भर्खरै :

छाउगोठ भत्काउनु नै समस्याको समाधान होइन

– पञ्चकन्या शाही
अहिले कर्णाली एवम् सुदुरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने लहर चलाइएको छ । गृहमन्त्रालयको निर्देशनमा सुरु भएको छाउगोठ भत्काउने अभियान पूरा हुन अब धेरै दिन लाग्दैन । पछिल्लो तथ्याङ्क अनुसार १९ जिल्लामा लगभग पाँचहजार छाउघर भत्काइ सकिएको छ । स्थानीय सरकार, जनप्रतिनिधि र प्रहरीसमेत अहिले छाउघर भत्काउने अभियानमा छन् । छाउगोठ भत्काइएपछि गरिएका प्रचारप्रसार देख्दा लाग्छ । सरकारको नारा ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणका लागि छाउघर प्रमुख बाधक थियो । त्यसैले भत्काइयो । लगत्तै कर्णालीमा समृद्धिको सुरुवात हुन्छ । तर, छाउगोठ भत्काउनु समस्याको समाधान होइन । केही महिनापछि छाउगोठ भत्काइएकै कारण कुनै महिला ओढारमा बास बसे भनेर समाचार आयो भने आश्चर्य नमाने हुन्छ । प्रहरीको सहयोगमा आँगनमै बसेर छाउगोठ भत्काएको टुलुटुलु हेरिरहेकाहरूलाई भित्रैदेखि नरमाइलो लागेको छ अहिले ।
छाउगोठ सुदुरपश्चिमेलीको एउटा सामान्य झुप्रो घर मात्रै होइन त्यहाँ हजारौं वर्षदेखिको आस्था÷ अन्धविश्वास पनि जोडिएको छ । सुत्केरी वा रजस्वला भएकी महिलालाई मूलघरमा नराखेर छाउगोठमा राख्ने चलन पुस्तौंदेखि कायम छ । सुत्केरी र रजस्वला भएकी महिलालाई छाउगोठमा राख्नुको कारणबारे स्थानीयहरू हाकाहाकी भन्छन् ‘छाउगोठमा राखेन वा घरभित्रै राख्यो भने देउता रिसाउँछन् ।’ यो प्रथा निरक्षर मात्रै होइन विद्यालयका शिक्षक, प्राध्यापक, चिकित्सकमात्र होइन लोकतन्त्र, माक्र्सवाद वा समाजवाद अनि सांस्कृतिक क्रान्तिको गफ दिने नेता कार्यकर्ताको घरमा पनि छ । भौतिकरूपमा छाउघर त भत्काइयो तर मानसिकताको छाउघर भत्काउनमा कुनै जोड छैन । फेरि रजस्वला भएकी वा सुत्केरी महिलालाई घर नजिकै छुट्टै घरमा राखिनु आफैंमा नराम्रो होइन । तर, कुन उद्देश्यले राखिएको हो त्यो विचारणीय पक्ष हुनुपर्छ । सुत्केरी वा रजस्वला भएको बेला महिलाहरू शारीरिक रुपमा कमजोर हुन्छन् । भिड्मा बस्दा उनीहरूलाई दिक्क लाग्ने वा अन्य सङ्क्रमण पनि हुनसक्छ । यदि छुट्टै कोठामा सुत्न वा बस्न दियो भने उनीहरूले आरामसँग बस्ने वातावरण पाउँछन् । आस्था वा अन्धविश्वास जे भनिए पनि जबसम्म मानसिकतामा रहेको छाउगोठ भत्किंदैन तबसम्म भइरहेको छाउगोठ भत्काउनुमात्र समस्याको समाधान हँदै होइन । बरु छाउघरको ठाउँमा पाहुना घरजस्तै आधुनिक कोठा बनाउन दिनुपर्छ, जहाँ छोरीबुहारीहरू सुरक्षित होउन् । होइन भने फेरि पनि छोरीबुहारीहरू ओढारमा सर्पले तोकेर, बाघ, भालु र चितुवाको आक्रमणमा परेर मरेको समाचार सुन्न हामी अभिसप्त हुनेछौं । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *