भर्खरै :

शारदामा सीमा अतिक्रमणको विरोधमा विद्यार्थी भेला

भक्तपुर २८ कार्तिक । छिमेकी मुलुक भारतको हेपाहा प्रवृत्तिको विरोध एवम् नेपाली भूभाग अतिक्रमणको विरोधमा बिहीबार शारदा माध्यमिक विद्यालयमा विद्यार्थी भेलाको आयोजना गरियो ।
भेलामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारत छिमेकी देश भएर छिमेकीको जस्तो व्यवहार नगरेको हुनाले नेपाली जनताले पटक – पटक सीमा अतिक्रमणको समस्या झेल्नुपरेको बताउँदै भारतीय विस्तारवादी नीतिको विरोध गर्नुपर्ने बताउनुभयो ।
नेपालले विगत लामो समयदेखि सीमा विवादको समस्या झेल्दै आएको र सरकारमा गएका राजनीतिक दलले सीमा समस्या सुल्झाउने प्रयाससमेत गर्न नचाहेको कारण भारतको हेपाहा प्रवृत्तिले ठाउँ पाएको उहाँले बताउनुभयो । नेपालमा मात्र होइन दक्षिण एसियाका देशहरूमा पनि भारतीय सीमा अतिक्रमणको चपेटामा पर्ने गरेको उहाँले बताउनुभयो ।
नेपाली भूमि नेपालको बनाउन नेपाल सरकारको तर्फबाट कुनै ठोस पहल हुन नसक्नु नेपालका सत्तासीन नेताहरूको कमजोर मानसिकताको उपज भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
भेलामा शिक्षक तथा नेपाल प्राध्यापक समाज शारदा मावि एकाइ समितिका अध्यक्ष शङ्कर आचार्यले सीमा अतिक्रमणको विरोधमा न्यायपे्रमी देशभक्त जनताले निरन्तर आवाज उठाउँदै आएको बताउँदै विस्तारवादी नीतिको विरोध सबै तहबाट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *