भर्खरै :

शिक्षाको नाममा विदेशिँदा

राकस्था
उच्च शिक्षाको नाममा पछिल्लो अढाइ वर्षमा डेढ लाख विद्यार्थी विदेश पलायन भए । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) व्यवस्थापन शाखामा दिनहुँ विद्यार्थीको भिड लागेको हुन्छ । यसका कारण र परिणाम के हुन् ? आखिर कस्तो समाज बन्दै छ ? विद्यार्थी नेपालमै रोक्ने उपाय के होला ? यी विषयमा गम्भीर छलफल आवश्यक छ ।
तथ्यले सत्य बताउँछ । सबभन्दा पहिले केही तथ्य मनन गरौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीमार्फत १० अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट ४६ अर्ब ३२ करोड रुपैयाँ नेपालबाट बाहिरिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७४÷७५ मा यो रकम ३८ अर्ब ८ करोड रहेको थियो । सन् २०१८÷१९ मा १३ हजार नेपाली विद्यार्थीले अमेरिकालाई करिब ५५ अर्ब २३ करोड रुपैयाँ बुझाएका थिए । सन् २०१६ मा १५ हजार नेपाली विद्यार्थीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा करिब ९८ अर्ब रुपैयाँ अस्ट्रेलियालाई बुझाएका थिए ।
मानव विकास प्रतिवेदनमा पुछारमा पर्ने देश, नेपाल । दुईतिहाइमात्र साक्षर भएको देश, नेपाल । विदेशमा श्रम बेचेर पठाइएको विप्रेशणले कूल गार्हस्थ उत्पादनको ३० प्रतिशत ओगटेको देश, नेपाल । बजेटको आधार वैदेशिक ऋणमा भर पर्ने देश, नेपाल । प्रतिव्यक्ति २४ हजार रुपियाँ ऋण बोक्ने देश, नेपाल । पढ्नसमेत यसरी विदेश भौँतारिन बाध्य नागरिकको देश, नेपाल ¤
पढ्न विदेश जाने सिलसिला नेपालमा बढेको करिब एक शताब्दी भयो । विगत तीन दशकमा भने अत्यधिक (एक्पोनेन्सियल) मात्रामा बढेको पाइन्छ । आज नेपाली मुद्रा खोलाजस्तै बग्दैछ देशबाहिर । गरिब नेपाली कसरी माथि उठोस् ¤
भागबन्डामा उच्च शिक्षा
विदेशिने विद्यार्थीले बहाना पाएका छन्, देशमा पढाइ हुन्न । हुन पनि मुलुकका ७ विश्वविद्यालय कुनैमा तालाबन्दी छ, कुनै पदाधिकारीविहीन भएर अस्तव्यस्त छन् । पुसको अन्तिम हप्ता पूर्वाञ्चल विश्वविद्यालयले आफ्नै परिसरमा २६ औँ वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन छ भने विभिन्न विद्यार्थी सङ्गठनको नाममा ६ महिनादेखि विश्वविद्यालयका मुख्य कार्यालय तालाबन्द छ । ताला लगाउन शासक दलका विद्यार्थी सङ्गठनहरूको प्रतिस्पर्धा नै चलेको छ ।
काठमाडौँ विश्वविद्यालय
(केयू) का प्राध्यापक र कर्मचारीद्वारा केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) पदाधिकारीविहीन हुँदा प्रशासनिक तथा शैक्षिक काम ठप्प छन् । सुुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय नौ महिनादेखि तालाबन्दी गरिएका कारण प्रशासनिक कामकाज ठप्प छ । पठनपाठन सुरु भएयता ८ वर्षको अवधिमा विश्वविद्यालयमा २४ पटक गरी साढे ४ सय दिनभन्दा बढी केन्द्रीय कार्यालयमा ताला लागेको छ ।
नेकपाभित्रै भागबन्डा नमिल्दा पूर्वाञ्चल, महेन्द्र संस्कृत, कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयसहित ६ विश्वविद्यालयमा उपकुलपति छैनन् । ती विश्वविद्यालय चार महिनादेखि कामुका भरमा चलिरहेका छन् । उपकुलपतिको नाम सिफारिस समिति बन्यो तर यो नाटक मञ्चन साबित भएको छ । त्रिभुवन विश्वविद्यालयमा नेकपाको पूर्वएमाले खेमाबाट उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेस, पूर्वएमाले र पूर्वमाओवादी खेमा विश्वविद्यालयका पदहरूको छिनाझप्टीमा तल्लिन छन् । अनेक बहानामा तालाबन्दी गर्ने र विश्वविद्यालय पदाधिकारी नियुक्तिमा आआफ्नो पार्टी नछाड्ने शासक पार्टीहरू नै उच्च शिक्षामा देखिएका विकृतिको मुख्य कारण हुन् । ‘जसको सिता खान्छ, उसको गीता गाउँछ’ भनेझैँ, जसले नियुक्ति दिन्छ, उसप्रति नै उत्तरदायी र जवाफदेही हुने वातावरण तोडिनु आवश्यक छ ।
विश्वमा विश्वविद्यालयको नेतृत्व अन्तर्राष्ट्रिय विज्ञको प्रतिस्पर्धामा गराउने प्रचलन बढ्दै छ । स्वस्थ प्रतिस्पर्धाको आधारमा सक्षमलाई नियुक्ति दिनु नै उच्च शिक्षामा सुधार ल्याउने पहिलो पाइला हुनसक्छ । यसले विद्यार्थी र अभिभावकमा विश्वासको वातावरण बन्छ ।
बेकारी बढाउने शिक्षा
‘पढेर के गर्नु ¤ काम पाए पो ¤’ विद्यार्थीमा निराशा छ । सामन्ती मानसिकता बाँकी रहेको समाजमा ‘सफा काम’ अर्थात् ‘ह्वाइट कलर जब’ वा कारिन्दा बन्न पाएमा मात्र खुशी हुने, शारीरिक श्रमको कामलाई हेला गर्ने र त्यस्तो काम गर्न उत्साहित नहुने स्थिति पनि छ ।
बेरोजगारीको एउटा मुख्य कारण शिक्षालाई उत्पादनमुखी नबनाइनु हो । लाखौँ नेपाली युवा विदेशिन बाध्य हुुनुको कारणमध्ये एउटा शिक्षालाई व्यावसायिक एवम् सीपमूलक नबनाइनु पनि हो । देशबाहिर जाने क्रममा करिब ७५ प्रतिशत अदक्ष, २० प्रतिशत अर्धदक्ष र करिब ५ प्रतिशतमात्र दक्ष युवा भेटिन्छन् । मुलुकमा ९ प्रतिशत मात्र प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन रहेको र ९१ प्रतिशत साधारण शिक्षा हासिल गरेको तथ्यबाट सरकारले रोजगारी र व्यावसायमुखी शिक्षाप्रति व्यवास्ता गरेको पुष्टि हुन्छ ।
देश कृषिप्रधानबाट निस्किँदै गर्दा कृषि उत्पादनमा समेत परनिर्भर भएको छ । सन् १९१७ को कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशतबाट घट्दै आएर सन् २०१८ सम्ममा २५ प्रतिशतमा झरेको छ । देशको शिक्षालाई कृषि उत्पादनसँग प्रत्यक्ष जोडेको भए, कृषिसँग सम्बन्धित उद्योग तथा कारखानाहरूको विकास शिक्षाको अङ्ग बनाइएको भए अन्न, सागपात, फलफूल, मासु आदिमा परनिर्भर हुनु पर्दैनथ्यो ।
विद्यार्थी सङ्ख्याका हिसाबले शिक्षा सङ्कायमा मात्र ४५ प्रतिशत विद्यार्थी छन् । उच्चशिक्षा प्रदायक संस्थाका हिसाबले यो ६३ प्रतिशत हो । नेपालमा वार्षिक उत्पादित ६५ हजार ग्राजुयटमध्ये कार्यबजार ९ हजारलाई मात्र छ । यसले एकातिर शिक्षा योजना देशको अवश्यकताअनुसारको भएन भन्ने देखाउँछ भने अर्कोतिर शिक्षालय बेरोजगार उत्पादन गर्ने केन्द्र बनेको प्रस्ट हुन्छ । यस्तो अवस्थामा बहुप्राविधिक विश्वविद्यालय र कलेजहरू खोल्न स्वीकृति नदिने तथा साधारण शिक्षालाई मात्रै जोड दिने हो भने नेपालको आर्थिक एवम् शैक्षिक भविष्य सुनिश्चित हुने छैन । उत्पादन श्रमसँग जोडिएको शिक्षाले विद्यार्थीलाई देशमा अड्याउँछ पनि ।
सामाजमा दुष्प्रभाव
हिजोआज विदेश पढ्नु सामाजिक प्रतिष्ठाको विषय बन्न थालेको छ । कक्षा १० नकट्दै वा बढीमा १२ कक्षा उत्तीर्ण गराई विदेश पठाउन पाए हुन्थ्यो भन्ने सपना पाल्ने अभिभावकको सङ्ख्या बढ्दै छ । तर, सामान्यतयाः विदेश बस्नु र टिक्नु सजिलो हुन्न । विदेशमा बस्ने साथीहरूले पोस्ट गरेका केही तस्वीर र दृश्य सामग्रीमा लोभिएर नेपाल छोड्ने असङ्ख्य नेपाली युवाले ‘कुकुरले नपाएको दुःख’ पाएका कैयौँ उदाहरण छन् । कतिपय विदेशमा पैसा टिप्न पाउने सपना देख्छन् । विदेश भनेपछि मात्र झिलिमिली देख्ने आँखाले विदेशका कूरूप शोषण, हिंसा, अपराध देखेर निराश हुँदै मानसिक रोगको शिकार भएका कैयौँले आफ्नो जीवनसमेत आफैले समाप्त पारेका घटना पनि नभएका होइनन् ।
नेपाली अनुशासन, संस्कार र संस्कृतिमा हुर्किएका कैयौँ युवा छाडा भई बरालिने र दुव्र्यसनीको शिकार भएका पनि भेटिन्छन् । अभिभावकको माया नपाएर ‘होम सिक’ को छटपटिमा रहने पनि कम छैनन् । अर्कोतिर, सन्तानको रेखदेख नपाएर एक्लिएर निराश भएका अभिभावक झन् बढी भेटिन्छन् । ‘बुढेसकालको सहारा’ मानिएका सन्तान आफू बिरामी पर्दा वरपर नहुँदा न्यास्रिँदै कैयौँको जीवनको बत्ती निभ्दै छ । सन्तान आफ्नो देश नफर्किने भएपछि बाध्य भएर विदेश जाने प्रौढ वा ज्येष्ठ नागरिक सदा आफूलाई एक्लो र बिरानो अनुभूत गर्दै बसेका हुन्छन् । सन्तानका पनि सन्तान जन्मिँदा उता हेरचाह गर्न महँगो भएकै कारण आमाबुबा ‘तेल भिसा’ लिएर बिरानो देश पुग्छन्, दिनभर कैदीजस्तो बस्छन्, न कुरो गर्न कोही भेटिन्छ न त कसैसँग फुर्सत नै हुन्छ ।
के गर्नुपर्ला त ?
ज्ञान र सीपको निम्ति विदेश जानुमा कुनै गुनासो गर्नु आवश्यक छैन । आफूले सिकेको ज्ञान र सीप स्वदेशको निम्ति प्रयोग गर्ने भावना जरुरी छ । देशले विदेशमा रहेका दक्ष जनशक्तिलाई भित्र्याउने उचित वातावरण तयार पार्न सकेको खण्डमा ती आउने सम्भावना नभएको होइन । आजको चीनको समृद्धिमा विदेशमा अध्ययन गरी फिर्ता भएका चिनियाँ नागरिकको ठूलो योगदान छ ।
अहिलेको युगमा ज्ञान र सीपको निम्ति विदेश नै जानुपर्छ भन्ने पनि छैन । घरमै बसी विभिन्न अन्तर्राष्ट्रिय भाषा सिक्न सकिन्छ, युवाले यतापट्टि ध्यान दिनु उपयुक्त हुन्छ । विभिन्न देशको भाषा सिक्नुको अर्थ ती देशको विज्ञान, प्रविधि, दर्शन, कला, संस्कृति, साहित्य सिक्नु हो । चलचित्र, सङ्गीत, पुस्तक आदिको माध्यमबाट ‘विश्व चेत’ को विकास गराउन नसकिने होइन । घरमै बसी अन्तर्राष्ट्रिय बहस तथा छलफलमा सहभागी हुन पनि सकिन्छ ।
आलोचनात्मक चेत भएका, प्रगतिशील, परिवर्तनकामी युवाको एकता र अग्रसरता भने सबभन्दा जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *