भर्खरै :

आणविक निःशस्त्रीकरण अमेरिकाबाटै सुरु गरिनुपर्छ

– गौरव प्रधान
प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा आणविक निःशस्त्रीकरण गर्ने संयुक्त राज्य अमेरिकाको हठ किन ? अरू ठूला–साना देशमा आणविक हातहतियार भए पनि हुने अनि प्रजग कोरियामा हुन नहुने ? अमेरिका र संरा सङ्घले प्रजग कोरियामा किन गिद्धेदृष्टि राख्नुप¥यो ? सबभन्दा पहिले संसारका स–साना मुलुकलाई तर्साउँदै हिँड्ने अमेरिकाले आणविक निःशस्त्रीकरण गर्नुपर्छ, अनिमात्र अरू देशमा निःशस्त्रीकरण गर्न आग्रह गनुपर्छ र आग्रह अस्वीकार गरेमा आर्थिक नाकाबन्दी गर्नु उपयुक्त हुन्छ ।
प्रजग कोरियालाई तर्साउन अमेरिकाले संयुक्त अभ्यास नगरेको भए, आर्थिक नाकाबन्दी फिर्ता लिएको भए वार्ता गर्न सहज हुन्थ्यो र निकास निस्किन्थ्यो । नाकाबन्दी नहटाइ लडाकू विमान उडाएर प्रजग कोरियालाई तर्साएपछि प्रजग कोरियाले आफ्नो सुरक्षाको निम्ति आणविक परीक्षण गर्नु अस्वाभाविक होइन ।
वार्ता एकतर्फी हुँदैन । वार्तामा अमेरिकाले भनेको सबै सर्त पूरा गर्नुपर्ने तर प्रजग कोरियाको माग कुनै पूरा हुँदैन भने वार्ता कसरी सहज हुन्छ, वार्ता कसरी सफल र न्यायोचित हुन्छ ? आफू नाकाबन्दी फिर्ता नलिने बरू उल्टो प्रजग कोरियाली नागरिक र उनीहरूको लगानी बन्द गर्न आदेश दिने अमेरिकी चेतावनीले संरा अमेरिका र प्रजग कोरियाको वार्ता कसरी सहज र सफल हुन्छ ? आणविक परीक्षण प्रजग कोरियाको रहर होइन, बाध्यता हो । प्रजग कोरियाको विकासमा गर्नुपर्ने लगानी आणविक परीक्षणमा खर्च भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साँच्चै आणविक निःशस्त्रीकरणको पक्षमा छन् भने आफ्नै देशबाट लागू गरेर संसारलाई बाटो देखाउनुपर्छ । अनि अरू देशले पनि निःशस्त्रीकरण गर्ने बाटो खुल्छ र निःशस्त्रीकरण नगर्ने मुलुकलाई संरा सङ्घले दबाब दिन मिल्छ । प्रजग कोरियाले आणविक निःशस्त्रीकरण किन गर्नुप¥यो ? आफ्नो देशलाई कुनै राष्ट्रले हमला या आक्रमण नगरिकन प्रजग कोरियाले कुनै देशमा आक्रमण गर्ने भनेकै छैन ।
भारतले आणविक परीक्षण गरे पनि संरा अमेरिका र संरा सङ्घलाई कुनै चिन्ता र चासो छैन, कुनै खबरदारी गर्नुपर्दैन, आर्थिक नाकाबन्दी गर्ने कुरा उठ्दैन । तर प्रजग कोरियाले आणविक परीक्षण गरेपछि आर्थिक नाकाबन्दी किन ? किन प्रजग कोरियाले अरू देशमा खोलिरहेको उद्योग बन्द गराउनुप¥यो र कोरियाली जनता स्वदेशमै फर्क भन्नुप¥यो ? कोरियाली जनताको जीवनस्तर कष्टकर बनाउन अमेरिका र संरा सङ्घ मिलेर अघि बढ्ने देश कसरी शान्तिकामी हुन्छ, त्यो कदम प्रजातान्त्रिक कसरी हुन्छ ?
पहिलेको वार्तामा दीर्घकालीन शान्ति कायम गर्न र पूर्ण परमाणु निःशस्त्रीकरण गर्न दुई पक्षबीच सहमति भएको हो भने दुवै पक्षले सहमति कार्यान्वयन गर्नुपर्छ । सहमति दुवै पक्षले लागू गर्नपर्छ । जनवादी गणतन्त्र चीन र रूसले प्रजग कोरियामाथिको नाकाबन्दी हटाउन माग गर्नु जायज हो । चीन र रूसले सो माग नगरे पनि अमेरिका र संरा सङ्घ आफै सोचेर नाकाबन्दी फिर्ता लिनुपर्छ, फिर्ता लिन पहल गर्नुपर्छ । आणविक निःशस्त्रीकरण नहटाउँदासम्म प्रतिबन्ध नहटाउने अमेरिकाको अभिव्यक्ति एकतर्फी छ, त्यो अभिव्यक्ति कुनै देशको लागि स्वीकार्य छैन । प्रजग कोरियामा कहिले पनि आक्रमण गर्नेछैन भनी अमेरिकाले सहमतिमा हस्ताक्षर गर्नुपर्छ र नाकाबन्दी हटाउँछु भन्ने विश्वास दिलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *