भर्खरै :

सर्तको आधारमा सहयोग लिनु आत्मसमर्पणको सड्ढेत

– गोपाल नगरकोटी
देशमा गणतन्त्र भए पनि कुनै दलले अल्पसङ्ख्यक वर्गकै प्रतिनिधित्व गर्छ भने त्यहाँ सामन्तवाद अन्त्य भएको छैन भन्ने कुरा बुझ्नुपर्छ । राजा नहुँदैमा देशमा सामन्तवाद अन्त्य भएको ठान्नु गल्ती हुनेछ । देशमा अझै सामन्तवादका छापहरू जीउँदा छन् । दुई चार वटा विकासका कार्यहरू गरेर सामन्तका अवशेषलाई ढाकछोप गर्नु के वास्तविक रोग पत्ता नलगाई क्षणिक पीडानासक औषधि खाएर आनन्द लिनुजस्तो हुँदैन ? देशमा विकासको चेहरा फेर्न नसक्नुको कारण सत्तासीन दलका नेताहरूको सतही राजनीति हो । साँच्चै यहाँ गहिरिएर सिद्धान्तको राजनीति नगर्दा एकपक्षीय काम भइरहेको हो, वस्तुगत यथार्थभन्दा अतिरञ्जित क्रियाकलाप भइरहेको हो ।
सिद्धान्त र विचारको विश्लेषण या गन्थन आँखा चिम्लेर गर्नुहुँदैन । सही–गलत, राम्रो–नराम्रो, उपयुक्त–अनुपयुक्त कुनै विश्लेषण र अनुसन्धान नगरी अन्धानुकरण गर्नुहुँदैन । नेपाललाई दूरगामी असर पार्ने खालको कुनै विदेशी शक्तिराष्ट्रको आर्थिक सहयोग लिनुहुँदैन । ठूला शक्ति राष्ट्रको उठबसमा बसेर नेपाल कसरी स्वाधीन र सार्वभौम हुन्छ ? आदर्श राज्यसहितको शोषणरहित समाज स्थापना गर्न भेदभाव, असमानता र शोषणका पर्खालहरू भत्काउनुपर्छ । श्रमजीवी वर्गको पसिनामा रजाइँ गरेर पजेरो चढ्ने, सिंहासनमा बसेर जुँगा मुसार्ने नेता र मन्त्रीहरूले विदेशीको पाउ मोलेसम्म, विदेशीसामु जी हजुर गरेसम्म देशको सन्तुलित विकास सम्भव छैन । सङ्घीय गणतन्त्रको बखान गरेर सङ्घीय व्यवस्थाकै उल्लङ्घन गर्ने सरकार आफै अरूमाथि सङ्घीय गणतन्त्रात्मक व्यवस्था कमजोर बनाउन लागिपरेको किन फुकिरहन्छ ?
सरकारले देशको वास्तविक स्थिति बुझ्नुपर्छ । जनताको पीडा थाहा पाउनुपर्छ । देश र जनताको नाउँ लिएर देश र जनतालाई नै मर्का पर्ने काम ठीक होइन । सर्तको आधारमा आर्थिक सहयोग लिनु आत्मसमर्पणको सड्ढेत हो । यस्ता कार्यमा नेपाल फस्नु हुँदैन । सामन्ती भेदभाव र आचार–विचार यथावत राखेर परिवर्तनको वकालत गर्नु व्यर्थ छ । सरकार र पार्टीको नेतृत्व गर्न कुनै पनि दल सिद्धान्त र विचारको आधारमा अघि बढ्नुपर्छ । एक थोक भन्ने अर्को थोक गर्ने धोका हो, बेइमानी हो । धोका दिने दलको पछि लागेर देश र जनताको कल्याण हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *