भर्खरै :

कुरीति अन्त्य गर्न सांस्कृतिक क्रान्तिको खाँचो

भक्तपुर, ५ पुस । नेपालभाषा साहित्य तःमुंज्याले शनिबार साहित्यप्रेमी तथा साहित्यकारको भेला आयोजना ग¥यो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अन्धपरम्परा, कुरीति र विकृति अन्त्य गर्न सांस्कृतिक क्रान्तिको खाँचो औँल्याउनुभयो ।
भाषा, व्यवहार र विज्ञानसम्मत संस्कार नयाँ पुस्तालाई सिकाउन पुराना अग्रजहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले नेपालभाषालाई जीवन्तता दिन नेपालभाषाको स्कूल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्मुनत समाज स्थापना गर्न या अघि बढाउन पुराना कवि, कलाकारहरूको योगदान आवश्यक भएको उल्लेख गर्दै उहाँले खराब चलन, रीतिरिवाज र संस्कृतिलाई कायम गरेर सम्मुनत समाज बन्दैन भन्नुभयो ।
कला, बिम्ब, रस, छन्द, मात्रा, गति आदिबारे ज्ञान भए रचनाकारहरूको साहित्य स्तरीय हुने विचार राख्दै अध्यक्ष बिजुक्छेँले साहित्यसम्बन्धी कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रम निरन्तर गरिरहनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युगलाई यथोचित सम्बोधन गरेर जनताको साहित्य लेख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
असत्यविरूद्ध निरन्तर लडिरहनुपर्ने भावनाको विकास गर्नुपर्ने उल्लेख गर्दै सांसद गोसाईले नेपालको राजनीतिमा चलखेल गर्ने भारतको दादागिरी सधैँ नटिक्ने बताउनुभयो ।
साहित्यिक गतिविधि अघि बढाउन निरन्तर प्रयास आवश्यक भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनताका लेखक र कलाकार जनतामाझ सदा स्मरणीय भइरहने छन् ।”
साहित्यको उत्थान र विकासमा अग्रज लेखक र कलाकारहरूको भूमिका अझै आवश्यक भएको उल्लेख गर्दै उहाँले जनताको साहित्य उजागर गर्न साहित्यिक गतिविधि हुनुपर्छ, जनतामा अडानको राजनीति र सङ्घर्षको भावना जगाउनुपर्छ भन्नुभयो
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले माक्र्सवादी साहित्य नयाँ पुस्तामाझ पु¥याउनुपर्ने उल्लेख गर्दै साहित्यले बहुमत जनताको सेवा गर्नुपर्छ भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाको सभापतित्वमा भएको सो भेलामा तःमुंज्याका अध्यक्ष एवम् जनकवि चन्द्रबहादुर उलक, युवा कवि दामोदार सुवाललगायतले साहित्य, मातृभाषा र तःमुंज्या सम्मेलनबारे आ–आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी साहित्यकारहरूले आ–आफ्ना नयाँ, पुराना रचनाहरू वाचन गर्नुभएको थियो । वाचित साहित्यमा कान्छा बासुकला र चन्द्रबहादुर उलकले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य लेखनबारे अन्तरक्रिया पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *