भर्खरै :

फर्केर हेर्दा विद्यार्थी आन्दोलन

सरोजराज गोसाई
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको विगतको कुरा गर्दा हामी विद्यालयमा छँदा विद्यार्थी हित समितिमा रहेर काम गर्दाका अनुभव सम्झन्छु । पञ्चायती व्यवस्थामा पार्टी प्रतिबन्धित थियो । नेक्राविसङ्घले विद्यार्थी हित समितिको नाममा गतिविधि गथ्र्यो । हामी साहित्य गोष्ठी, हाजिरीजवाफ प्रतियोगितालगायत अनेक अतिरिक्त क्रियाकलाप गथ्र्यौं । लुसुन, कोटनिश, चे ग्वेभारा, माओ, माक्र्सका जीवनीको अध्ययन तथा छलफल गर्दथ्यौँ । त्यसरी नै हामीले राजनीतिका कखरा सिक्यौं ।
एसएलसी दिने वर्षमै भक्तपुर काण्ड भयो । हाम्रो पढाइ बिथोलियो । भक्तपुर एक खालको युद्ध बन्दीगृहजस्तो बन्यो । हामी नवजवानहरूसमेत भूमिगत बस्नुप¥यो । नेमकिपाका करिब सबै नेता तथा कार्यकर्ता या त पक्राउ परे या भूमिगत बस्न बाध्य भए । मैले त्यस वर्ष प्रवेशिका परीक्षा नदिने निर्णय गरेँ । त्यो निर्णय पूर्णतः व्यक्तिगत थियो, सल्लाह दिने कोही थिएन पनि । करिब डेढ वर्षपछि पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भयो । हामी २०४६ साल माघमा एसएलसी दिँदा नै आन्दोलन हुने समाचारहरू आइसकेका थिए । अब आन्दोलन नभई हाम्रा नेता तथा कार्यकर्ता नछुट्ने भए भन्ने हामी नवजवाहरूलाई पनि राम्रै थाहा थियो । कहिले परीक्षा सकिएला भनी कुर्ने अवस्थासमेत आयो । नभन्दै परीक्षालगत्तै फागुनमा आन्दोलन सुरु भयो । भूमिगत बैठकहरू भए । त्यसक्रममा जनताको शक्ति अजेय छ भन्ने भाषण सुन्यौं । एकातिर परीक्षा सकिनु, अर्कोतिर आन्दोलन सुरु हुनु हाम्रो निम्ति अति उपयुक्त समय थियो ।
फागुन ७ गतेको पहिलो प्रदर्शन काठमाडौँमा भयो, त्यसमा थोरै मानिस सहभागी भए । फागुन ८ गते काठमाडौँ उपत्यका बन्दको आह्वान गरिएको थियो । आन्दोलनको पहिलो चरणमै अत्यन्तै सशक्त कार्यक्रम घोषणा गरिएको थियो । त्यसैले आन्दोलनकारीको निम्ति ठूलो चुनौती थियो । भक्तपुरमा फागुन ८ गतेको बन्द विफल बनाउन प्रहरी र प्रशासन सङ्गै लाग्यो र स्थानीय पञ्चायत समर्थक मण्डलेहरू पनि लागे । बिहान बजार पूरा बन्द होस् भन्ने हाम्रो चाहना थियो तर भएन । तत्काल पार्टीको बैठक भयो । सूर्यमढीबाट जुलुस निकाल्ने निर्णय भयो । त्यहीअनुसार तुरुन्तै खबर प्रसारण भयो । त्यसबेला सञ्चारमा आज जति सुविधा थिएन । चारैतर्फ कुदाकुदबाहेक उपाय थिएन । करिब एक दर्जन जति युवाहरू भेला भए । नेक्राविसङ्घ, भक्तपुरका तत्कालीन जिल्ला अध्यक्ष रवीन्द्र खर्बुजाले जुलुसको नेतृत्व गर्नुभयो । नारा लगाउँदै जुलुस अगाडि बढ्यो, गल्लीगल्लीबाट मानिस थपिँदै गए । दत्तात्रय नपुग्दै धेरै युवाहरू बन्दको आह्वान गर्दै आएको भेटिए । जुलुस अलि जोसिलो भयो । दत्तात्रयमा तैनाथ प्रहरीबाट हस्तक्षेप हुने सम्भावना थियो । तर, प्रदर्शनकारीको शक्ति देखेर प्रहरीले हस्तक्षेप गर्ने साहस गरेन । पञ्चायती व्यवस्थाका पिछलग्गूहरूले दत्तात्रयमा पसल बन्द आनाकानी गरे, तर जनताको शक्तिसामु तिनको पनि केही सीप लागेन । जनशक्ति यसरी ओइरियो कि जुलुस नसोचेझैँ विशाल हुन गयो । जुलुसमा मानिसमा रहेको उकुसमुकुस व्यक्त भइरहेको थियो । डेढ वर्षदेखि बन्दी बनेका जनताले स्वतन्त्रताको आवाज बुलन्द पार्न खोजिरहेका थिए ।
जुलुस टौमढी चोकबाट अलि अगाडि बढिसकेपछि प्रहरी हमला सुरु भयो । जुलुसको मध्तगमा अचानक लाठी प्रहार सुरु भयो । जुलुस तितरवितर भयो । जनता निहत्था थिए । एकैछिनमा विश्वयुद्धमा प्रतिबन्ध लगाइएको डमडम गोली चलाइयो । नेक्राविसङ्घका होनहार कार्यकर्ता राजकुमार सुवाललगायत ४ जना फागुन ८ गतेको त्यस आन्दोलनमा सहिद भए । कैयौँ घाइते भए । तर, आन्दोलन झन्–झन् चर्किंदै गयो र चैत २६ गते राति निर्दलीय पञ्चायती व्यवस्थाको अन्तको घोषणा भयो ।
बहुदलीय व्यवस्था आएपछि नेक्राविसङ्घले ‘बहुदलको एक चम्चा पानीले जनताको प्यास मेटिने छैन’ भन्दै आन्दोलनको निरन्तरताका लागि आह्वान ग¥यो । त्यस बीचमा भएका साना र ठूला आन्दोलनमा नेक्राविसङ्घले सक्रियतापूर्वक महत्वपूर्ण योगदान पु¥यायो । महाकाली सन्धिविरोधी आन्दोलन, लाउडा र चेज एयर काण्डजस्ता केही देशघाती निर्णयविरुद्धका आन्दोलनमा नेक्राविसङ्घले उल्लेखनीय योगदान ग¥यो ।
२०५९ असोजमा राजा ज्ञानेन्द्रको प्रतिगामी कदमपछि विद्यार्थी आन्दोलन फेरि जुर्मुराउन थाल्यो । चैतमा प्रतिगामी सरकारले पेट्रोलियम पदार्थमा दोस्रोपटक मूल्यवृद्धि गरेपछि विद्यार्थीको धैर्यको सीमा नाघ्यो । चैत मसान्ततिर संयुक्त विद्यार्थी आन्दोलनको आह्वान भयो । संयुक्त आन्दोलन सञ्चालन गर्दा हामी जिम्मेवारी बाँडफाँट गथ्र्यौं । हामीले जहिल्यै पनि आफ्नो भूमिका देखिने गरी लिन चाहन्थ्यौँ र जिम्मेवारीलाई इमानदारीसाथ निर्वाह गथ्र्यौं । कतिपय अवस्थामा हामीले आन्दोलनमा सहभागीको टाउको गन्ति नै गर्दा पनि अनुमान गरेभन्दा बढी उपस्थिति देखाउँथ्यौँ । आन्दोलनको बेला कुनै पनि ठूला भनिने विद्यार्थी सङ्गठनले नेक्राविसङ्घलाई बिर्सन सक्दैनथे । विद्यार्थी आन्दोलन चर्किंदै गएपछि प्रतिगामी लोकेन्द्रबहादुर चन्दको सरकारले वार्ताको नाटक रच्यो । भित्रभित्र ठूला विद्यार्थी सङ्गठनमध्येको एमाले समर्थित अखिलका नेताहरूले रातारात आन्दोलन तुहाउने षड्यन्त्र गरे । आन्दोलन रोक्नु कुनै पनि मानेमा उचित थिएन । अखिल नेतृत्वले विद्यार्थीलाई सहुलियत दरमा मट्टीतेल लिने सर्तमा सम्झौता गरे । आन्दोलन फिर्ता लिने प्रस्ताव ल्यायो । त्यसमाथि धेरै बहस भयो । आन्दोलन चालू गर्नुपर्ने र राजाको प्रतिगामी कदमविरुद्ध आन्दोलन अगाडि लानुपर्ने हाम्रो तर्क थियो । पेट्रोलियम पदार्थमा थोरै मूल्य घटाउँदैमा जनताको अधिकार फिर्ता आउँदैनथ्यो । अपहरित प्रजातान्त्रिक अधिकार बहालीको निम्ति कुनै पनि हालतमा विद्यार्थी आन्दोलन अगाडि बढाउनु थियो । यसैक्रममा २०६० वैशाख २५ गतेबाट प्रतिगमनविरोधी आन्दोलन सुरु भयो । यस पटकको आन्दोलनले निर्णायक रूप लिन भने लामो समय लियो । करिब ३ वर्ष निरन्तर सङ्घर्ष गर्नुप¥यो । तैपनि हामी कहिल्यै आन्दोलनबाट पछि हटेनौँ । बरु समाजवादी गणतन्त्रको नारा लगाएर एक पाइला अगाडि पुग्न आह्वान ग¥यौँ । प्रत्येक भाषणमा पुँजीवादी गणतन्त्रले झन् धेरै राजाहरू जन्माउने भएकोले त्योभन्दा समाजवादी गणतन्त्रमा जानु प्रगतिशील व्यवस्था हो भन्ने हाम्रो तर्क थियो । उत्पादनका साधनहरू सामाजिकीकरण गरी शोषणमुक्त समाजको निर्माण गर्नुपर्ने हाम्रो विचारको व्यापक प्रचार ग¥यौं । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक समाजवादबारे सर्वसाधारण जनताबीच व्यापक चर्चा भयो ।
जहाँसम्म आजको प्रश्न छ, हामी सबै धेरैथोरै जानकार छौँ । नेक्राविसङ्घ एउटैमात्र यस्तो विद्यार्थी सङ्गठन हो, जुन निरन्तररूपमा भारतीय विस्तारवाद र नाकाबन्दीविरोधी सङ्घर्षको मोर्चामा दृढतापूर्वक उभियो । भारतले सम्पूर्ण अन्तर्राष्ट्रिय कानुन, दुई देशबीचका सन्धि तथा सम्झौताविपरीत नाकाबन्दी लगाउँदा पनि आफैँलाई ठूला मान्ने विद्यार्थी सङ्गठनले प्रस्ट बोल्न सकेनन् । देशमाथि त्यति ठूलो सङ्कट आइपुर्दा पनि मुखमा दही जमाएर बस्ने ती विद्यार्थी सङ्गठनहरूको औचित्य समाप्त भएको थियो । ती सङ्गठनहरू दलाल पुँजीवादी व्यवस्थाका पक्षधर साबित छन् ।
सारा संसारलाई थाहा छ, भारतले नेपालमाथि नाकाबन्दी लगाए । भारतीय जनताले समेत नाकाबन्दीविरुद्ध प्रदर्शन गरे । भारतीय संसद्मा नाकाबन्दी खुलाउनुपर्ने माग भयो । तर, भारत आफ्नो स्वार्थसिद्ध नभएसम्म नाकाबन्दीकै मनस्थितिमा थियो भने यता नेपाल सरकारले नेपालको अहित हुने कुनै पनि सम्झौता नगर्ने अडान लिएको थियो ।
२०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा हामी विद्यालयमा पढिरहेका थियौँ । भारतले नाकाबन्दी किन लगायो भनेर सोध्दा नेपालले आफूलाई चाहिने हातहतियार भारतलाई नसोधी चीनबाट ल्याएकोले हो भन्ने उत्तर हाम्रा गुरुहरूले दिनुभयो । हामीलाई चाहिने सामान लिँदा भारतको स्वीकृति किन लिनुपर्ने भन्ने हाम्रो प्रश्न थियो । भारतले कोदारी राजमार्गको निर्माण मनपराएको थिएन, चिनियाँ इँटा कारखाना कोइलाबाट नभई बिजुलीले चलाउने बनाउन खोज्दा भारतले दबाब दियो भन्नेजस्ता कुरा सुन्यौँ । पछि यस्तो कुरो पनि आयो कि श्रीलङ्कामा भारतीय सेना गएकोमा नेपालले समर्थन नगरेको रिस फेर्न नाकाबन्दी लगाइयो । त्यस्तै तत्कालीन प्रधानमन्त्री राजीव गान्धी सार्क बैठकमा भाग लिन आउँदा उनकी श्रीमती सोनिया गान्धीलाई इसाई धर्मावलम्बी भएकोले पशुपतिमा छिर्न नदिएकोले व्यक्तिगत रिस साँध्न नाकाबन्दी लगाइयो । जेहोस्, हामी भारतको शासक वर्गको हेपाहा प्रवृत्तिको विरोधी निस्कियौँ । आज पनि नयाँ पुस्ता झन् सचेत भएका छन् । भारत छिमेकी देश भएर पनि नेपालसँग छिमेकीको व्यवहार गरेन भनी लाखौँ विद्यार्थी आफ्नो धारणा निर्माण गरिरहेका छन् । यो आजको यथार्थ हो ।
गएको कार्तिक १६ गते भारतले नेपाली भूमि हडपेर आफ्नो नयाँ नक्सा जारी ग¥यो । नेक्राविसङ्घका कार्यकर्तालगायत युवाहरू विरोधमा उत्रिएका छन् । भारतीय विस्तारवादविरुद्धको नारा फेरि घन्किएको छ । नेपाली स्वाभिमानमाथिको आक्रमणको विरोध हुनु स्वाभाविकै हो ।
हामी जे भोग्छौँ, त्यही बुझ्छौँ । नेपालको नयाँ पुस्ता भारतीय शासक वर्गको विस्तारवादी नीतिको सशक्त विरोध गर्छन् । कोसी, गण्डक, महाकाली सन्धि तथा सम्झौतामा ठगिएका नेपालीले अब कहिल्यै नठगियून् भनी चिन्तन गर्ने बेला हो ।
(लेखक नेक्राविसङ्घको पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *