भर्खरै :

नत्र परिणाम भयङ्कर हुनसक्छ

 राकस्था
कुरा होइन काम हेरौँ
मंसिर १४ गते देशका विभिन्न जिल्लामा उपनिर्वाचन हुँदैछ । कलेज तहमा अध्ययनरत एक विद्यार्थीलाई केही दिनअगाडि आसन्न उपनिर्वाचनबारे यस पङ्क्तिकारले एउटा प्रश्न सोध्यो, “तिम्रो क्षेत्रमा निर्वाचन हुँदैछ, मतदानको निर्णय कसरी गर्छौ ?” विद्यार्थीको उत्तर थियो, ‘‘खै मेरी अन्टिले जेमा भन्नुहुन्छ, त्यसैमा भोट हाल्छु ।’’ प्रश्न उठ्छ, विश्वविद्यालय तहमा पढ्ने हाम्रा विद्यार्थी आफ्नो मत आफ्नै मनले खाएको व्यक्ति वा पार्टीलाई दिने क्षमताका छैनन् ? हाम्रा कलेजहरूले विद्यार्थीलाई मतदानको अधिकार कसरी प्रयोग गर्नेबारे शिक्षित नगरेकै हुन् त ? विश्वविद्यालयबाट दीक्षा लिइरहेकाको हालत यस्तो छ भने सर्वसाधारण जनताको हालत के होला ?
जनताको राजनीतिक चेतनास्तरले देशको विकास तथा समृद्धि निर्धारण गर्छ अथवा भनौँ ‘जथा प्रजा तथा राजा’ । जनता जस्ता हुन्छन्, उस्तै छनोट ! सचेत जनता असल नेता चयन गर्छन् । यस अर्थमा निर्वाचनलाई जनताको चेतना मापनको एक आधार मान्न सकिन्छ । आफूले जिताएका नेतालाई वर्षभरि गाली गरी नथाक्ने मानिसले मतदान गर्दा भने फेरि उनै वा उस्तैलाई विजयी गराउने प्रचलन कायम नै छ ।
प्रजातन्त्रको वकालत गर्ने शासक दलहरू नै अनेक अप्रजातान्त्रिक विधि प्रयोग गरी ‘जनमत सङ्कलन’ गर्छन्, यो कसरी सम्भव भयो ? प्रस्ट छ, तिनीहरू जनता जस्ता छन्, त्यस्तै खालका ‘विधि’ गरी ‘जनमत’ सङ्कलन गर्छन्, जाँड चाहनेलाई जाँड, द्रव्य चाहनेलाई द्रव्य । पैसामा भोटको साटफेर ! भोटमा भविष्यको सौदा ! यो घनचक्कर घुम्दो छ ।
मानिसको विवेकले सत्य–असत्य, न्याय–अन्याय, ठीक–बेठीक आदि छुट्याउन सहयोग गर्छ । तर, नेपाली समाजको सांस्कृतिक स्तर त्यो तहमा पुगिसकेको छैन । हाम्रा पूर्वजले भनेका थिए, कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछाडि दगुर्नु हुँदैन । यसको अर्थ हो, हाहामा लाग्नु हुँदैन । आँखा चिम्लेर समर्थन र विरोध नगर्न पुर्खाले नै सिकाएको हो । बुद्धले पनि हरेक विचारमा शङ्का गरी हेर र सत्य स्वीकार गर भन्ने सिकाएका छन् । आलोचनात्मक दृष्टिकोणले यथार्थ पर्गेल्न मद्दत गर्छ । तर, नेपाली जनताको आलोचनात्मक चेत अझै निम्छरो छ, निम्छरो बनाइएको पनि हो ।
सिद्धान्ततः मतदानको हक सार्वभौम हुन्छ, मतदान स्वनिर्णयबाट हुन्छ । मताधिकार कुनै जात, सम्पत्ति, लिङ्ग, क्षेत्र वा अन्य कुनै आधारमा सानो र ठूलो हुन्न । कानुनले निर्धारण गरेअनुसार जोकोहीले आफ्नो मत स्वतन्त्ररूपमा दान गर्न पाउँछ । तर, नेपालमा त्यसो भइरहेको छैन ।
निरन्तर धाँधली
पुँजीवादी प्रजातन्त्रमा स्वतन्त्र मतदानको कुरा हुन्छ तर काम हुँदैन । मतदातालाई प्रभावित पार्न अनेक हथकण्डाको प्रयोग हुन्छ, साम, दाम, दण्ड र भेदको नीति अपनाइन्छ । अङ्गे्रजीमा मनि, मसल र माइन्डका तीन एम अर्थात् पैसा, बल र दिमागको भरमा निर्वाचन जित्ने पद्धति पुँजीवादी व्यवस्थामा बसेको पाइन्छ । अमेरिकाका राष्ट्रपति ट्रम्प, भारतका प्रधानमन्त्री मोदीमाथि निर्वाचन आचारसंहिताको उल्लङ्घन र धाँधलीको आरोप लागेकै छ । नेपालको निर्वाचन कहिल्यै धाँधलीरहित हुनसकेन । पञ्चायती व्यवस्थामा भएको जनमतसङ्ग्रहमा धाँधलीबाटै निर्दलले जितेको थियो । २०४९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको गिरिजा सरकारले व्यापक धाँधली ग¥यो र बहुमत ल्यायो । २०५४ को निर्वाचनमा एमालेका वामदेव गौतम गृहमन्त्री थिए, शासक पार्टीबाटै व्यापक धाँधली भयो र बहुमत उसैको पोल्टामा गयो । निर्वाचनपछि धाँधली छानबिन समिति बन्यो तर सबै दूधको साक्षी बिराला प्रमाणित भए । संविधानसभाको दोस्रो चुनाव २०७० मा भयो, धाँधलीका घटना कम भएन । नत्र निर्वाचन क्षेत्रहरूमा एकछापे मत कसरी आउँछन् ? मतदाताभन्दा धेरै मत कसरी हुन्छ ? मतगणनामा पनि बलमिचाइ र धाँधली हुन्छ, सत्ता र शक्तिको दुरुपयोग हुन्छ । शासक दलहरूले निर्वाचन कसरी जित्दारहेछन् ? बम विस्फोट गर्ने, बुथ क्याप्चर गर्ने र एकछापे मत खसाल्ने योजना कसरी गर्दारहेछन् भन्ने कुरा रौतहट क्षेत्र नं २ मा आफताब आलमले २०६४ सालमा गरेको काण्ड पटाक्षेप भएपछि धेरैले बुझ्ने अवसर पाए । सत्य बोल्नेको मुख थुन्ने, अझ त्यस्ताको इहलिलासमेत समाप्त पार्ने षड्यन्त्रमा तत्कालीन सरकारका मुख्यमुख्य मानिसहरू मुछिए ।
उस्तै स्थिति
यसपटकको निर्वाचन पनि फरक देखिन्न । खोटाङमा रिक्त वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ गते साकेला गाउँपालिका–३ खिदिमामा हुन गइरहेको उपनिर्वाचनको प्रचारप्रसारको क्रममा नेकपाले निर्वाचन आचासंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको छ । नेकपाले १५० ग्रामको कागजमा रङ्गीन पोस्टर छापेको, सरकारी संरचनाको दुरुपयोग गरेको, निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले योजना वितरण गर्ने, चन्दा–पुरस्कार दिने, आर्थिक प्रलोभनमा पार्नेजस्ता गतिविधि गरेको आरोप लगाइएको छ ।
भक्तपुरमा निर्वाचन आयोगले खटाएका मतदाता शिक्षा कार्यकर्ता स्वयम्ले शासक दलको प्रचार गरिरहेको समाचार सार्वजनिक भएको छ । अहिले शासक दलहरूले ठाउँठाउँमा भोजभतेरको आयोजना गरिरहेका प्रमाणहरू बाहिर आएका छन् । अन्य पार्टीका सदस्य आफ्नोमा प्रवेश गरेको भ्रम फैलाउने काम शासक दलहरूले नै गरिरहेका छन् । अनेक झूटा खबरको उत्पादन गरी बजारमा पस्कने र ‘तातो पानीले घर जलाउने’ काममा शासक दलहरू ‘माहिर’ छन् । बिरामी भई घर बसेको मान्छेको नाम लिई फलानाले पनि पार्टी छोड्यो जस्ता हल्ला फैलाउने काम पुँजीवादी शासक दलहरूले गरिरहेका छन् । अन्य दललाई मत दिए गाउँबाट निकाल्छौँ वा सामाजिक बहिष्कार गछौँ भनी धम्की दिने काममा पनि शासक दलहरू अग्रपङ्क्तिमा छन् । निर्वाचनको बेला विकासका केही पोका ल्याई जनताको आँखामा छारो हाल्ने काम पनि तिनैले गरिरहेका छन् ।
दर्शन/सिद्धान्त नै मुख्य
एउटा व्यक्तिले जिउनको निम्ति निश्चित जीवन दर्शन आत्मसात् गरेको हुन्छ, उसका हरेक क्रियाकलाप एवम् व्यवहार उसैको जीवन दर्शनले निर्देश गरेको हुन्छ । को कुन वर्गमा पर्छ भन्ने आधारमा पनि उसको विचार तथा दृष्टिकोण निर्माण भएको हुन्छ । यसलाई वर्गीय दृष्टिकोण भन्न सकिन्छ । शोषकवर्गले सामान्यतः कामदार वर्गको हित चिताउँदैन किनभने कामदार वर्गको अहितमा शोषकवर्गको हित निहित हुन्छ ।
कुनै पार्टी वा राज्य पनि निश्चित राजनीतिक दर्शनबाट निर्देशित हुन्छ । राजनीतिक व्यवस्था राजनीतिक दर्शनमा आधारित हुन्छ । शासक राजनीतिक पार्टीको दर्शनअनुसार नै देशका ऐनकानुन तथा नीतिहरू बन्छन् । कस्तो खालको समाज बनाउने भन्ने योजनासमेत कुनै पार्टीको राजनीतिक दर्शनमा निर्भर हुन्छ । त्यसैले निर्वाचनमा मतदान गर्नुअगाडि राजनीतिक पार्टीहरूका सिद्धान्त र व्यवहारलाई गम्भीरतापूर्वक मनन गर्नु आवश्यक हुन्छ ।
नेपाली काङ्ग्रेसजस्तो पुँजीवादी पार्टीले निजीकरण, उदारीकरण, खुला बजार अर्थतन्त्र र नवउदारवादी नीतिलाई प्राथमिकता दिन्छ । नेकपाले नेकाकै नीतिलाई निरन्तरतामात्र होइन अनुशरण नै गरेपछि त्यसलाई पनि पुँजीवादी भन्न द्विविधामा पर्नुपरेन । पुँजीवादी सरकारमा जानुको अर्थ त्यसले पुँजीवादी व्यवस्थालाई स्वीकार्नु हो । एउटा कम्युनिस्ट पार्टी शोषणमा आधारित पुँजीवादी सत्तामा लिप्त हुनैसक्दैन, पुँजीवादी बन्दोबस्तलाई बलियो बनाउन ऊ कहिल्यै अग्रसर हुनसक्दैन । बरु एउटा कम्युनिस्ट पार्टीले पुँजीवादी व्यवस्थालाई कमजोर पारी समाजवादी क्रान्तिलाई बलियो बनाउने लक्ष्य राख्छ ।
नेकाले आजभन्दा करिब ३० वर्षअगाडि राज्यको स्वामित्वमा रहेका धेरै उद्योग कलकारखाना निजीकरण गरी पुँजीवादी पार्टी भएको पुष्टि गरेको थियो । पुँजीप्रधान वा पुँजी लगानी गरी नाफा खान पाउने बन्दोबस्त नै पुँजीवादी बन्दोबस्त हो । शिक्षा र स्वास्थ्य सामाजिकीकरण, जमिन जोत्नेलाई वितरण, उत्पादनका साधनहरूको सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम तथा कामअनुसारको ज्यालाको बन्दोबस्त समाजवादी व्यवस्थाका पक्षपातिहरूले गर्छन्, त्यस्ता पार्टीमात्र कम्युनिस्ट हुन्छन् । कम्युनिस्ट पार्टी वा त्यसमा क्रियाशील समाजवादी मान्छेले जहिलेसुकै सामूहिक भावना राख्छ । कम्युनिस्टले असल समाजको परिकल्पना गर्छ, शोषणको विरोध गर्छ, अन्धविश्वासलाई पन्छाउँदै वैज्ञानिक चिन्तन स्थापित गर्छ, धनी र गरिबबीचको भेद कम गर्ने प्रस्तावहरू लिन्छ, व्यक्ति होइन राज्य बलियो बनाउने नीति तथा कार्यक्रम तयार गर्छ । तर, नेकपाको सरकारमा कम्युनिस्ट आचरण, व्यवहार र नीति प्रतिविम्बित हुनसकेको छैन । सिद्धान्त नै प्रतिक्रियावादी अङ्गालेपछि त्यसबाट प्रगतिशील नीति तर्जुमा कसरी हुन्छ ?
नेका र नेकपा देशभक्त पनि होइनन् । तिनीहरूको देशभक्तिको बर्को कोसी सम्झौता, गण्डक सम्झौता, महाकाली सन्धि, भारतबाट भइरहेको निरन्तरको सीमा अतिक्रमण, कालापानीमा भारतीय सेनाको क्याम्प, हालै भारतले नेपाली भूमि मिचेर तयार पारेको नक्सा, माथिल्लो कर्णाली सम्झौताको कारण धुजा – धुजा भएको छ । किनभने घटना र विषयका नायक वा निमित्त नायक यिनै शासक दलहरू भए । पार्टी नचिन्दाको परिणाम भयङ्कर हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *