सत्तामा ल्याउन ज्यान फाल्ने भने उनीहरू नेपाल आउँदा पक्राउ परी जेल गए । तुल्सीलालजी ‘सर्वसत्ता सम्पन्न संसद्को निम्ति सङ्घर्ष गर्ने’ नारामा थिए । यसको अर्थ सङ्घर्ष नहुने लक्षण देखियो । बहुमत केन्द्रीय सदस्यहरू डा. माझीको पक्षमा थिए ।
बाँकी भएका नेताहरू आ–आफ्नो पेशा, जेल, अध्ययन र घर हेर्नेमा लागे । सङ्घर्ष २–४ जना नेता र कार्यकर्ताबाट हुने सम्भावना टाढा भइसकेको थियो ।
हिक्मत सिंहले बनारसमै अङ्ग्रेजीमा एमए गरे । इतिहासमा एमए गरेकी एक भारतीय महिलासँग विवाह गरेर उनी काठमाडौँको एक कलेजमा प्राध्यापक बने । मोहनविक्रमले जेलबाट छुटेर मद्रास पुगी एमए गरे । केही विद्यार्थी कार्यकर्ता सङ्घर्ष गर्नकै लागि कलेजको पढाइमा पुगे ।
‘फकीर बन्न राजनीति गर्ने होइन’ भन्ने भावना योजनाबद्ध ढङ्गले अगाडि ल्याइयो । यसको पृष्ठभूमि र परिणाम सबैलाई थाहै छ । केही मानिसहरू ‘एमए नगरीकन राजनीतिमा लाग्नु हुन्न’ भन्छन् । त्यसको अर्थ हो, प्रजातान्त्रिक आन्दोलन सफल हुँदा साधारण कार्यकर्ता परित्यक्त र चानचुन देखिए । त्यसकारण पहिले आ–आफ्नो चरित्र निर्माण गर्नुपर्छ अनिमात्रै पद ओगट्न पाइन्छ भन्ने प्रचार काङ्ग्रेसभित्र भयो । शासनमा दलका नेताहरूको निम्ति अब आन्दोलन नहोस् भन्ने मनसाय उनीहरूले पाल्न थाले ।
राणाशासन समाप्त हुँदा केही हजार र लाख गुमाएकाहरूले करोड–करोड कमाए । प्रजातान्त्रिक आन्दोलनमा कति केन्द्रीय नेता आउनै मानेका थिएनन् किनभने अन्य पार्टीका नेताहरूसँग तिनीहरूको भागबन्डाको मोलमोलाइ सकिएकै थिएन ।
निर्वाचनकै बेला आफू फकीर हुन नपर्ने स्थितिमा पुगे र अहिले साँच्चै सत्तामा पुगे । यही कुरा हिजो विद्यार्थीकालमा कुनै एकजना विद्यार्थीले “मैले के पाउने होला, दाइ ?” भनी सोधेको भए जवाफ दिने थिएँ, जिते हाम्रो हातमा सत्ता आउनेछ, सत्ता भनेको स्वर्ग हो र सहिद हुनु पनि ‘स्वर्ग’ पुग्नु नै हो ।
यसरी कम्युनिस्ट भन्ने नेताहरूले काङ्ग्रेसँग मेलमिलाप गरेर पञ्चायतमात्र ढालेनन् बरु प्रजातन्त्रमा कमाउनुपर्छ भन्ने मन्त्रहरू पनि सिके । अब नेपालमा कम्युनिस्ट आउलान् भनी डराउने विदेशीहरूलाई काङ्ग्रेसले भन्यो होला, “नआत्तिनुस् मित्र, हामीभन्दा चर्का स्वार्थी र भ्रष्टहरू बनिसके नेपालका शासक कम्युनिस्टहरू !”
केहीले सोचेका होलान्, आजका ठूला–ठालूहरू केही वर्षमा बित्नेछन्, रक्सी खाएर, एड्स रोग लागेर अनि भ्रष्टाचार र अपराधमा फस्नेछन् । त्यसपछि यी डाँडाकाँडा, दरबार र सबै व्यापार मेरै हुनेछन् । तर, समय झन् बलियो छ । अरूको डाहा गर्ने, अरूको सेवा नगर्ने व्यक्तिहरू ठेसै लागेर वा सानो रोगले मरेका कैयौँ उदाहरण छ । दरबारका ठूल–ठूला ढोका लगाउँदा पनि ‘यमराज’ दरबारै पुग्याछन् त ! के नयाँ राजाहरूकहाँ ‘यमराज’ पुग्दैनन् त !? तिनीहरूको प्रमाणपत्र ‘यमराज’ले हेर्न छोड्लान् ?
Leave a Reply