भर्खरै :

‘पढेको मान्छे’ बन्नुको अर्थ

– सुरेश बखुन्छे
श्री गणेश ः एउटा प्रसङ्गबाट
“नेपालीहरू पढेर बिग्रेका हुन् । पढेपछि खेतीपाती गर्न छाडे । यताउता घुम्न जाने । काम पनि भएन, दाम पनि भएन । अनि के प्रगति हुन्थ्यो त ? कमसेकम नपढी खेतबारीकै काम गरिरहेको भए आज नेपाल कृषि उत्पादनमा सबल हुन्थ्यो, भारतमा प्याजको भाउ बढेकै भरमा किलोको दुई सय पचास तिर्नुपर्ने अवस्था आउने थिएन । कृषिप्रधान देश भन्ने अनि भएभरको कृषि उत्पादन अन्य देशबाट ल्याउने ¤ यस्तो पनि हुन्छ ? केको कृषिप्रधान ? म त भन्छु, पढ्नेले कृषिकर्म छोडे, खेतबारी बेच्न थाले, बाँझो राख्न थाले, नपढ्नेले देखासिकी गर्न थाले अनि उत्पादन घट्दै गयो । पढेर नै नेपाल कृषिमा परनिर्भर भएको हो ।” – एक प्रौढ कृषक
कुरा गरौँ ः घुम्ने अनि काम नगर्ने जीवनशैलीको
नेपाली युवा–युवतीमा घुम्ने बानी ज्याद्रै बढेको छ । शारीरिक श्रमभन्दा मानसिक श्रम गर्न पाए हुन्थ्यो भन्ने भावना पलाएको पक्कै पनि हो । खेतबारीको कामभन्दा कुर्सीमा बसेर वा सेवामूलक कामप्रति अहिलेका युवा पुस्ताको रूची बढेको छ । यो पनि विश्वव्यापीकरणकै एक हिस्सा हो भन्दा फरक नपर्ला । जसरी क्रिसमस, भ्यालेन्टाइन डेजस्ता पश्चिमा संस्कृति नेपाली समाजमा पाच्य हुँदैछ, त्यसरी नै कतिपय नेपालका संस्कृति पनि अन्य मुलुकमा विस्तारित हुँदो छ । यसर्थ, विभिन्न समाजहरूबीच अन्तरक्रिया र संवादकै कारण नेपाली युवा पुस्तामा खेतीपातीभन्दा पनि मनोरञ्जन र विलासिताका साधनमा रूची बढ्दै गएको देखिन्छ ।
पढ्नेभन्दा नपढ्ने बढी रोजगार  !
सामान्यतया केही लेखपढ गर्न नजान्नेभन्दा लेखपढ गर्न जान्ने, अशिक्षितभन्दा शिक्षित मान्छेले रोजगारीका अवसर बढी प्राप्त गर्छन् । यही कारण हामीलाई हाम्रा बुबा–हजुरबुबाले अनि हामीले हाम्रा छोरा–छोरीलाई पढाउन थाल्यौँ । कुनै समय यस्तो पनि थियो, नेपालका सरकारी अड्डामा काम गराउन सावाँ अक्षर जानेकै भरमा घरघरमा मान्छे लिन आउँथ्यो अरे ¤ कति त जागिर खानुपर्ला भनेर भाग्थे अरे ¤ अब समयले कोल्टे फेरिसकेको छ । शिक्षित बेरोजगारको सङ्ख्या दिनानुदिन बढ्दो छ ।
सन् २०१७ मा अन्तर्राष्ट्रिय श्रम आयोगले प्रक्षेपण गरेको आँकडाअनुसार ७२.७ प्रतिशत कृषिमा, १६.४ प्रतिशत सेवा क्षेत्र र १०.९ प्रतिशत औद्योगिक क्षेत्रमा रोजगार प्राप्त व्यक्तिहरू छन् । साथै, ५.३ प्रतिशत युवा बेरोजगार रहेकोमा ४ प्रतिशत महिला र ६.६ प्रतिशत पुरूष युवा बेरोजगार छन् । तर, तथ्याङ्कमा के छ भने १९.२ प्रतिशत युवा बेरोजगार रहेको नेपालमा शिक्षित बेरोजगार २६.१ प्रतिशत छ । जबकि ८.२ प्रतिशतमात्र अशिक्षित युवा बेरोजगार छन् । अशिक्षित युवा बेरोजगारभन्दा तीन गुणाभन्दा बढी शिक्षित युवा बेरोजगार छन् । किन यस्तो भयो त ? भन्ने प्रश्नलाई केलाउने हो भन्ने सहजै भन्न सक्छौँ– उत्पादन श्रमसँग जोडिएको शिक्षा नीतिको अभाव नै यसका कारक तत्व हो ।
कृषिप्रधान देश ः कृषिमै परनिर्भरता !
कुनै समय ‘उत्तम खेती, मध्यम व्यापार, निकृष्ट नोकरी’ भन्ने परम्परा थियो हाम्रो । गतिशील समाज र परिवर्तित उत्पादनका स्रोतसाधनको स्वरूपसँगै हिजो–आजमाथिको परम्परामा पनि परिवर्तन भएको यथार्थ हामीसामु लुकेको छैन । मानव समाज सभ्य र विकसित हुने क्रममा कृषिमा नयाँ–नयाँप्रविधिको विकास हुने, आधुनिकीकरण हुने, उद्योग–कलकारखानाको विकास हुन्छ । तर, नेपालको सन्दर्भमा भन्ने हो भने ठीक उल्टो हुँदै गएको देखिन्छ । भएका उद्योग कलकारखाना बन्द छन् । भएका र बचेका कारखानाहरू पनि निजीकरण गरिए । थोरैले आधुनिक र व्यवसायिक तरिकाबाट खेती गरेको देखिएता पनि अधिकांशले खेतलाई किनबेच गर्दै पैसा कमाउने साधनको रूपमा प्रयोग गर्दै छन् । खेत बाँझो राख्दै कोही रहर त कोही बाध्यताले विदेशमा पसिना बगाउन लर्को लागेका छन् ।
नेपालको हालको कुल गार्हस्थ उत्पादको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी ५९.५ प्रतिशत योगदान सेवा क्षेत्रको छ भने कृषि क्षेत्रको योगदान २७ प्रतिशत र उद्योगको योगदान १३.५ प्रतिशत छ । यसको आधारबाट नेपाल विस्तारै कृषि क्षेत्रको निर्भरताबाट अलग हुँदै गएको देखिन्छ । यसका साथै नयाँ पुस्तामा कृषिभन्दा पनि अन्य क्षेत्रप्रति आकर्षण बढ्दै गएको स्पष्ट छ ।
गतिशील समाज ः रूपान्तरित जीवनशैली
समाज होस् वा संस्कृति दुवै गतिशील छ र हुन्छन् पनि । कहिलेकाहीँ स्थिर देखिएला तर स्थिर हुँदैन । जे–जति निर्मित वा सिर्जित वस्तु छन् सबै परिवर्तनशील र गतिशील हुन्छ भन्ने तथ्य प्रमाणित भइसकेको छ । सिद्धान्ततः त्यही नै हो । वर्तमानमा उभिएर हेर्ने हो भने हरेक समाजको विश्वका विभिन्न समाजसँगको अन्तरक्रिया तीव्र हुँदै गएको छ । अझ भनौँ, विश्वव्यापीकरणमा समाज प्रवेश गरिसकेको छ । यसरी विभिन्न समाजसँग अन्तरक्रिया गर्दा अरूको केही नक्कल गर्ने र आफ्नो केही छाड्ने क्रिया–प्रतिक्रिया हुन्छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिको तीव्रत्तर विस्तार, विकास र प्रयोगको कारण कुनै पनि समाजलाई अर्को समाजसँग जोड्न, सम्पर्क गर्न, अन्तरक्रिया तथा संवाद गर्न सहज बन्यो, परिणामतः एक ठाउँको संस्कृति अर्को ठाउँमा चाँडै प्रसार हुन सम्भव पनि भयो ।
पक्कै पनि शिक्षाका कारण वा भनौँ पढाइको कारण एउटा समाजको ज्ञान वा विशेषता अर्को समाजका मानिसले थाहा पाए, बुझे । कति त राम्रा लागेका कुराहरू अनुसरण पनि गरे । राम्रा संस्कृति वा कुराको अनुसरण गरेको भए हुन्थ्यो, तर परनिर्भर बनाउने संस्कृति नक्कल गर्दा परिणाम पनि नराम्रै निस्किन्छ । यदि ‘प्रिन्ट मिडिया’ को आविष्कार नहुँदो हो त सजिलै अलग–अलग समाजको विशेषता अलग–अलग समाजले बुझ्ने पनि थिएन र नक्कल गर्ने त सायद असम्भवै हुन्थ्यो । हिजोआजको सामाजिक सञ्जाल, ‘ग्लोबल भिलेज एन्ड भिलेजर्स’ भन्ने अवधारणा आदिका कारण एक ठाउँको संस्कृति अन्य ठाउँमा प्रसार भएको देखिन्छ । यी सब परिवर्तित समाज र समयको उपज हो ।
इतिश्री गर्नुपूर्व
मान्छेले विभिन्न तौर–तरिकाबाट ज्ञान प्राप्त गर्ने गरेको इतिहास साक्षी छ । ज्ञान प्राप्त गर्न वा नयाँ कुराको जानकारी लिने क्रममा मानव समाजले लामो चरण पार गरेको यथार्थ हामीमाझ लुकेको छैन वा भनौँ घुमेर पनि ज्ञान प्राप्त गर्न सकिन्छ । तर, घुमेर मात्र दिन बिताउने बानी भने पक्कै नराम्रो हो । मान्छेले सकेको श्रम गर्नुमा नै बुद्धिमानी हुन्छ । एँगेल्सले स्पष्टरूपमा बाँदर र मानिसको भेदको कारक तत्व नै श्रमलाई मानेका छन् । यदि श्रम नगर्दो हो त मान्छे आजसम्म पनि बाँदरकै स्वरूपमा जीवन बिताउँदो हो । यसर्थ शारीरिक होस् वा मानसिक श्रम गर्नुमा नै व्यक्ति, समाज र मानव समाजकै हित हुन्छ ।
लिने र दिने शिक्षामा कतै हामीले श्रमलाई हँेला गर्ने शिक्षा पो पायौँ वा दियौँ कि ¤ यथार्थतः मानसिक श्रम गर्ने होस् वा शारीरिक श्रम गर्ने होस्, दुवै मजदुर नै हुन् भन्ने कुरा पो बिर्सियौँ कि ¤ यस विषयमा बहस, छलफल गरी समस्या समाधानार्थ पहल थाल्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *