नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– प्रतापकाजी साह
प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त नहुने राय व्यक्त गर्दा सडक जाम गरेर हिलोछ्याप्ने सांसद महेश बस्नेतजस्ता पाखुरा देखाउने बहादुरहरू नेकपाले राजधानी हेटौँडामा राख्ने निर्णय गर्दा कुन दुलोभित्र टाउको लुकाएर निहुराएर बसिरहे ? नेकपाकै कार्यकर्ताबीच चर्चाको विषय बनिरहेको छ । हेटौंडालाई राजधानी बनाउने निर्णय सार्वजनिक भएलगत्तै त्यसबेला विरोध गर्नेहरूले नेकपाको कार्यालयमा तालाबन्दी किन गरेनन् ? निर्णय गर्ने नेताहरूको फोटो जलाएर सडक जाम गर्न बस्नेतका अन्धभक्तहरू किन अघि सरेनन् ? केन्द्रीय राजधानी काठमाडौँ हुँदाहुँदै प्रदेश ३ को राजधानी भक्तपुर बनाउँदा देशको सन्तुलित विकास हुँदैन भन्ने कुरा किन चेत भएन ? विकास राजधानीकेन्द्रित गरेर सङ्घीयता कार्यान्वयन हुँदैन भन्ने कुरा किन थाहा भएन ? सतही राजनीतिमा भुलेका, सतही राजनीति गर्न पल्केका नेकपाका बलवान सांसदहरू आज किन चुप ? त्यसबेला किन विरोध र आक्रोश ¤ अहिले किन समर्थन र मौन ¤
प्रदेश ३ को राजधानी कहाँ बनाउने भन्ने निर्णय एक दुई जना नेता र सांसदले बोल्दैमा हेरफेर हुने पनि होइन । आखिर बहुमत त नेकपाकै छ । अरु कुनै दलका नेता र सांसदले फरक मत राख्दैमा नेकपाका नेता र सांसदले सडकजाम गर्नुपथ्र्यो ? कसैको अन्धविरोध गर्नुभन्दा अघि भनेको कुरा सही या गलत पो ठम्याउनुपर्छ । अदूरदर्शी, अवसरवादी नेता र सांसदहरू पछिको सोच्दैनन् । बस्नेत त्यस्तैमध्येका एक सांसद हुन् । दूरदर्शी नेता र सांसदहरू आफ्नो क्षेत्र, जिल्लामात्र हेर्दैनन् देश र जनताकै हितमा विचार राख्छन् ।
नेकपाको प्रदेश ३ संसदीय दलको बैठक स्थायी राजधानी र नामबारे सबैको एकमत नभएर संसदीय दलको बैठक विनानिष्कर्ष स्थगित भएको समाचार प्रकाशमा आयो । नेकपाको संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती नाउँ राख्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयप्रति असन्तोष व्यक्त गर्ने सांसदहरू देखिए । बैठकमा पार्टीको निर्णय मान्नैपर्ने एक पक्षको मत देखियो भने अर्को पक्षले त्यो निर्णय विधिसम्मत नभएको दाबी ग¥यो । तर, उक्त निर्णयविरुद्ध सांसद बस्नेतको नेतृत्वले संसदीय दलको बैठकमा घेरा हाल्न भ्याएको रहेनछ । निर्णय सच्याउन बहादुरी देखाउन सकेन ।
प्रदेशको नाम कुनै जनजातिको आधारमा राख्दा पछि साम्प्रदायिक भावना फैलिने हुँदा चर्चित कुनै थलो, नदीको नाममा राख्दा उपयुक्त हुने राय नदिइएको होइन । त्यो राय सही पनि थियो । त्यसको आधारमा प्रदेश ३ को नाम बागमती राख्नु अनुपयुक्त देखिंदैन । सतही र हचुवाको भरमा राजनीति गर्ने नेता र सांसदहरूकै कारण राजनीतिमा वितृष्णा उत्पन्न भएको हो । नेता, मन्त्री तथा सांसदहरू सच्चा राजनीतिबाट चिप्लिएका छन्, सिद्धान्त र विचार छोडेर विकासको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पति कुम्ल्याउन लागेका हुन् । आफ्नो इज्जत र प्रतिष्ठा छोडेर ठूलाको अभिमान देखाएर झूटको खेती गर्ने नेता, मन्त्री र सांसदहरूको हातमा सरकार र दल रहेसम्म देशमा सही मार्गनिर्देश हुनसक्दैन । देशको मुहार फेर्न सकिंदैन ।
Leave a Reply