भर्खरै :

सुर्खेतमा ‘दि एकेडेमी’बारे अन्तरक्रिया

सुर्खेत, २८ कार्तिक । नेपाल प्राध्यापक समाजको ‘दि एकेडेमी’ बुलेटिनमा प्रकाशित लेखरचनाबारे बिहीबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरुबीच अन्तरक्रिया भयो ।
कार्यक्रममा नेप्रासका अध्यक्ष सरोजराज गोसाईले देशको सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप भइरहँदा बुद्धिजीवीहरू मौन रहन नसक्ने भन्दै भारतीय एकाधिकार पुँजीविरुद्ध सङ्घर्ष गर्न तयार रहनुपर्ने विचार राख्नुभयो । बुद्धिजीवीहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको पक्षमा बोल्ने बेला भएको उहाँको कथन थियो ।
अध्यक्ष गोसाईले नेपालका शिक्षा नीतिहरू विदेशीको स्वार्थमा विदेशीले भनेजस्तो बनाउँदा शिक्षा क्षेत्रले दुर्गति भोग्नुपरेको विचार राख्दै विश्व बैङ्कजस्ता साम्राज्यवादी हतियारको प्रभावमा परेर नेपालमा शिक्षामा नवउदारवादी नीति लागू गरिएको उल्लेख गर्नुभयो ।
उहाँले ‘लेक्चर’ गर्ने परम्परागत शिक्षण विधि उपयुक्त नभएको तर्क गर्दै भन्नुभयो, ‘‘लेक्चर’ विधिले शिक्षक सक्रिय हुने तर विद्यार्थी निष्कृय नहुने भएकोले विद्यार्थी र शिक्षकबीच संवाद आवश्यक छ ।”
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको मानविकी सङ्कायका पूर्व डीन पीताम्बर ढकालले नेहरू नीतिअनुरूप सिक्किम, भुटान, नेपाल, तिब्बत र जम्मु–काश्मीरलाई पाँच औँलाको रूपमा लिई आफ्नो बनाउने योजना बनाएको विचार राख्दै लिम्पियाधुरासमेत नेपालको हुँदाहुँदै नेपालले नक्सा बनाउन नसक्नु दुःखद भएको विचार राख्नुभयो ।
उहाँले भारतले नेपालको भूभाग आफ्नो बनाई तयार गरेको नक्सा नेपाली सावैभौमिकतामाथिको आक्रमण भएको धारणा राख्नुभयो ।
मध्यपश्चिमाञ्चल विविको मानविकी सङ्कायका सहायक डीन एवम् उपप्राध्यापक कमलेश डीसीले प्राध्यापकहरूले प्राज्ञिक काम गर्नु सराहनीय छ भन्नुभयो ।
डा. दीपक गौतमले प्राज्ञिक व्यक्तिहरूले सत्यतथ्य जनतासमक्ष राख्नुपर्ने विचारमा सहमति राख्दै नेपालको समृद्धिको बाधक भारतीय एकाधिकार पुँजी भएको धारणा राख्नुभयो ।
मध्यपश्चिम विविको विज्ञान सङ्कायका उपप्राध्यापक डा. पुष्पराज आचार्यले परीक्षा र रुटिनमा व्यस्त हुँदा शिक्षकले ज्ञान दिन छुटाएको हो कि भन्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापामगरले विश्वविद्यालयको गुणस्तरको निम्ति आफ्नो मान्छे भर्ती गर्न रोक्नुपर्छ भन्नुभयो ।
नेप्रास मप विश्वविद्यालयका अध्यक्ष शारदा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा ऐनबहादुर शाही, गोविन्द योगी, देवीराम थापा, विद्यार्थी शान्ति अधिकारीले आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *