भर्खरै :

नेपालको विकास नहुनुमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेप कारक

काठमाडौँ, २ मंसिर । “देशका ठूला नदीहरू भारतलाई सुम्पने शासक दलहरूले देशको सार्वभौमिकतामा नसुम्पेलान् भन्न सकिँदैन” ।
उक्त भनाइ नेमकिपाका केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले भारतीय हस्तक्षेपको विरोधमा नेमकिपा चन्द्रागिरी नगर समितिद्वारा आयोजित विरोध सभामा सोमबार व्यक्त गर्नुभएको हो ।
उहाँले भारतीय विस्तारवाद, एकाधिकार पुँजीले नेपालको भूमि दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र आफ्नो नक्सामा गाभेको विरोधमा सबै देशभक्त जनता सङ्घर्षमा उत्रन आह्वान गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईँले भन्नुभयो, “भारतीय विस्तारवादले २०२३ सालमा नवलपरासीको सुस्ता गाविसमा कब्जा जमाउँदा पनि नेमकिपाले नै पहिलोपटक राजधानीमा विरोध गरेको थियो । नेमकिपाले स्थापनाकालदेखि भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्दै नयाँ पुस्तालाई शिक्षित गर्दै आएको छ । नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद र एकाधिकार पुँजी ठूलो कारक रहेको छ ।”
देश अहिलेको स्थिति आउनुमा नेका, एमाले, माओवादी, मधेसका सत्तासीन पार्टीहरू नै जिम्मेवार भएकाले जनताले देशद्रोही पार्टीलाई चिन्ने बेला आएको उहाँले बताउनुभयो ।
“नेपालमाथि भौगोलिक हमला हँुदा पनि सरकारले आधिकारिक धारणा स्पष्ट गर्न नसक्नु सरकारको कायरता हो,” उहाँले भन्नुभयो ।
देशको सार्वभौमिकता रक्षा गर्न नसक्ने पार्टीहरूलाई सरकारमा बस्ने अधिकार नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “देशका ठूलो नदीनाला कोसी, गण्डकी नेपाली काङ्ग्रेसले, महाकाली नदी एमाले–काङ्ग्रेसले र कर्णाली एमाले– काङ्ग्रेस–माओवादी मिलेर भारतलाई सुम्पेको हो ।”
अहिले देशमा भ्रष्टाचार बढेको, ठेकेदारको मनपरी बढेको, डन र ठगहरूको संरक्षक नै सरकार भएकोले त्यसको विरूद्ध पनि सङ्घर्ष गर्ने बेला आएको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले दुईतिहाइको सरकार नामले कम्युनिस्ट भए पनि काम पुँजीपति वर्गको निम्ति भइरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला सचिव राजवीर डंगोलले देशको रक्षाको लागि जनता सङ्घर्षमा लाग्न अनुरोध गर्नुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
सभाअघि बलम्बु मावि प्राङ्गणबाट सुरू भएको विरोध जुलुस नगर परिक्रमा गरी महालक्ष्मी मन्दिरको प्राङ्गणमा पुगी सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *