महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
हेटौँडा, १९ कार्तिक । बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उहाँले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधँै रिक्सा चढ्न तलबले धान्दैन । उसो त उहाँले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेट्नुभएको थियो । दाजुले सँगै जाऔँ नभन्नुभएको पनि होइन तर उहाँलाई आजभोलि कसैको मोटरसाइकल र गाडीमा चढेर कार्यालय वा कार्यक्रममा जान मन लाग्दैन । केही महिना अगाडि कार्यालयको दाजुको मोटरसाइकलमा बसेर कोठा जाँदा पुरुष सहकर्मीले जिस्क्याएको घटना उहाँको आँखा अगाडि आइरहन्छ । त्यसैले उहाँ कसैको गाडी वा मोटरसाइकल नचढ्ने अठोटमा पुग्नुभएको छ । सँगै काम गर्ने पुरुष सहकर्मीको सवारी साधन हुँदा उत्तिनै श्रम गर्ने उहाँ भने प्रायः पैदलयात्रा गर्नुहुन्छ ।
यो दैनिकीको मकवानपुरकी सञ्चारकर्मी सिर्जना नेपालको हो । उमेरले सानी भए पनि भोगाइले उहाँलाई परिपक्क बनाएको छ । पत्रकारितामा उहाँको यात्रा जम्मा ६ वर्षको भए पनि महिला सञ्चारकर्मी भएकै कारण आर्थिक, सामाजिक र मानसिकरूपमा विभेदीकरणको शिकार हुनुपरेको उहाँको भनाइ छ ।
“जति श्रम गर्दा पनि आर्थिकरूपले सम्पन्न हुन नसके पनि सामाजिकरूपमा सन्तोष मिले हुने नि”, नेपाल भन्नुहुन्छ । बिरामी भएको बेलामा पुरुष सहकर्मीले दिएको प्रतिक्रिया सम्झँदै उहाँ भन्नुहुन्छ, “मलाई रुघाखोकी लागेको थियो र पनि छुट्टी नपाएर अफिसमा गएँ, एक छिनपछि सहकर्मीले हिजो के खाइयो भनेर जिस्काए, मेरो स्थानमा पुरुष भएको भए सायद यो प्रश्न उठ्दैनथियो ।” उहाँ थप्नुहुन्छ, “प्रदेशसभा भवनमा सबै पुरुष सञ्चारकर्मी जसरी नै म पनि प्रदेशसभा सदस्यको आवाज रेकर्ड गर्दै थिएँ, प्रतिक्रिया दिने कार्य सकेपछि मलाई प्रदेशसभा सदस्यले धाप मार्दै नाम सोधी फोन नम्बर माग्नुभयो तर मलाई पत्रकार भएको हिसाबले भन्दा पनि महिला भएको हिसाबले उहाँले नम्बर माग्नुभएको भान भयो र म त्यतिकै नबोली अन्य स्थानमा सरेर अन्त ध्यान केन्द्रित गरेँ ।” यस्ता घटनाले आफूमा हीनताबोध गर्ने गरेको नेपालको भनाइ छ । सञ्चारगृहमा पारिश्रमिक माग्दा किन चाहियो तिमीलाई पैसा, परिवार पाल्न पर्दैन क्यार ? भन्ने उत्तरले मर्माहित हुने गरेको उहाँ बताउनुहुन्छ । कार्यक्रमहरूमा जाने क्रममा गरिएको हासीमजाकलाई पनि आफ्नो बचपना बताइने गरेको उहाँको गुनासो छ ।
महिलालाई पत्रकारितामा जोखिम र अभावले भरिएको बताउनुहुन्छ डब्लुडब्लुजे मकवानपुरकी निवर्तमान अध्यक्ष रञ्जिता डङ्गोल । महिला र पुरुष दुवैको स्तर र योग्यता एउटै भए पनि सञ्चारगृहमा प्राथमिकतामा पुरुष नै पर्ने गरेका कारण अधिकांश सञ्चारगृहमा पुरुष सम्पादक हुने गरेको उहाँको भनाइ छ । महिलाहरूले पित्त पत्रकारिता गर्न नसक्ने उहाँको दाबी छ । विज्ञापन खोजी र बजार व्यवस्थापनको हकमा पनि महिला पछि पर्ने गरेको उहाँ बताउनुहुन्छ । सामाजिक विभेदीकरण र उच्च जोखिमको कारण नै महिला सञ्चारकर्मी विस्थापित हुनुपरेको उहाँको दाबी छ ।
महिलाले बाहिर सञ्चारगृहसम्म आइपुग्दैमा ठूला चुनौती र समस्यालाई चिर्नुपर्ने डङ्गोलको भनाइ छ । घरमा बुहारी, श्रीमती र आमाको जिम्मेवारी पूरा गरेर ठूलो सङ्घर्षका बीचमा सञ्चारगृह आइपुग्दा थपिने जोखिम र आर्थिक अभावले महिला सञ्चारकर्मीलाई विस्थापित गराउने डङ्गोल बताउनुहुन्छ । जागिर खान गएको बुहारीसँग परिवारले राखेको आर्थिक अपेक्षा र समय व्यवस्थापन गर्न नसकेरै पत्रकारिता अध्ययन गरेरै यस क्षेत्रमा लागेका महिला पत्रकार विस्थापित भएको भन्दै डङ्गोलले सञ्चारगृह, परिवार र समाजले विभेदीकरणको वातावरण जारी राखेसम्म आफूहरू जोखिममुक्त नहुने बताउनुहुन्छ ।
Leave a Reply